पुलमा भ्वाङ परेपछि एकतर्फी

525 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, फाल्गुन १३ – पृथ्वी राजमार्गको मुग्लिन-नौबिसे खण्डस्थित पोखरेखोला पुल भत्केर भ्वाङ परेको छ । २४ सै घन्टा व्यस्त रहने पुलमा ३ दिनदेखि यातायात एकतर्फी छ ।

दुई लेनको पुलको ढलान फुटेको छ । कालोपत्रे र ढलान जोड्ने फलाम भाँचिएर भ्वाङ परेको हो । एकातिर भत्केर सवारी आउजाउमा समस्या भएपछि छेकवार गरेर एक लेन मात्र सञ्चालन गरिएको इन्जिनियर गागल भण्डारीले जानकारी दिए । सडक डिभिजनले एकतर्फी सवारी चलाउन सडकमा डिभाइडर र झन्डा राखेको छ ।

यातायात सञ्चालन कायम रहँदा ढलान थप भत्किँदै गएको छ । पुल थप भत्किन नदिन एकतर्फी बनाइएको सडक डिभिजन भरतपुरले जनाएको छ । भ्वाङ परेपछि राखिएका एक हेरालुले दिनभर एकतर्फी सवारी आउजाउमा मद्धत गर्छन् ।

क्षमताभन्दा बढी भार बोकेका सवारी र अतिक्रमणका कारण मर्मत गरिएको छोटो समयमै पुल जीर्ण भएको हो । पुलको मुखमै बालुवा उद्योग सञ्चालित छ भने बायाँतर्फ कच्ची बाटो विस्तार गरिएको छ ।

समयमै मर्मत नभए अर्को लेन पनि भ्वाङ परेर सवारी आउजाउ बन्द हुने जोखिम रहेको स्थानीय राजेश तामाङले बताए । प्राविधिक निरीक्षण गरी मर्मतका लागि पहल सुरु गरिएको सडक डिभिजनले जनाएको छ ।  इन्जिनियर भण्डारीले भने, ‘पुलमा माइक्रो कंक्रिट गर्नुपर्ने भएकाले विभागसँग मर्मत गर्ने सल्लाह भएको छ ।’

नौबिसे-नागढुंगा सडक खण्डको खत्रीपौवास्थित पुल पनि जोखिममा परेपछि बेलीबि्रज राख्ने तयारी भइरहेको छ । ‘चौडाइ नपुगेर सवारी जाम हुने समस्याका कारण बेलिबि्रज राख्न लागिएको हो,’उनले भने ई कान्तिपुर डट कमले खबर लेखेको छ ।