धादिङ एलपी ग्यासको हब

634 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ एलपी ग्यासको हब
धादिङ- उदीयमान औद्योगिक क्षेत्रको रुपमा रहेको धादिङ जिल्ला ग्यास उद्योगीको पहिलो रोजाइ बनेको छ। उद्योगीको रोजाइकै कारण पृथ्वी राजमार्गको सुरुवात नौबिसेस्थित खानीखोलादेखि सीमान्त गाविस जोगीमाराको मझिमटारसम्म १३ वटा ग्यास उद्योग सञ्चालनमा छन्।

खाना पकाउन प्रयोग हुने एलपी ग्यासको सिलिन्डर भर्ने उद्योगको करिडोर ठानिएको राजमार्ग क्षेत्रमा ग्यास भित्रिएको सात वर्षमात्र भएको छ। यसबीचमा तीव्र गतिमा ग्यास उद्योग स्थापना भए। उद्योगको संख्या र ग्यास भित्रिएको समय हेर्दा वर्षमा सरदर दुई उद्योगले प्लान्ट स्थापना गरेको पाइन्छ।
धादिङमा ग्यास उद्योगको स्थापना २०६३ मा भुमेस्थान–९ खयरघारीमा ओम ग्यासबाट सुरु भएको हो। नौबिसेमा तीन, थाक्रे, बेनिघाट र भुमेस्थानमा दुई/दुई, बैरेनी, गजुरी, धुषामा र जोगीमारामा एक/एक ग्यास उद्योग स्थापना भएको छ। यी सबैको लक्ष्य काठमाडौंको बजारमा ग्यास आपूर्ति गर्ने हो।
किन रोजियो धादिङ?
ग्यास व्यवसायी महासंघका पूर्वअध्यक्ष हरिप्रसाद पाठक भन्छन्, ‘हाम्रो उत्पादनको मुख्य बजार काठमाडौं हो।’ देशभर खपत हुने कूल ग्यासको ८० प्रतिशत हिस्सा काठमाडौंमा खपत हुने भएकाले बजारनजिकको धादिङ रोजिएको पाठक बताउँछन्। ओम ग्यास उद्योग सञ्चालक पाठक नै धादिङमा ग्यास ‘बोटलिङ प्लान्ट’ राख्ने पहिलो उद्योगी हुन्।
यहाँका उद्योगको मुख्य बजार काठमाडौं हो। सबैजसो सञ्चालक काठमाडौंमा ८० देखि ८५ प्रतिशत खपत हुने दाबी गर्छन्। काठमाडौंबाहेक सिन्धुपाल्चोक, काभ्रे, रामेछाप र नुवाकोट सहायक बजार हो।
सबैभन्दा धेरै स्टोरेज क्षमता भएको सातकिलास्थित श्री ग्यासको बुलेट संख्या ६ वटा छ। यसले ३ सय टन ग्यास स्टोरेज गर्न सक्छ। एक लाख सिलिन्डर रहेको श्रीले ४३ रोपनी जग्गामा उद्योग स्थापना गरेको प्रबन्धक निलमप्रसाद पन्त बताउँछन्। प्रतिघन्टा १२ सय सिलिन्डर भर्न सक्ने उद्योगले दैनिक ३५ सय सिलिन्डर बजार पठाउँछ।
सरकारको स्वामित्व रहेको साल्ट ट्रेडिङ कर्पोरेसनको मेट्रो काठमाडौं ग्यास थाक्रेको जुगेखोलामा छ। यसले तीनवटा बुलेटमा एक सय ५० टन स्टोरेज गर्न सक्छ। एसटिसी ब्रान्डमा ७५ हजार सिलिन्डर रहेको उद्योगले दैनिक एक हजार सिलिन्डर काठमाडौं पठाउँछ। यो उद्योग प्रतिमिनेट ६ वटा सिलिन्डर भर्न सक्ने क्षमताको अटोमेटिक प्लान्टबाट सञ्चालित छ।
हिमालयन पेट्रो केमिकल्सले धार्केमा एचपी ब्रान्डमा सिलिन्डर भर्छ। यसका दुईवटा बुलेटमा एक सय टन स्टोर हुन्छ। दैनिक ११ सय सिलिन्डर काठमाडौं निर्यात गर्ने यो उद्योगमा खेतान ग्रुपको लगानी छ।
धार्केमै रहेको सिद्धार्थ ग्यासको दुईवटा बुलेटमा ७० टन स्टोरेज क्षमता रहेको र दैनिक एक हजार सिलिन्डर बजार पठाइरहेको प्लान्ट इञ्चार्ज रामप्रसाद चापागाईंले बताए।
भुमेस्थानको श्रीराम ग्यास २६ रोपनीमा फैलिएको छ। यसमा कन्भेयर सिस्टमबाट अटोमेटिक ग्यास भरिने इञ्चार्ज मिलन कार्की बताउँछन्। डिजिटल काँटा जडान गरेको श्रीरामले दैनिक साढे १६ सय सिलिन्डर काठमाडौं पठाउने गरेको कार्कीले जानकारी दिए। एक लाख २२ हजार सिलिन्डर रहेको श्रीरामको स्टोरेज क्षमता भने एक सय टनको छ।
दुई सय टन स्टोरेज गर्न सक्ने ओम ग्यासले साढे १३ सय सिलिन्डर काठमाडौं पठाउँछ। एक लाख सिलिन्डर रहेको यस उद्योगको ८५ प्रतिशत बजार काठमाडौं नै भएको सञ्चालक हरिप्रसाद पाठक बताउँछन्।
बैरेनीको नमस्ते ग्यासले दुई बुलेटमा सय टन स्टोर गर्छ। ४० हजार सिलिन्डर रहेको यो उद्योगले १२ सय सिलिन्डर दैनिक उत्पादन गर्छ। सबैभन्दा नजिक रहेको सुगम ग्यासको चार बुलेटमा दुई सय टन स्टोरेज र ५० हजार सिलिन्डर बजारमा छ। ६ सय सिलिन्डर दैनिक बजारमा पठाउने यो उद्योग काठमाडौंबाट सबैभन्दा नजिक छ। गजुरीमा गीता ग्यासको पनि दुईवटा बुलेटममा एक सय टन स्टोरेज हुन्छ। विशालटारको श्रीकृष्ण, कृष्णभिरनजिकैको तारा र मझिमटारको त्रिवेणी ग्यासले काठमाडौंलाई लक्ष्य गरेर उद्योग स्थापना गरेका हुन्।
सरकारले सिलिन्डरका आधारमा प्रत्येक उद्योगलाई कोटा सिस्टममा ग्यास उपलब्ध गराउँछ। बजार छ भन्दैमा जति पनि बेच्न नपाइने उद्योग सञ्चालक बताउँछन्। जसको जति सिलिन्डर छ त्यत्ति नै बेच्ने हो। ‘आफूसँग भएको सिलिन्डर बराबर कोटा बिक्री गर्न सक्नु पर्योस नि,’ श्री ग्यासका निलम पन्तले भने।
यी उद्योगहरुले धादिङलाई कार्यक्षेत्र बनाउँदा स्थानीयले रोजगारी पाएका छन्। प्रत्येक उद्योगमा कम्तीमा १५ जना स्थानीय कामदार छन्। सबै उद्योगमा गरी करिब दुई सय जनाले काम पाएका छन्। ‘हामीले स्थानीयलाई नै पहिलो प्राथमिकतामा राखेका छौं,’ श्री ग्यासका म्यानेजर पन्तले भने।
सरकारले दिने यातायात सहुलियत नाफा गर्न पनि धादिङ पहिलो रोजाइ बनेको छ। छोटो दुरीमा ढुवानी कम पर्छ, आयल निगमले दिने सहुलियत वीरगन्ज र धादिङलाई समान रहेको धादिङमा प्लान्ट इञ्चार्जको रुपमा कार्यरत एक म्यानेजर बताउँछन्। धादिङको राजमर्ग क्षेत्र नयाँ औद्योगिक करिडोरको रुपमा उदाइरहेकोले पनि ग्यास उद्यमीहरु यहाँ आकर्षित भएको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रकान्त अधिकारी बताउँछन्। सहरको तुलनामा सस्तो मूल्यमा जग्गा पाइने, सुरक्षा र सजिलोका लागि अन्य उद्योग पनि धादिङ आउने क्रममा रहेको अधिकारी बताउँछन्।

नागरिकन्युज डट कमबाट