भेडिगोठ धमाधम लेक तिर सारिंदै

722 पटक पढिएको

सम्पादक: Dhadingnews.com

केशव अधिकारी
धादिङ -चरन क्षेत्रमा चिसो बढ्न शुरु भएपछि पांच महिना अघि उत्तरी धादिङको हिमाली भेगको चरन क्षेत्रवाट तल्लो भेगमा सारिएका भेडिगोठ यतिवेला धमाधम लेक तिर सार्न थालिएको छ । DSC03330
लेकको चरन क्षेत्रमा हिउं जमेर चिसो बढ्न थालेपछि हरेक बर्ष भेडीगोठहरु तल्लोभेगमा झार्ने गरिन्छ । असोजको अन्तिम तिर धादिङको तिप्लिङवाट जाडो छल्न बेसी सारिएका भेडिगोठ जेठ सम्ममा पुरानै चरनमा पु¥याईने किसानहरुले वताएका छन ।
हिउँद याममा हिमाली भेगको चरन क्षेत्रमा अत्याधिक चिसो हुने भएपछि दशै पछि भेडी गोठ बेसीमा सार्ने गरिएको भेडिगोठाला दार्खाका ३० बर्षिय उर्जा लामाले वताउनुभयो । हिउंदभरी दार्खाको विभिन्न स्थानमा राखिएका भेडा, चौरीहरु जेठ देखि असोज सम्म लेकमा राख्ने गरिन्छ ।
धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने दार्खा,झार्लाङ,सत्यदेवी,रिगाउं, लापा ,सेर्तुङ,तिप्लिङ लगायतका गाविसमा बर्षौ देखि व्यवसायिक रुपमा चौरी तथा भेडा पालन हुंदै आएको छ । यस भेगमा पालिएका चौंरी तथा भेडालाई तिप्लिङ गाविसको मस्योङमा गोठ वनाएर राख्ने गरिएको छ । चरनमा भेडा रहेको बेला पहिलो पटक मस्योङमा रहेको गोठले ठुलै बस्तीको झल्को दिने गरेको मस्योङ पुग्ने व्यक्तिहरु बताउंछन ।
मस्योङ लेकमा फराकिलो चरनक्षेत्र भएकोले त्यहाँ रहंदा कसैको पनि बालि विग्रने डर नहुने तर तल्लो भेगमा पशु चराउँदा बालिनाली खाईदिएर समस्या पार्ने भएपछि किसानहरुसंग समन्वय गरी वाँझो वारीमा अस्थायी गोठ वनाउंदै भेडि चराउने गरेको लामाले वताए । तल्लो भेगमा झारिएका भेडा लेक सार्नेक्रम शुरु भएकाले जिल्लाको उत्तरी भेगको माथिल्लो भागका विभिन्न स्थानका खेत वारी र जंगल क्षेत्र चौंरी र भेंडाले जंगल भरिएको छ ।
गोठमा बस्नेहरुले दिनभरी बाँसको चोयाबाट डोको, थुन्से, घुम,राडी पाखी बुनेर घर परिवारलाई पठाउने गर्दछन । यसरी तयार पारिएका सामानहरु लिनका लागि गाउंवाट आफन्तहरु खानेकुरा लिएर गोठमा जाने चलन रहेको किसानहरुले वताए । साथै गोठमा रहेको वेला भेडिको दुधवाट दुर्खा र चिज वनाएर पनि बिक्री गरि आयआर्जन गर्ने गरिएको उनीहरु बताउंछन ।
भेंडालाई तीन महिना हिमाली भेगमा लैजाने र दुई महिना तल्लो भेगमा झारेर चरनमा डुलाईने गरिन्छ । तल्लो भेगमा खेतवारीमा खेती नभएको समयमा चरनका लागि सजिलो हुने गरेको गोठालाहरु वताउंछन ।
बर्षौ देखि जिल्लाको उत्तरी क्षेत्रका किसानहरुले व्यवसायिक रुपमा भेंडा तथा चौंरी पालन गर्दै आईरहेको भएपनि निश्चित चरन नहुंदा किसानहरुलाई समस्या हुने गरेको दार्खा बृचेतका गोपाल फ्युवाले वताउनुभयो । चरन क्षेत्रको सुधार गर्न सके पशुपालन व्यावसायबाट नै उत्तरी धादिङका किसानको जीवनस्तरमा सुधार आउने विश्वास फ्युवाको छ ।