एक महिनाभित्रै दुई बेलिब्रिज बनाइने

568 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ- त्रिभुवन राजपथको नौबिसे–नागढुंगा खण्डमा दुईवटा बेलिब्रिज बन्ने भएका छन्। खत्रीपौवा र सुँगुरे खोलामा बेलिब्रिज बनाउन लागिएको नौबिसे–नागढुंगा साइड इन्चार्ज इन्जिनियर गागल भण्डारीले जानकारी दिए। देशकै सबैभन्दा बढी व्यस्त राजमार्गमा साँघुरो मोडका कारण दुइटा सवारी एकै पटक आउँदा साइड नपुगेर रोकिनुपर्ने अवस्था हटाउन सडक विभागको दमकस्थित कार्यालयमा जगेडा रहेको पुल ल्याइएको उनले बताए।
खत्रीपौवामा २५ मिटर र सुँगुरे खोलामा ६ मिटरको बेलिब्रिज थप्न आवश्यक सामग्री निर्माणस्थल ल्याइसकिएको छ। खत्री पौवामा क्रंक्रिट पुल बन्नुअघि राखिएको बेलिब्रिजकै जिपमा फिट गरिने डिभिजन सडक कार्यालयले जनाएको छ। दुवै पुल बनाउन बढीमा एक महिना लाग्ने भण्डारी बताउँछन्। उनका अनुसार यी बेलिब्रिज बाढीपहिरोलगायतले भत्किने अवस्था तत्काल समाधानका लागि उखेलेर लैजान र पुनःस्थापना गर्न सकिन्छन्।
निर्माणाधीन नौबिसे–नागढुंगा सडक खण्डमा सवारी जाम हुन नदिन खोलिएको डाइभर्सनले बर्खामा जोखिम निम्त्याउने देखिएपछि भित्तो कटानको काम अहिलेलाई रोकिएको छ। निर्माणक्रममा सवारी आवतजावत अवरुद्ध हुन नदिन ठाउँठाउँमा भित्तो खोपेर डाइभर्सन बनाउन सुरु गरिएको थियो।
याकघर, गणेश मन्दिर र सिस्ने खोलामा डाइभर्सन बनाइसकिएका छन्। कमजोर भूबनोटका कारण बर्खामा थप जोखिम निम्तिने देखिएपछि झाप्रे खोलामा २ सय मिटर भित्तो कटान गरेर बनाउन लागिएको डाइभर्सनको काम अहिले रोकिएको छ। डाइभर्सन छोडेर ढलानको काम सुरु गरिने नौबिसे–नागढुंगा साइड इन्चार्जसमेत रहेका डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर गागल भण्डारीले जानकारी दिए। ‘एक दिनको पानीले पनि तीन दिन सडक जाम गरिदिएपछि अहिलेलाई भित्तो खोतल्ने काम रोकियो। बरु एकतर्फी सवारी सुचारु गरेर सडक ढलानकै काम अघि बढाइनेछ।’
सडकमा आरसिसी ढलानको काम रोकेर पछिल्लो समय डाइभर्सन बनाउने कामले प्रमुखता पाएको थियो। ढलान ठेक्का लिएको ठेकेदार कम्पनी डाइभर्सन निर्माणमा अल्भि्कनुपर्दा काममा ढिलासुस्ती बढिरहेको थियो। निर्माण छिटो सक्न माघ २६ गतेदेखि राति ८ घन्टा काम गर्न थालिएको थियो। तर, एम्बुलेन्ससँगै आएका गाडीहरूलाई पनि बाटो छोडिदिनुपर्दा तीन घन्टा पनि काम हुने नगरेको गुनासो ठेकेदारको छ।
सम्झौतामा ठेकेदारलाई ६ हजार घनमिटर भित्तो कटानको जिम्मेवारी भए पनि पछि ४० हजार घनमिटर थपिएको थियो। बढेको कामको खर्च सडक विभागले बेहोर्ने सहमतिमा ठेकेदारलाई काम लगाइएको डिभिजन कार्यालयले जनाएको छ।
चाडपर्व, सवारीचाप र डाइभर्सनमा अल्भि्कँदा नागढुंगा–नौबिसे सडक आरसिसी ढलानको काम निर्धारित मितिमा नसकिने अवस्था आएको ठेकेदार कम्पनी महादेव खिम्ती र मिचिको जेभीका परियोजना म्यानेजर वैभव पाण्डेले बताए। ‘हाम्रो कारणले ढिला भएको होइन,’ उनले भने, ‘डाइभर्सन रोकिएकाले अब मुख्य कामलाई तीव्रता दिन्छौं।’ ०७० जेठदेखि एक वर्षमा सक्नुपर्ने गरी तोकिएको सडक निर्माणको निर्धारित मिति सकिन तीन महिना मात्र बाँकी छ। काम भने ३० प्रतिशतभन्दा हुन सकेको छैन। ‘ठेकेदारसँग पर्याप्त जनशक्ति छैन,’ इन्जिनियर भण्डारीले भने, ‘यो व्यवस्थापनले निर्धारित मितिमा पूरा हुने सम्भावना टर्दै छ।’
कम्पनीले भने ढलानको काममा ३ इन्जिनियरसहित ३५ र ट्र्याक तथा डाइभर्सनका लागि १० गरी ४५ जना कामदार खटाइएको बताएको छ। म्यानेजर पाण्डे भन्छन्, ‘तोकिएको समयमा पूरा गर्न हाम्रो म्यानपावर पर्याप्त छ। तर, सडकका कामदार जम्मा १५ जना पनि देखिँदैन।’ ठेकेदारले दुइटा मिक्स्चर प्रयोग गरिएको भने पनि महिनौंदेखि एउटै मिक्स्चरको भरमा काम भइरहेको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक कृष्णकुमार चन्द बताउँछन्।
नौ स्थानमा १ हजार ७० मिटर दुईतर्फी आरसिसी कंक्रिट ढलानसहित ड्रेन (नाली) बनाउने कार्ययोजना छ। हालसम्म खत्रीपौवामा दुईतर्फी ९० मिटर र याकघर, गणेश मन्दिर, सिस्ने खोला र झाप्रे खोलामा एकतर्फी ७ सय मिटर ढलान सकिएको इन्जिनियर भण्डारीले जानकारी दिए।
नौबिसे–पीपलमोड १० किलोमिटर सडकमध्ये एक किलोमिटरको आरसिसी ढलान हुँदै छ। बाँकी ९ किलोमिटर पूरै ध्वस्त भइसकेकाले पुनर्निर्माणका लागि इस्टिमेटसहित २० लाख बजेट माग गरेर फाइल मन्त्रालयमा पेस गरिएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ। करिब सात सय मिटरमा लगाउनुपर्ने सपोर्टिङ वालको काम पनि समयमा बजेट विनियोजन नहुँदा रोकिने अवस्था आएको छ।
हरेक १५ वर्षमा सडकको पुरानो पिच काम नलाग्ने भएकाले पुनर्निनिर्माण गरिरहनुपर्ने हुन्छ। वृद्धि हुँदै जाने सवारीको चाप सर्भे गरी सडक विस्तार गरिरहनुपर्ने मान्यता छ। २००९ सालमा १५ वर्षको इस्टिमेटसहित खोलिएको त्रिभुवन राजपथ २०१५ मा कालोपत्रे गरिए पनि त्यसपछि कतै केही विस्तार गरिएको छैन। सवारी चाप दसौं गुना बढ्दा ६० वर्षपछि पनि पुरानै संरचना टालटुल मात्र गरिँदै आएको छ।
बढ्दो सवारीसाधनका कारण हाल गरिँदै आएको आरसिसी पनि दीर्घकालीन विकल्प नरहेको इन्जिनियर भण्डारी बताउँछन्। ‘नौबिसे–नागढुंगा सडकलाई चार लेन बनाउनुबाहेकको विकल्प छैन,’ उनले भने, ‘बाटोको क्षमताभन्दा अत्यधिक भारसहितका दैनिक १६ देखि २० हजार सवारीले सडक ध्वस्त बनाइरहेका छन्। वैकल्पिक ट्र्याक खोलेर यो सडकलाई पूरै पुनर्निर्माण गर्नुपर्ने बेला आएको छ।’ सीतापाइला–धार्के ट्र्याक खोली वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने पनि उनले सुझाए नागरिकन्युज डट कमले खबर लेखेको छ ।