नौविसेको जाम हटाउन नुवाकोटको सडक प्रयोग

455 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 । नुवाकोट, फागुन १८ – नौविसेदेखि थानकोटसम्मको सडक ममर्तको कारण हुने सवारीजामलाई कम गराउन भन्दै विकल्पमा नुवाकोटको सडक हुँदै सवारीसाधनलाई राजधानी पठाउन थालिएको छ ।

ट्राफिक प्रहरीले थानकोटको घन्टौ हुने जामलाई कम गराउन  शनिवारदेखि धादिङको गल्छीदेखि नुवाकोटको देवीघाट, पिपलटार–ककनी हुँदै काठमाडौं जाने सडकलाई विकल्पको रुपमा प्रयोग गर्दै सवारीसाधान पठाउन थालेको हो ।

शनिवारबारदेखि रुटलाई वैकल्पिक मार्गको रुपमा सञ्चालनमा ल्याइएपछि पासाङल्हामु मार्गमा सवारी चाप ह्वात्तै बढेको छ ।

नौबिसे–नागढुंगा सडक निर्माणमा ढिलाई हुँदा यातायात सञ्चालनमा समस्या भएपछि यो सडकलाई प्रयोगमा ल्याइएको हो । नुवाकोट हुदै राजधानी जोडिएको सडक साँघुरो भएकोले साना सवारीसाधनलाई मात्र यो रुट प्रयोग गर्न लगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

नौबिसे–नागढुंगा खण्डको १ हजार ७० मिटर क्षेत्रको सडक ढलान गर्नका लागि गत माघ १ गतेदेखि राती ८ बजेदेखि बिहान ४ बजे सम्म गाडीको आवतजावतमा रोक लगाएर सडक निर्माण कार्य भईरहेको  छ ।

पृथ्वी राजमार्गमा दैनिक सात आठ घण्टासम्म सवारी साधन जाम हुने भएपछि दुरीका हिसावले केही किलोमिटर टाढा भएपनि पासाङल्हामु मार्गलाई प्रयोगमा ल्याइएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख रामशरण उप्रेतीले जानकारी दिनुभयो ।

पृथ्वी राजमार्गमा आवतजावतमा समस्या हुने वित्तिकै हालको लागि माइक्रोवस र साना सवारी साधनलाई पासाङल्हामु मार्ग हुदै काठमाडौं भित्रने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

उज्यालो