काठमाडौँ पस्न नुवाकोटको वैकल्पिक मार्ग प्रयोगमा

444 पटक पढिएको

सम्पादक: Dhadingnews.com

त्रिशूली : सडक मर्मतको कारण पृथ्वी राजमार्गको सवारी चापलाई कम गराउन राजधानी जाने सवारीसाधनलाई नुवाकोट हुँदै पठाउन थालिएको छ।

त्रिभुवन राजपथ नौबिसेदेखि थानकोटसम्मको सडक मर्मतको कारण पृथ्वी राजमार्गको सवारीसाधन चाप निकै बढेर घण्टौँ जाम हुने गरेको छ।

यसैलाई कम गराउन विकल्पको रूपमा ट्राफिक प्रहरीले शनिबारदेखि धादिङको गल्छीदेखि नुवाकोटको देवीघाट–पिपलटार–ककनीहुँदै काठमाडौँ जाने सडकलाई प्रयोग गर्दै सवारीसाधान पठाउन थालेको हो।

शनिबारदेखि रुटलाई वैकल्पिक मार्गको रूपमा सञ्चालनमा ल्याइएपछि पासाङल्हामु मार्गमा सवारी चाप ह्वात्तै बढेको छ।

नौबिसे–नागढुङ्गा सडक निर्माणमा ढिलाइ हुँदा यातायात सञ्चालनमा समस्या भएपछि यो सडकलाई प्रयोगमा ल्याइएको हो।

नुवाकोट हुँदै राजधानी जोडिएको सडक साँघुरो भएकाले साना सवारी साधनलाई मात्र यो रुट प्रयोग गर्न लगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

नौबिसे–नागढुङ्गा खण्डको एक हजार ७० मिटर क्षेत्रको सडक ढलान गर्न गत माघ १ गतेदेखि १५ दिन सम्मका लागि राति ८ बजेदेखि बिहान ४ बजेसम्म गाडीको आवतजावतमा रोक लगाएर सडक निर्माण कार्य भइरहेको छ।

पृथ्वी राजमार्गमा आवतजावतमा समस्या हुने बित्तिकै हालको लागि माइक्रोबस र साना सवारी साधनलाई पासाङल्हामु मार्ग हुँदै काठमाडौँ भित्र्ने व्यवस्था मिलाइएको छ।

गल्छीदेखि नागढुङ्गा हुँदै बालाजु नयाँ बसपार्कसम्म करिब ५८ किमी रहेको छ भने गल्छीदेखि देवीघाट ककनी हुँदै नयाँ बसपार्कसम्म करिब ८४ किमी रहेको छ। रासस