डाइभर्सन भत्कँदा नौबिसे–नागढुंगामा १५ किलोमिटर जाम

577 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

धादिङ- छोराको आँखा उपचार गर्न दिउँसो २ बजेका लागि डाक्टरसँग समय लिएर आइतबार बिहान पोखराबाट हिँडेकी धन राना आउँदाआउँदै धार्के पुग्दा ११ बज्यो। धार्केबाट २८ किलोमिटरको काठमाडौं सामान्य अवस्थामा आधा घण्टामा पुगिन्थ्यो। तर, उनी चढेको बस बेलुका सात बजे खानीखोला पुगेको छ। ६ घण्टा निरन्तर जाममा बस्नुपर्दा मानसिक तनाब बढेको उनी बताउँछिन्।
शनिबारको जाम केही खुलेको संकेत पाएपछि बिहान १० बजे मलेखुबाट बस चढेका नेपाल चेपाङ संघका केन्द्रीय सदस्यसमेत रहेका धादिङका तिलक चेपाङ पनि धार्केदेखी खानीखोलासम्मको करिब पाँच किलोमिटर छिचोल्न ६ घण्टा लागेको बताउँछन्। जामको मुख्य विन्दु याकघरमा हो। ‘आज रातभरिमा नागढुंगा पुग्न सकिन्न जस्तो छ’, चेपाङ भन्छन्, ‘धादिङबाट काठमाडौं पुग्न दुई दिनको यात्रा गर्नु पर्ने भयो।’
नेपाली कांग्रेस उपसभापति रामचन्द्र पौडेल र नेकपा–माओवादी सचिव रामबहादुर थापालाई प्रहरीले एस्कर्टिङमार्फत सडक पार गरिरहेका थिए। चेपाङले गुनासो गरे– ‘यस्तै छ, ठूलालाई चैन सानालाई ऐन।’
शनिबार दिउँसो परेको पानीले सडक चिप्लो हुँदा त्रिभुवन राजपथको झाप्रे खोलादेखी पृथ्वी राजमार्गको जुगेखोला सम्म १५ किलोमिटर सडकमा सवारी जाम भएको छ। हजारौं यात्रु सडकमा अलपत्र छन्। शनिबार दिउँसो दुई बजेदेखि सुरु भएको जाम आइतबार राति अबेरसम्म पनि निरन्तर देखियो। सडक ममर्त गर्दा एकतर्फी सवारी रोकिएर हुने जामको विकल्पमा भित्तो खोलेर बनाइएको डाइभर्सन सामान्य झरीले भत्किएपछि अहिले झन् जाम भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरिक्षक कृष्णकुमार चन्द बताउँछन्। ‘बाटो हिलो भएकाले यसै पनि चिप्लो छ, भित्तो कटान गर्दा ठाडो बनाइएकाले पहिरो पनि आउन थाल्यो,’ उनले भने। डाइभर्सनका लागि याकघरमा पाँच सय मिटर भित्तो खोलिएको छ। सामान्य पानी पर्दा पनि सडक चिप्लो हुन्छ। सडक चिप्लो भएपछि मालवहाक सवारी गुडाउन मिल्दैन। सडकको भित्तामा पहिले भएको नाली पनि पुरिएको छ।
चिप्लो बाटोमा मालवाहक ट्रक फस्नाले जाम बढिरहेको ट्राफिक प्रहरी कार्यालय खानीखोलाका प्रहरी सहायक निरिक्षक जयराम पुडासैनी बताउँछन्। दिनभरिमा दुई दर्जनभन्दा बढी ट्रक हिलोमा फसे। फसेका सवारी लोडरको सहायताले निकाल्ने र फुको माटो हालेर सवारी पास गर्दै गर्दा आइतबार दिउँसो थपिएको पानीले झन् जाम बढाएको हो। ढलानमा हिलो हुनेबित्तिकै मालवाहक ट्रक गुड्दै गुड्दैन। सवारी सुचारु गराउन प्रहरीले सुक्खा माटो खनेर ट्रकको चक्कामुनि छर्किने गरेको छ। एक पटक सुक्खा माटो राखेपछि २० वटा भन्दा बढी गाडीलाई पुग्दैन। फेरि फस्न सुरु हुन्छ। ‘फसेका सवारी निकाल्न डाइभर्सन खन्दै गरेको एउटा लोडर र एउटा स्काभेटर स्ट्यान्डबाई राखेका छौं,’ प्रहरी निरीक्षक चन्दले भने।
शनिबार दिउँसोबाट जाम सुरु भएपछि साना सवारी र यात्रुवाहकलाई मात्र सडकमा गुड्न दिइएको थियो। मालवहाक ट्रक तथा ट्यांकर बैरेनी, महादेवबेसी र खानीखोलामा रोकिएका थिए। ‘तर, सडकमा कुनै सुधार नआउँदा रातभरि सुत्न पाइएन। राति ट्रक कटाउन सकिन्छ जस्तो लागेर छाड्दा बिहान तीन बजे मात्र पालो गरेर सुतियो,’ ट्राफिकका असई पुडासैनी बताउँछन्।
सवारी आवागमन सजिलो गराउन शनिबारदेखि निजी तथा साना सवारी गल्छी–देवीघाट हुँदै पासाङलामु मार्गबाट काठमाडौं पठाइएको छ। ‘काठमाडौं पुग्नै पर्ने साना सवारीलाई वैकल्पिक मार्ग गल्छीबाट नुवाकोट हुँदै बालाजु निस्कने बाटो देखाउने गरेका छौं,’ बैरेनी प्रहरी चौकीका सई विजय खत्रीले भने।
नौबिसे–नागढुंगाको जाम छिचोल्न नसक्ने देखेपछि नुवाकोट हुँदै बालाजुको बाटो प्रयोग गरेका धादिङका प्रजिअ विष्णुप्रसाद पोखरेल अप्ठ्यारो बाटो भएकाले यो पनि विकल्न हुने अवस्था नदेखिएको बताउँछन्। ‘बेलैमा भित्तोमा पर्खाल र नाली नबनाइए झरी पर्नासाथ बाटो बन्द हुनेछ,’ उनले भने।

नागरिक न्युज डट कमबाट