नौविसे–नागढुङ्गामा संधै जाम-यात्रुलाई दिनहुँ सास्ती

1850 पटक पढिएको

सम्पादक: Dhadingnews.com

नागढुङ्गा,- केही बर्ष अघि सम्म कृष्णभीरको पहिरोले देशका विभिन्न स्थानवाट राजधानी आउंदै गरेका र राजधानीवाट वाहिरिने यात्रुलाई दिनहुं झस्काउने गर्दथ्यो । Copy of 2  Naubise Nagdhunga Khandama Dekhieko Jamसडक माथिवाट निरन्तर बगिरहने पहिरोले कृष्णभीरमा दिनहुँ सवारी आवागमन ठप्प पार्ने समस्यालाई लक्षित गरेर त्यतिवेला ‘कृष्णभीरमा जाम’ वोलको गित नै वनाईएको थियो । करिव एक दशक सम्म जारी रहेको कृष्णभीरको समस्या समाधान हुंदै गएपनि अहिले त्रिभुवन राजपथमा पर्ने नौविसे नागढुङ्गा सडक खण्डको जामले सबैलाई आजित पार्न थालेको छ ।
देशका ६७ जिल्लालाई राजधानी संग जोड्ने एक मात्र स्थलमार्ग त्रिभुवन राजपथको नौविसे –नागढुङ्गा खण्डको यात्रा अहिले कहाली लाग्दो बन्न थालेको छ । कालोपत्रे सडक विग्रिएर खहरेखोलाको बगर जस्तै बनिसकेको छ । उकालो भएर जांदै गरेका मालवाहक सवारीसाधन सडकमै विग्रिएर रोकिन पुग्दा नियमित आवागमन रोकिनु सामान्य भईसकेको छ ।
त्रिभुवन राजपथको खानीखोला–नौविसे सडक हुँदै यात्रा गर्ने यात्रुहरु अहिले बेलामा गन्तव्यमा पुग्न त सक्दैनन, त्यति मात्रै होइन यात्राका वेला चाहेको खानेकुरा किनेर खान समेत पाउंदैनन घण्टौंसम्मको यात्रा सकेर राजधानी पुग्न १० किलोमिटरको दुरी बाँकी रहँदा यात्रुले घण्टौंसम्म सडकमैअलपत्र बन्नुपर्ने वाध्यताले सताउन थालेको निकै समय भएपनि समस्या समाधान हुन नसक्दा राजधानी आउने यात्रुहरुको बाटोमा नै विचल्ली हुने गरेको यात्रुहरु बताउंछन ।
सडकमा कुनै किसिमको अवरोध नहुंदा नौबिसे–नागढुङ्गा सडक खण्ड पार गर्न बढीमा २० मिनेटको समय लाग्ने गर्दछ । राजधानी प्रवेश गर्ने मुख्य सडकनाका भएका कारण बढ्दो सवारी चापका कारण यहांको सडकले भारक्षमता धान्न नसकेर विग्रने गरेको प्राविधिकहरु बताउंछन । विग्रिएको सडक मर्मत र स्तरोन्नतीका लागि सडक विभागले एक बर्ष अघि देखि काम गर्दै आईरहेको भएपनि मर्मतमा भएको ढिलाईले वर्षातको समय सुरु भएसंगै मर्मत कार्य सुरु भएदेखि यो सडक पार गर्न अहिले ६ देखि आठ घण्टा लाग्ने गरेको छ । सडक मर्मतको नाममा महिनौंसम्म चलिरहेको जामको व्यवस्थापनको विकल्प नखोजिंदा यात्रुहरु २० मिनेटको बाटो पार गर्न घण्टौंबेर पर्खन बाध्य भएका हुन् । बाटो भत्किएको कारण पहिले देखि नै कहिले कसो जाम भैरहेने सडकमा दुई महिना अघिदेखिको यात्रा थप जोखिमपूर्ण र कष्टकर बनेको छ । फागुन १८ गते र १९ गते नौविसे –नागढुङ्गा सडक खण्डको २० किलोमिटर दुरी पार गर्न १९ घण्टा समय लागेको धादिङ मलेखुका तिलक चेपाङले वताए ।
सडकको दुवैपटिको लेन विग्रिएपछि मर्मत सुरु भएको ठाउँमा काममा ढिलासुस्ती हुँदा यात्रुहरु आधा घण्टाको बाटोमा घण्टौं लगाएर यात्रा गर्न बाध्य हुनुपरेकोमा सडक विभागले केही स्थानमा गरेको कटानका कारण सडकमा थप अवरोध आएको सवारी चालकहरु बताउंछन ।
काठमाण्डौबाट अन्यत्र बाहिरिदा थानकोटदेखी र नौविसेबाट काठमाण्डौ भित्रदा खानीखोलादेखि भोकभोकै जाममा बस्नुको पीडा त छदैछ, अत्यावसेक सवारी र एम्बुलेन्स समेत जाममा बस्नुपर्ने बाध्यता भएपनि व्यवस्थापन तर्फ कसैको ध्यान नगएको जनगुनासो छ । जामले रोकिएकै कारण समयमा अस्पताल पुग्न नपाउँदा केही महिना अघि यहि सडक खण्डमै तीन जनाको एम्बुलेन्स भित्रै मृत्यु भएको थियो । जाम छिचोल्न एम्बुलेन्सले समेत बाटो नपाउँदा उपचारका लागि राजधानी लैजांदै गरेका विरामीको एम्बुलेन्स भित्रै मृत्यु हुन पुगेको हो ।
नागढुंगा–नौविसे सडक अन्तर्गत बढी बिग्रिएको नौबिसे–पिप्लामोडको १ हजार ७० मिटर सडकमा पुरानो कालोपत्रे उक्काएर ढलान गर्ने काम गएको जेठ महिनादेखि नै सुरु भएको छ । दुई महिनामा मर्मत कार्य सम्पन्न गरिसक्ने भनेर काम सुरु गरेको भएपनि अहिलेसम्म सबै काम सकिएको छैन भने सडक सांघुरो भएर बढी जाम हुने याक घर,खत्री पौवा लगायतका स्थानमा सडक माथिको भाग कटान गरिएको छ । सडक माथिवाट कटान गरिएको स्थानमा सानो तिनो झरीले पनि माटो वगाएर सडकमा थुपारिदिएपछि सवारी साधन चिप्लिएर आवागमनमा समस्या हुने गरेको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरिक्षक कृष्ण चन्दले वताए ।
जेठ महिनाबाट सुरु हुनुपर्ने काम ठेकेदार कम्पनीको ढिलासुस्तीले साउनबाट मात्रै सुरु भएको भएपनि अहिले सम्म काम सम्पन्न हुन सकेको छैन । सडकमा ढलानको लागि महादेव खिम्ती र मिचिको कम्पनीले करिब ८ करोडमा ठेक्का लिएको सडक विभागले जनाएको छ । सडकको क्षमता भन्दा चौव्बर सामान लिएर मालवाहक सवारी साधन गुड्ने भएकोले सडकको अवस्था दिनप्रतिदिन कमजोर वन्दै गएको डिभिजन सडक कार्यालय भरतपुरका एक इञ्जिनियरले वताए ।
दिनभरको यात्रा गरेर गन्तव्यमा पुग्न १० किलोमिटरको यात्रा बाँकी रहँदा घण्टौंसम्म पर्खनु पर्ने जामले पुर्व पश्चिमबाट राजधानी आउने यात्रुहरुको दिनुहं विचल्ली हुने गरेको छ । नौबिसे र नागढुङ्गाको बीचमा यात्रुलाई खाना खुवाउने सामान्य होटलहरु समेत नहुँदा जाम लाग्न थाले पछि वजार मुल्य भन्दा चार गुणा बढी तिरेर भएपनि पानी र चाउचाउ किन्न यात्रुहरु बाध्य हुने गरेका छन । सडक विग्रिएर सर्वसाधरणले घण्टौं सम्म सडकमै विताउनु परेपनि राज्यका ठूला ओहोदाका व्यक्तिहरुको सवारी हुंदा स्कर्टिङ गर्नु पर्ने भएपछि जाम व्यवस्थापन मिलाउन प्रहरीलाई थप समस्या हुने गरेको एक प्रहरीले वताए ।
दैनिक १२ हजारको हाराहारीमा सवारी आवत जावत हुने नौविसे नागढुङ्गा नौविसे खण्डमा ठूला ठूला खाल्डा परेका कारण कतिपय ठाउँहरुमा सडक खोलाको बगर जस्तो बनेको छ भने कतिपय ठाउँमा ग्रामिण सडक जस्तै बनेको छ । राजमार्गमा यात्रागर्ने यात्रुहरु गन्तब्यसम्म पुग्दा हिलाम्मे र धुलाम्मे हुनु परेको बताउँछन् ।