ओहो ! पत्रकारको पीडा पनि कस्तो कस्तो

656 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 धादिङ  – नागरिकलाई हरबखत सूचना र जानकारी पस्किने काममा खटिएको पत्रकारले धेरैका पीडा र कथाव्यथा पनि कोट्याई हिँड्छ ।

तर उसको आफ्नै पीडा र व्यथा कस्तो हुन्छ भन्ने स्वयं उ बाहेक अरुलाई धेरै थाहा हुँदैन ।

दिनरात, चाडपर्व र परिवारको चाहना केही नभई आफ्नो क्षेत्रमा खटिने पत्रकारको जिन्दगी कति पीडादायी हुन्छ भन्ने कुरा बुधबार धादिङमा भएको एक कार्यक्रममा छर्लंग भयो । नेपाल पत्रकार महासंघ धादिङको अधिवेशन उद्घाटन सत्रमा जिल्लामा कार्यरत पत्रकार सानुबाबु तिमिल्सिनाले पत्रकार शीर्षकमा कविता सुनाए । उनको कविता सुनेर धेरै भावुक भए । कविता सकिएको निकैबेरसम्म पनि तालीको फोहोरा छुट्यो ।

पत्रकार सानुबाबुको ‘पत्रकार’ शीर्षकको कविता यस्तो छ :

न समयमा सुत्न पाइन्छ, न त पाइन्छ खान
कता कता के छ भनी, पर्ने खोज्दै जान
अरु सामान केही छैन, कलम कापि हुनी
के भनेर बयान गरौं, पत्रकारको जुनी ।

सधैं सधैं हिड्नुपर्ने, काँ काँ के छ भनी
कहिले त हिड्नुपर्ने, गुप्तचर बनी
यसो कुरा बुझ्नेहर्ले, राम्रो पनि मान्छन
त्यस्तै काम गर्नेहरु, नराम्रो नि ठान्छन् ।

सकारात्मक खवर दिँदा स्याबास पनि दिन्छन
उस्तै खवर पर्न गए भेटी सातो लिन्छन
गरेर जस् नी छैन हजुर, नगरेर सुख
पत्रकारको जीन्दगानी बित्ने भयो दुःख ।

गोजी हेर्‍यो खाली मात्र, घरमा पनि त्यस्तै
काभकाज नहुँदा नि, हुनुपर्ने व्यस्तै
बालबच्चा भन्छन् चाचा, चाइयो मिठो खाना
साथीहरुको जस्तै राम्रो, ल्याइदिनुस् न नाना ।

साथीभाई सरहनी, हुनुपर्ने ठिक्क
आफ्नै पारा हेर्दा खेरी, आफै भाछु दिक्क
ख्याल ख्यालमै यता लाग्यों, छैन अन्त ठाउँ
यसो कहिले सोची ल्याउँदा, लाग्छ विदेश जाउँ ।

राम्रो होला भन्दा भन्दै वित्ने भयो जुनी
परिवारलाई फकाइराछु, तानाबाना बुनि
न त च्यात्त्तै छाड्न सकियो, न अगाडि जान
अरु कुरा के गरौं हजुर, समस्या छ खान ।

एकसरो थोत्रा लुगा, चपल पिटिपिटी
चाडपर्व केही छैन, एउटै तिथिमिति
शनिवार र आइतवारको केही छैन पत्तो
पत्रकारको जीन्दगी त, खै के खै के कस्तो ?
पत्रकारको जीन्दगी त, खै के खै के कस्तो ?

उज्यालो अनलाइनवाट