नागढुंगा-नौबीसे सडकखण्ड सधैँ जामको पिरलो

522 पटक पढिएको

सम्पादक: Dhadingnews.com

याकघर (धादिङ) : राजधानीतर्फ आउँदा होस् वा छाडेर चितवन नपुग्दासम्म जाममा पर्नु नौलो होइन। फरक यतिमात्र हो, कुनै जाम एकदुई घन्टाका हुन्छन् त कुनै एक दिन वा रातभरकै। २०१३ सालमा बनेको मुस्किलले दुई लेनको सडक मा दैनिक हजारौं गाडी अटेसमटेस गरी गुडिरहेका छन्।

दसैं र तिहारमा लगातार दसौं घन्टा सर्वसाधारण जाममा परेपछि तत्कालीन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको पहलमा प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटाको संयोजकत्वमा अनुगमन समिति बन्यो। समितिले स्थलगत भ्रमण गरेपछि डाइभर्सन बनाएरमात्र निर्माणकार्य गर्न सडक विभागलाई सुझाउ दियो।

सडक डिभिजन कार्यालय भरतपुरले एक लेनबाट आवागमन गराउँदै सडक निर्माण गरिरहेको थियो। सडक चौडा गर्ने सुझाउ सचिवबाटै पाएपछि डिभिजन कार्यालयले पनि साघुँरो बाटोमा पडाड काटी डाइभर्सन बनाएर निर्माण थाल्यो। तर दुर्भाग्य, गत शनिबारको वर्षाले सडक हिलाम्मे भयो। दोहोरो लेनमा गुडेका गाडीमध्ये एउटा हिलोमा भासिँदा दुई दिनसम्म सडक जाम भयो।

अन्नपूर्णकर्मी बिहीबार जामको कारण खोज्दै याकघर, गणेश मन्दिर र सिस्ने खोला पुग्दा बाटाभरि गिट्टी अलपत्र थियो। सडक बनाउने काम ठप्प थियो। अघिल्लो साता वर्षाले हिलो भएको सडक धुलाम्मे भइसकेको थियो।

महादेव खिम्ती र मिचीको कम्पनीले पाँच करोड ८५ लाख रुपैयाँमा जेठभित्र सडक निर्माण सम्पन्न गर्ने गरी जिम्मा लिएका रहेछन्। सडकका इन्जिनियर जागल भण्डारीले कार्य प्रगति हेर्दा जेठमा निर्माण सम्पन्न नहुने बताए। ‘हामीले ठेकेदारलाई बारम्बार भनिरहेका छौं। पानी परे जाम हुन्छ नै। अनुगमन समितिलाई चैतमा सम्पन्न गर्ने भन्दै थिए। यो तालले त जेठमा पनि होलाजस्तो छैन’, उनले भने।

१४ वर्षदेखि सडक विभागमा ज्यालादारी काम गर्दै आएका ५० वर्षीय रामबहादुर तामाङलाई पनि निरन्तरको जामले दिक्क बनाएको रहेछ। दैनिक तीन किलोमिटर सडक र नाला सफा गर्दै आएका तामाङले झर्को मान्दै भने, ‘गाडी कसले उछिन्नेझैं गर्छन्। एउटा बिग्रिन्छ अनि जाम हुन्छ। बाटो खाली हुँदैन, बनाएर मात्र के गर्नु?’

गत शनिबार एक बजेदेखि सुरु भएको जाम सोमबार १२ बजेपछि मात्र सामान्य अवस्थामा आएको थियो। जामका कारण बिरामीले समयमा उपचार पाएनन्। बेहुला समयमै मण्डप पुग्न सकेनन्।

नागढुंगादेखि नौबीसेसम्म विभिन्न स्थानमा गरेर एक हजार ७० मिटर सडक ढलान गर्ने कार्य भइरहेको जानकारी सडक डिभिजन कार्यालयले दियो।

काठमाडौंबाट सामान्य अवस्थामा दैनिक ३५ सय गाडी भित्रिने र ३४ सय बाहिरिने गरेको तथ्यांक ट्राफिक प्रहरीसँग छ। दुई लेनको सडकमा कुनै एउटा गाडी बिग्रिएमा जाम खुलाउन ६ देखि ८ घन्टासम्म लाग्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी केशव अधिकारीले बताए।

सडक निर्माणका लागि डाइभर्सन बनाइएका मुख्य दुई स्थान याकघर र गणेश मन्दिरमा निर्माण भएको ढलानसमेत माटोले पुरिएको छ। अन्नपूर्णकर्मी पुग्दा गाडी एकै लेन भएर गुडिरहेका थिए। कुनै पनि बेला पानी परेमा वा गाडी बिग्रिएमा जामबाहेक अर्को सम्भावना देखिँदैन। धुलोका कारण दुर्घटनाको सम्भावना पनि त्यत्तिकै छ।

प्रधानमन्त्री कार्यालयका सचिव बाँस्कोटाले शनिबारको जामपछि भौतिक योजना मन्त्रालयका सचिवलाई पत्र लेखेर ध्यानाक र्षण गराएको बताए। ‘वर्षायामअघि निर्माण पूरा गर्न पहल गर्दैछौं’, उनले भने। उनले जाम नहुने गरी निर्माण गर्न अनुगमन समितिले सुझाउ दिएको पनि स्पष्ट पारे।

भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसी सिटौला सडक निर्माणकार्य चैतमै सम्पन्न गर्न ठेकेदार कम्पनीसँग कुरा भइरहेको बताउँछन्। क्षमताभन्दा बढी ढुवानी गर्ने गाडी बिग्रिएकैले सडक जाम भएको उनले बताए।

-अन्नपूर्ण पोष्ट डट कम बाट