नौबीसे–नागढुंगा सडक : दस दिनदेखि काम अवरुद्ध

493 पटक पढिएको

सम्पादक: Dhadingnews.com

  • नौबीसे–नागढुंगा सडक : दस दिनदेखि काम अवरुद्ध
धादिङ- नौबिसे–नागढुंगा सडकमा दस दिनदेखि काम अवरुद्ध छ। गत फागुन १८ गते ढलानको कामपछि ठेकेदार कम्पनी महादेव खिम्ती र मिचिको जेभीले फिल्डमा निर्माण सामग्री नै उतारेका छैनन्। हालसम्म केही भाग मात्र मर्मत गरेको कम्पनीले ढिलासुस्तीकै कारण निर्धारित मिति आगामी जेठ मसान्तसम्म ठेक्का पूरा गर्ने सम्भावना टर्दै गएको छ।
ठेकेदारको लापरबाहीका कारण निर्धारित मितिमा आधा काम पनि सकिने छाँट नरहेको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक कृष्णकुमार चन्द बताउँछन्। ‘बर्खाअघि काम नसकिँदा यात्रुले अझ सास्ती खेप्नुपर्नेछ,’ उनले भने।
ठेकेदारको चाला हेर्दा निर्धारित समयमा काम सक्नेमा विश्वास गर्ने आधार नरहेको नौबिसे–नागढुंगा सडकका साइड इन्चार्जसमेत रहेका डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर गागल भण्डारी बताउँछन्।
केही दिनअघि वर्षाले डाइभर्सन भत्काइदिँदा जामका कारण यात्रुले सास्ती खेप्दै आएका छन्। पहिले एकतर्फी सवारी चलाएर बाटो निर्माण गरिँदा जाम बढेपछि विकल्पका रूपमा भित्तो भत्काएर डाइभर्सन खोलिएको थियो। हतारमा खोलिएको डाइभर्सन सामान्य झरीले नै भत्किएको र हिलोमा गाडी फसेर जाम हुने गरेको छ। नौबिसे–नागढुंगाको याकघर र गणेशमन्दिरमा खोलिएको डाइभर्सनकै कारण यात्रुले आधा घन्टामा पुगिने बाटो पार गर्न १० घन्टा खर्चनुपरेको थियो। डाइभर्सनको हिलोले सडकको पिच झनै बिगारिदिएको प्रहरी निरीक्षक चन्द बताउँछन् । ‘अहिल्यै विकल्प नखोजिए बर्खामा यातायात सुचारु गराउन सकिँदैन। हामी पनि केही गर्न सक्दैनौं। सडकमा खस्ने पहिरोले यात्रुको ज्यानै जोखिममा पारिदिन सक्छ,’ उनी भन्छन्।
नौबिसेे–झाप्रेखोलाको हरेक वर्ष भत्किइरहने नौ स्थानमा १ हजार ७० मिटर कंक्रिट पेभमेन्ट (आरसिसी ढलान पिच) गर्न ६ करोड ६८ लाख रुपैयाँमा महादेव खिम्ती र मिचिको जेभीले जिम्मा लिएको हो।०७० जेठदेखि काम सुरु भएको नौ महिना बित्दा ३० प्रतिशत (करिब सात सय मिटर) मात्र निर्माण भएको छ। निर्माण कम्पनी भने निर्धारित मितिमै काम सकिने दाबी गर्छ। ‘हामी जेठ मसान्तभित्र पूरा गरिसक्छौं,’ परियोजना म्यानेजर वैभव पाण्डे भन्छन्, ‘सोहीअनुरूप कामदार व्यवस्थापन गर्दै छौं।’
जामका कारण नौबिसेबाट दूध, फलफूल, सागसब्जी काठमाडौं पुर्या एर बेच्ने स्थानीय किसान पनि मर्कामा परेको राजनीतिक कार्यकर्ता रामराजा पाण्डे बताउँछन्। ‘खेतीकिसानी गरेर छाक टार्नेको रोजीरोटी खोसिएको छ। घरैबाट काठमाडौं जागिर खान जानेहरू मर्कामा छन्,’ उनी भन्छन्। जामकै कारण दैनिक उपभोग्य सामान बेलामा नपुग्दा काठमाडौंबासीले पनि तनाब झेल्नुपर्छ। समस्याबारे माथिल्लो निकायमा जानकारी भए पनि कसैले चासो नदिएको गुनासो सर्वसाधारण गर्छन्।

नागरिक न्युज डट कमवाट