नौबिसे-नागढुंगा सडक मर्मत २ सातादेखि रोकियो

571 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, फाल्गुन २८ – ठेकेदारको लापरबाहीका कारण नौबिसे-नागढुंगा खण्डको मर्मत दुई सातादेखि रोकिएको छ । फागुन १४ देखि कुनै काम हुन नसकेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

मर्मत सम्पन्न गर्न तीन महिना मात्र बाँकी रहँदा ३५ प्रतिशत मात्रै काम सकिएको कार्यालयका इन्जिनियर गागल भण्डारीले जानकारी दिए । ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण कार्यादेश पाएको ९ महिनामा ३५ प्रतिशत मात्र काम भएको छ ।

कालोपत्रे भत्केर जीर्ण बनेको सडक १० ठाउँमा गरी एक हजार ७० मिटर ढलान गर्नुपर्ने भए पनि ४ ठाउँमा करिब तीन सय ५० मिटर मात्र काम सकिएको उनले बताए । ‘ढलान भएको एक ठाउँमा मात्र दुईतर्फी भएको छ,’ उनले भने, ‘बाँकी एकतर्फी छ ।’ खत्री पौवामा ९० मिटर दुईतर्फी ढलान भएको हो । झर्‍याप्ले खोला, सिस्ने खोला र गणेश मन्दिरमा एकतर्फी ढलान भएको छ । ढलान गर्न बाँकी ६ ठाउँमा कामै सुरु भएको छैन ।

महादेव खिम्ति-मिचिको कम्पनीका ठेकेदार सुरेश शाह र रवि सिंह धामीले मर्मतमा ढिलासुस्ती र लापरबाही गरेका हुन् । दुई ठेकेदारले संयुक्त रूपमा पौने ६ करोडमा मर्मत ठेक्का लिएका थिए । संविधानसभा चुनावमा शाह एमाओवादी उम्मेदवार थिए । उनी काम गर्ने समयमा चुनाव लड्न गएकाले पनि ढिलासुस्ती र लापरबाही भएको कार्यालयका एक प्राविधिकले बताए ।

सिंह भने कार्यालयको सम्पर्कमा छैनन् । मर्मतमा ढिलासुस्ती नगर्न पटकपटक आग्रह गर्दा पनि तीव्रता नपाएको भण्डारीले बताए । उलने भने, ‘मैले पटकपटक काम गर्ने भए तीव्र गतिमा गर्नुस्, होइन भने गर्दिनँ भन्नुस् भनेको छु ।’ काममा ढिलासुस्ती भएको भन्दै डिभिजनले मंगलबार सूचना प्रकाशित गरी यथाशीघ्र काम अघि बढाउन निर्देशन दिएको छ । दुई दिनभित्र काम सुचारु नगरे कारबाही प्रक्रिया अघि बढाएर वैकल्पिक माध्यमबाट निर्माण अघि बढाउने सूचनामा उल्लेख छ ।

वषर्ा लागेपछि डाइभर्सन खोलेर गर्नुपर्ने (चौडा पारेर) काम रोकिएपछि ढलानको काम पनि रोकिएको हो । डाइभर्सन खोलेका ठाउँमा पानी पर्दा हिलो र चिप्लो भएपछि राजधानी प्रवेश प्रमुख नाका अवरुद्ध हुने गरेको छ ।

ढलान गर्न खोलिएको करिब पाँच सय मिटर डाइभर्सन पानी परेपछि हिलो र चिप्लो भएको प्रहरी निरीक्षक कृष्ण चन्दले बताए । ‘पानी परेपछि नयाँ डाइभर्सन खोलिएको सडक बग्न थाल्छ,’ उनले भने, ‘त्यही लेदोमा गाडी फस्दा सडक घन्टौं अवरुद्ध हुन्छ ।’ यही कारण राजधानी आउजाउ गर्ने यात्रुले सास्ती खेप्नुपरेको छ ।

डाइभर्सन खोलेर समयमै ढलान नगर्दा रातो माटो भएको कच्ची सडकमा सवारी चिप्लेर जाम हुने गरेको हो । लोड बोकेका ठूला सवारीले कच्ची सडकमा खाल्डो पार्ने र साना सवारी फस्ने गरेको प्रहरीले जनाएको छ । ‘गाडी चिप्लन थालेपछि न अघि बढ्छ न पछि हट्छ,’ चन्दले भने । दैनिक हजारौँ सवारी आउजाउ गर्ने उक्त सडकमा एउटा गाडीबीच सडकमा अलपत्र पर्दा अन्य सवारीसमेत घन्टौँ जाममा बस्नुपरेको हो ।

डाइभर्सन निर्माण गर्दा कटिङसमेत नमिलेकाले ढिस्कै खस्ने गरेको छ । ‘प्रहरीको काम बाटो सफा गरेर बस्ने भएको छ’, चन्दले भने, ‘वषर्ातअघि नै ढलानको काम नसकिए बिजोक हुन्छ ।’ डाइभर्सन नखोली ढलान थाल्दा सवारी जाम भएर यात्रुले सास्ती पाउने भन्दै कार्यालयले ठेकेदारलाई डाइभर्सन खोलेर काम अघि बढाउन निर्देशन दिएको थियो । ठेकेदारले वर्षात मुखमा डाइभर्सन थाले पनि सडक ढलान नगर्दा अवरुद्ध हुने गरेको हो । सडक जाम भएर यात्रुले सास्ती पाउन थालेपछि ट्राफिक प्रहरीले माइक्रोसम्मका साना सवारीलाई गल्छी हुँदै नुवाकोट, ककनी भएर राजधानी पठाउनुपरेका थियो ।

ठेकेदार शाहले भने ससानो काम भएकाले गरेको नदेखिएको बताए । उनले भने, ‘काम गर्न थाल्यो, प्रशासन, सवारी, डिभिजन कार्यालय र स्थानीयवासीको चाप हुन्छ ।’ काम गर्दागर्दै पनि अनावश्यक दबाब दिने गरेको उनले बताए इ कान्तिपुर डट कमले खवर लेखेको छ ।