एमाले क्षेत्रीय अधिवेशनमा तीन हेलिकप्टर चार्टर

561 पटक पढिएको

सम्पादक: Dhadingnews.com

helicaptor

धादिङ, चैत्र २ – एमालेले क्षेत्रीय अधिवेशन उद्‌घाटनमा अतिथि ल्याउन/लान शनिबार तीनवटा हेलिकप्टर चार्टर गरेको छ । पार्टी उपाध्यक्ष तथा उपप्रधान एवं गृहमन्त्री वामदेव गौतम, सभासद राजेन्द्र पाण्डे र अधिवेशनका केही प्रतिनिधिलाई भव्यतासाथ अधिवेशनमा लगिएको हो ।

उनीहरू काठमाडौंबाट हेलिकप्टरमा कार्यक्रमस्थल आएका थिए । सदरमुकामबाट गाडीमा दुई घन्टामै पुग्न सकिने सल्यानकोट-८ मा भएको कार्यक्रममा जान फजुल खर्च गरिएकामा कार्यकर्ता नै असन्तुष्टि जनाइरहेका थिए ।

क्षेत्र नम्बर १ का अधिकांश गाविसमा मोटरबाटो पुगेको छ । त्यसमाथि राजधानीसँगै जोडिएको जिल्लामा हेलिकप्टरको तामझामसाथ नेता आएको भन्दै एक जिल्ला सदस्यले गुनासो गरे ।

सबैभन्दा पहिला गृहमन्त्री गौतम डाइनास्टिक एयरबाट आए । उनले कार्यक्रम उद्घाटन गरी भाषण गरिरहँदा श्री एयरलाइन्सबाट पाण्डे आइपुगे । उनीसँगसँगै फिस्टेल एयरबाट केही कार्यकर्ता अवतरण गरे ।

कार्यक्रमस्थल नजिकै बारीको गरामा तीनवटा हेलिकप्टर बसेपछि अधिवेशनमा आएका प्रतिनिधिहरूको भीड रमिता हेर्नतिर लागेको थियो । शुक्रबार साँझसम्म जिल्लामै रहेका सभासद पाण्डे शनिबार दिउँसो हेलिकप्टर चढेर आएका थिए । उनीहरू करिब एक/एक घन्टा अधिवेशनमा बसेर राजधानी फर्किए ।

केही समयअघि उक्त क्षेत्रमा एमाले नेता शिव थापाको हत्या भएको थियो । उनको शव लैजान गाडीसमेत समयमा व्यवस्था भएको थिएन । ‘तर, पार्टी कार्यक्रममा तीन/तीनवटा हेलिकप्टर चार्टर गरेर नेताहरू आएको देख्दा अचम्म लाग्यो,’ कार्यकर्ता अम्बिका रूपाखेतीले भनिन् ।

एमाले जिल्ला अध्यक्ष खेम लोहनीले भने प्रमुख अतिथि गौतमलाई मात्र पार्टीले हेलिकप्टर व्यवस्था मिलाएको दाबी गरे ।

‘अन्य साथीहरू आफैं व्यवस्था गरेर आउनुभएको हो,’ उनले भने, ‘अरू हेलिकप्टरमा आउने कुरा मलाई पनि थाहा थिएन । जिल्लाका तीनवटै क्षेत्रमा पार्टीले चुनाव जितेपछि साथीहरू उत्साही भएर हेलिकप्टर चढेको हुनसक्छ इ कान्तिपुर डट कमले खवर लेखेको छ ।