सन्दर्भ होलीको

621 पटक पढिएको

सम्पादक: Dhadingnews.com

संगिता आले मगर
नेपालमा हरेक कामकाज भनेको समयमा नभए पनि लोड सेडिङ समयमै हुन्छ अझ कुनै कुनै काम त समय भन्दा अगाडिदेखि नै सुरु हुन्छ भनेर एकजनाको फेसबुक वालमा देखेको थिएँ । साँच्चै हुन पनि हो । हरेक विकास निर्माणका कामहरु तोकिएको समयमा नहुनु, पञ्चवर्षीय योजनाहरु पाँच वर्ष पुग्दा पनि सुरुवात मात्रै भएर विलिन हुनु । यतिका वर्षसम्म संविधानको ‘स’ पनि नलेखेको देखे पनि लोडसेडिङ भने समयमै भएको देख्दा अचम्म मान्नु स्वभाविक नै हो । हरेक कामका जिम्मेवार व्यक्तिले काम नगरे पनि अहिलेका कलिला नानी बाबुले भने समयभन्दा पनि अगाडि नै काम सुरु गरेको देख्दा म पनि छक्क छु । हुन त बनाउन वा सपार्न पो गाह्रो त विगार्न भत्काउन त के गाह्रो भन्छन् कतै त्यै भएर पो हो कि ?
हरेक वर्षको लगभग अन्त्यतिर आउने रंगहरुको पर्व भनेर चिनिने होली पूर्णिमा आउन लगभग एक महिना अगाडिदेखि लोला हान्न सुरु गर्छन् आजकालका केटाकेटी । हुन त ठूलाबडाले पहिलेदेखि नै लोला हानेको देखेर नै त होलान् सिको गरेका ति नानी बाबुहरुले पनि । तर यी र यस्ता प्रवृत्तीहरु विल्कुलै विकृतिहरु हुन् । यस्ता काममा प्रायजसो केटी भन्दा पनि बढी मात्रामा केटाहरु नै अघि बढेको पाइन्छ भन्दा कसैको दुईमत नरहला । हुन त त्यस्ता काममा अघि नबढ्ने केटाहरुले सुन्दा केटीहरु पनि कुनै कम हुँदैनन् भन्लान् तर जस्ले जे जे भनेपनि लोलाको विषयलाई हेर्दा धेरै मात्रामा केटाहरुले नै हान्छन् । केटीहरुले हानेपनि होली लगभग आइसकेको समयमा मात्र हान्छन् त्यस अघि कमै हान्छन् ।
अर्का साथीले आफूलाई बाटोमा हिड्दा लोलाले हानेको प्रसंग कोट्याउँदै विशेष गरी केटी साथीहरुलाई बाटोमा हिड्दा होसियार भएर हिड्न विशेष आग्रह गर्नुभएको थियो । प्रायः केटाहरुलाई लोलाले नहान्ने भएरहोला केटीलाई विशेष होसियारी अपनाएर हिड्न आग्रह गरेको । केटीहरुलाई आग्रह गरे पनि हान्न हुन्न भनेर जान्नु त केटाले नै पर्ने हो नि केटाहरुले हो धेरै लोला हान्ने । हुन त नेपालमा जान्नु पर्ने, बुझ्नुपर्ने मान्छेले कहिले पो बुझेका छन् र ? होलीको दिनमा पनि लोला खेल्न मन नपर्ने कतिपयलाई होली अगाडीदेखि नै लोला खानुपर्दा त कम्ता रिस उठ्दैन । हैन कतिसम्म गर्छन् यी केटाहरुले । हामीलाई पनि त्यस्तै परेको थियो फागुन १७मा । गाउँको घर गएर फर्किरहँदा खै कताबाट आयो खुट्टामा लोलाको पोका । यसो दायाँ बायाँ अगाडी पछाडी हे¥यौँ कोही देख्दैन । त्यस्तै गत आइतबारको कुरा हो म अफिसबाट घर फर्कँदै थिएँ । अफिसदेखि २÷३ जना लोलासहित पछिलागेका रहेछन् । मैले थाहा पाइन । म आफ्नै सुरमा हिडीरहेँ । आधा बाटोमा पुगेको मात्र के थिएँ कम्मरमा बज्जारीयो लोलाको पोका । फरक्क फर्केर हेरेँ ३जना १०÷१२वर्षका केटाहरु पर पुगिसकेको थियो । आफ्नो कपडा भने कम्मरबाट तल सबै लुछ्रुप्पै । के गर्नु कम्ता दुखेको थिएन र कम्ति रिस उठेको थिएन त्यतिबेला । बाहिरबाट हिड्दा लोला खानुपर्छ भनेर भित्रि बाटो गाको झन् बेकाम् । सहर बजार जहाँ बाक्लो घरहरु छ । यो बेलामा त्यस्ता ठाउँमा त झन् केटी मात्रै हिड्न अलि बढी नै जोखिम होला । घरको कुना काप्चामा लुकेर लोला हान्यो अनि लुक्यो । यति बाक्लो बस्तीमा कस्ले देख्ने लोला हान्ने मान्छे ? जे जस्तो भएपनि हामीले हाम्रो संस्कृतिलाई जोगाउने नाममा विकृति नल्याऔँ फागुपूर्णिमाको शुभकामना ।