एमालेका करोडपति कामरेड र तीन हेलिकप्टर प्रसङग
560 पटक पढिएको
केदार सुवेदी ,
एमाले दोस्रो संविधान सभा निर्वाचनमा दोस्रो ठूलो दल भएपछि दुई सय ४० वटा निर्वाचन क्षेत्र रहेमध्येको राजधानीसँग सीमा जाडिएको जिल्ला धादिङको एउटा गाउँ जहाँ दुईतिरबाट बाटो पुग्छ, एउटा क्षेत्रीय अधिवेशनमा एमालेका नेताहरुले एकै साथ तीनवटा हेलिकप्टर रिजर्भ गरेर मान्छे ओसारप्रसार गरेको घटना सन्दर्भमा अखबारहरुले त्यसबेला प्रकाशित व्यङ्ग्य्चित्र (अन्नपूर्ण ३ चैत) मा उद्धरण । अर्को कम्युनिष्ट पार्टी एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाजिम्पाटको आफ्नो निवासबाट आधा घण्टाको समयमा पुगिने कीर्तिपुरको आफ्नो निर्वाचन क्षेत्रमा लाजिम्पाटबाट विमानस्थल पुगी त्यहाँबाट हेलिकप्टर चढेर गएका घटना एउटा मिथक जस्तै बनेको थियो । यो निर्वाचनमा प्रचण्ड एक्लैले एक करोड बराबरको हेलिकप्टर खर्च गरेको पछि सार्वजनिक भयो । कीर्तिपुर त्यहीमध्येको एउटा उडान हो जसले उनलाई हवाइ नेतामा परिचित गराएको थियो । चार्टर गरेर उनले उडाएको हवाइजहाज जसमा नेपाली काँग्रेसका सुशील कोइरालाले समेत आफ्नो गृह जिल्ला जान प्रचण्डबाट लिफ्ट पाएका थिए, त्यो पनि धेरै चर्चितमध्येको रह्यो । यो व्यङ्ग्यचित्रमा परेको प्रचण्डको सेखी झारिएको कुरा तीन उडान सम्बन्धका थिए, जो एमालेका नेताहरुले जिल्लाभन्दा पनि सानो अधिवेशनमा सहभागीहरुलाई ओसार्ने काम गरे । प्रचण्ड त तैपनि अध्यक्ष थिए, यहाँ त उपाध्यक्ष, पोलिट ब्यूरो र अझ एउटा विभागका साधारण सदस्यले यो काम गरे ।
क्षेत्रीयस्तरको एउटा कार्यक्रममा तीन तीनवटा हेलिकप्टर प्रयोग हुनु सामान्य कुरा होइन । यी सबै निजी खर्चमा थिए, त्यसकारण पनि एमाले सिङ्गो पार्टी कति धनी भएछ भन्ने त्यसका सदस्यहरुले देखाएको रमिता आफैँ एउटा उत्तर बन्यो । धादिङको यो गाउँका जनताले चाँहि प्रत्यक्ष देख्न पाए । अर्को चित्र पनि त्यस्तै बन्यो । अघिल्लो दिनसम्म त्यतैका सार्वजनिक कार्यक्रममा रहेका नेता रातारात गाडीबाट काठमाडौं आए र भोलिपल्ट हेलिकप्टर लिएर त्यहाँ पुगे । अखबारमा त्यो गाउँको खेतमा तीनवटा हेलिकप्टर लहरै राखिएको र तिनले दिनभरि नै गाउँलेका घरधुरीमा छोयो छोयो भन्नेगरी उडान र अवतरणको काम भइरह्यो । त्यो गाउँमा एउटा हेलिकप्टर आउनु भनेको आफैँमा देवताहरुले चढ्ने पुष्प विमानका रुपमा लिइन्थ्यो । तर यो पटक आफ्नै खेतबारीमा एकै पटक तीन तीनवटा विमान अवतरण भएको र उड्दै बस्दै गरेको दृश्य आफ्नै आँखाले हेर्न पाउँदा स्थानीय जनताले यसलाई अभूतपूर्व नै माने । यी हेलिकप्टर एकैचोटि अवतरण भएका होइनन्, आलोपालो गर्दै त्यहाँ पुगेका हुन् । जब एउटा हेलिकप्टर धुलो उडाउँदै अवतरण गथ्र्यो, मुख्य अतिथि पनि भाषण बन्द गरेर त्यता नजर दिन्थे । स्थानीयले अधिवेशनभन्दा हेलिकप्टरप्रति आकर्षण देखाउँदै त्यतै झुम्मिन थालेपछि कसका कुरा कसले सुन्ने भन्ने सीमा नै रहेन । त्यसदिनको यो हेलिकप्टर उडानको प्रत्यक्ष वर्णन सञ्चार माध्यमहरुबाट त्यसरी नै भयो । सेनाले आफ्नो सैनिक दिवसमा टुँडिखेलमा देखाएको हेलिकप्टर परेडभन्दा पनि यो बढी आकर्षित बन्न गयो । राजधानीमा हेलिकप्टर उडेको आवाजले कसैलाई प्रभाव पार्दैन थियो । तर यो गाउँको कुरा भएकोले पनि होला जो कोही पनि आकाशतिरै फर्किएका हुन्थे भन्ने समाचारमा आए । यो अधिवेशन सफल वा असफल के भयो हेलिकप्टर जात्रा चाँहि गाउँमै पुग्यो । एकपटक त अधिवेशन स्थलमा टाँगिएको पाल नै उड्यो, तर कसैले दुःख मानेनन् । ती मितिको रमिता थिएन यो । पछि पैसाको हिसाब हुँदा पूरै १६ लाख खर्च भएछ । हेलिकप्टरको न्यूनतम भाडा प्रतिघण्टा दुई लाखको हाराहारीमा हुन्छ । त्यो रकम उनीहरुले डलरमा बुझ्छन् ।
नजिकमा रहेकाहरुलाई लागि त यो ठूलो उत्सव बन्यो, तर टाढा रहेकाहरुले चाँहि कतै के अनहोनी भएछ, कुनै ठूलै दैविक प्रकोप परेछ कि भन्दै जिज्ञासा प्रकट गरिरहे । तीनवटा हेलिकप्टर बस्दै उड्दै र फेरि बस्दै उड्दै गर्दा विपत्मा परेकाहरुलाई उद्दार गरिएको रुपमा पनि लिइयो । केही पहिले नेपाली काँग्रेसका एक सभासद राजीवविक्रम शाहले आफ्नो जिल्ला जाजरकोट आरुमा बम विष्फोट भएर घाइते भएकाहरुलाई आफ्नो निजी खर्चमा हेलिकप्टर लगेर तिनले शीघ्र र सुविधा सम्पन्न अस्पतालमा उपचार गराउने काम सम्पन्न गरेका थिए । त्यसदिन धादिङको आकाशमा यसरी हेलिकप्टर घुम्दा कतै त्यस्तै केही परिआएछ कि भन्ने शंका हुनु स्वभाविक थियो । पछि क्षेत्रीय अधिवेशनका सहभागीलाई ओसार पसार गराइएको भन्ने बुझेपछि उनीहरु आश्वस्त भए । यी कुरा पनि यो हेलिकप्टर प्रसङ्गका समाचार विवरणमा उल्लेख भइरहे । मोटर पुगेको ठाउँमा नेताहरु जम्मा भए भने गाडीको लाइन लाग्छ, तर जब हेलिकप्टरकै लाइन सुरु हुन्छ त्यसबेला शंकाहरु जन्मिन्छन् । नेतृत्वले आफ्नो पहुँच देखाउन हेलिकप्टरको लाइन लगाएका हुन् भन्ने नबुझेसम्म यो जिल्ला त्यसकारण पनि दिनभरि जस्तो आतंकित भइरह्यो । अझ अधिवेशनमा सहभागी हुन आएकाहरुका आफन्त त झनै शंसकित बने । उनीहरुलाई वस्तुस्थिति बुझाउन अधिवेशनका सहभागी घर फर्किएपछि मात्र सम्भव हुन्थ्यो । त्यसो हुन पूरै दिन पर्खन पर्दथ्यो । त्यसकारण पनि स्थानीय जनता आफ्नो कामै छाडेर दिनभरि नै बुझबुझारथमा लागे ।
धादिङमा त्यसदिन फैलिएको हेलिकप्टरको धङ्धङी त्यो जिल्लामा मात्र सीमित रहेन । सारा देशले यसप्रति चासो देखायो । राष्ट्रिय अखबारका मूल शीर्षक बने भने सम्पादकलाई पत्र र फेसबुकमा यसैका बारे प्रतिक्रिया प्रकट हुन थाल्यो । अखबारमा सम्पादकीय पनि यसैमा केन्द्रित हुन थाले । त्यसकारण पनि ती नेताहरुले यसलाई सामान्य भने पनि यो कतिपय दृष्टिकोणले असामान्य रहेछ भन्ने ठान्न सर्वसाधारण बाध्य भए । सामान्य कुरामा यस्तो प्रतिक्रिया हतपत आउँदैन । अखबारका सम्पादकीयमा एउटा सत्तारुढ दल नेकपा एमालेको शनिबार सम्पन्न एउटा जिल्लाको क्षेत्रीयस्तरको कार्यक्रमले राष्ट्रिय ध्यान खिच्यो । त्यसतर्फ सबैको ध्यान खिचिनुको एउटै कारण थियो, कार्यक्रममा सहभागी प्रमुख अतिथिदेखि अन्य नेता कार्यकर्तासम्म हेलिकप्टर चढेर कार्यक्रममा पुग्नु । प्रमुख अतिथि एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री वामदेव गौतमसँगै सभासद राजेन्द्र पाण्डे लगायतका एमाले नेता कार्यकर्ता जब धादिङको सल्यानकोटमा तीन हेलिकप्टरसहित उत्रिए, उपस्थित आम सर्वसाधारण मात्र होइन, स्वयं एमालेका कार्यकर्ताहरु पनि आश्चर्यमा परे । कतिपय एमाले कार्यकर्ताले कार्यक्रमस्थलमै टीकाटिप्पणी गर्दै नेताहरुले गरेको फजुल खर्चमाथि आफ्नो विचार प्रस्तुत गरे । तर यो घटना केही स्थानीय कार्यकर्ताले असन्तुष्टि पोख्ने विषय मात्रै बन्नुहुन्न । यसले हाम्रै राजनीतिक नेतृत्वमा हुर्कंदो विलासी र फड्किँदो प्रवृत्तिलाई पुनः उजागर गरेको छ ।
सदरमुकामबाट जम्माजम्मी दुई घण्टाको मोटरबाटो भएको र त्यसमाथि पार्टीको क्षेत्रीयस्तरको कार्याक्रममा जान ठूलो धनराशी खर्चेर हेलिकप्टर चार्टर गर्नुले कहीँ कतैबाट औचित्य पुष्टि गर्दैन । बरु यसले अनेक असन्तुष्टि र प्रश्न जन्माउँछ । क्षेत्रीयस्तरको कार्यक्रममा जाँदा हेलिकप्टर चार्टर गर्ने आर्थिक स्रोत के हो ? त्यो खर्च पार्टीको हो वा व्यक्तिको ? हजारौं कार्यकर्ताको लेवी र चन्दाबाट चल्ने पार्टीले क्षेत्रीयस्तरको सम्मेलनमा जाँदा हेलिकप्टर चढ्ने हैसियत राख्छ ? हेलिकप्टर चार्टर प्रकरणले यस्तो थुप्रै प्रश्न उठाएको छ र आमरुपमा समाजमा बढी रहेको भड्किलो प्रवत्तिलाई प्रोत्साहित गरेको छ । अरु त अरु एमालेकै पनि धेरैले यो कुरा पचाउन सकेनन् । सचिव शंकर पोख्रेलका अनुसार यो धेरै अस्वाभाविक काम हो । पार्टीको एउटा सानो र गाउँतहको कार्यक्रममा एकैपटक तीनवटा हेलिकप्टर त्यो पनि सोखवस त्यहाँ उतार्नु भनेको सामान्य कुरा होइन । उनले व्यक्तिगत रुपमा कसैले खर्च ग¥यो भने पनि त्यसको प्रभाव के पर्छ भन्ने ख्याल गर्नुपर्ने बताए । तर हेलिकप्टर उडाउनेहरुले भने कुनै प्रतिक्रिया दिएनन् । उनीहरुका लागि यो काम अत्यन्त स्वाभाविक र सक्नेले गर्नेमध्येको एउटा हो । हामीले सक्यौँ र ग¥यौं, सक्छौ भने तिमीहरुले पनि गर, तर यसलाई अस्वाभाविक चाँहि नभन भन्ने मानसिकता उनीहरुमा रहेको देखियो ।
यो हेलिकप्टर सयरकर्ताहरुको आर्थिक हैसियत के हो भन्ने व्यापक चर्चा चलिरहँदा त्यस्तो हैसियत पनि देखाइयो । यो सयरको दुई दिनपछि यो दलका उपाध्यक्ष वामदेव गौतमको सम्पत्ति सर्वाजनिक भयो । त्यसमा गौतमको सम्पत्ति सार्वजनिक भयो । त्यसमा तीनवटा मात्र होइन धेरैवटा हेलिकप्टर उडाउन सक्ने सम्पत्ति रहेछ । यसले करोडपति कम्युनिष्ट भन्ने अर्को परिचय गरायो । अरुले पनि आफ्नो हैसियत देखाउँदै जालान् तर गौतमको चाँहि आयो । त्यसले नेपालका कम्युनिष्टहरु करोडबाट अर्बपतितर्फ लागेछन् भन्ने बुझाउँछ । गौतम आफैँ सार्वजनिक गरेको सो विवरण अनुसारःबर्दियाको डेउडा कलामा छोरा हरिदेवको नाममा तीन कठ्ठा जग्गा, राजधानीको बालकुमारीस्थित निर्माणाधीन मेगास सिटीमा पत्नी तुलासाको नाममा ५० लाख रुपैयाँको फ्ल्याट, ललितपुरको छम्पीमा ७ आना दुई पैसा जग्गा, बुहारी ताराको नामा काठमाडौंको साग्ला गा.वि.स.मा एक रोपनी जग्गा र भरतपुरमा छोराको नाममा १३ लाख ३३ हजारको जग्गा, बुहारीकै नाममा हुण्डाइ आई २० गाडी । बाबुर र छोराको कुल सम्पत्ति करोड भन्दा बढी ? हिराको माला एक सेट । बैंकमा छोराको नामा ९६ लाख नगद, आफ्नै नाममा १ लाख, पत्नी तुलसाको नाममा बैंक तथा वित्तीय संस्थामा ११ लाखको सेयर, नबिल बैंकको एक करोड रुपैयाँ ऋणमध्ये ५० लाख तिरिसकेको ।
सम्पत्तिको स्रोत बुहारीले ल्याएको दाइजो, स्वआर्जन, पारिश्रमिक र पैत्रिक रहेको । गौतम आफैँले दिएको विवरण हुँदा यसलाई अन्यथा मान्नुपर्दैन । आर्थिक स्रोतमा बुहारीबाट दाइजो ल्याएको कुरा पनि स्वीकारिएको छ । त्यसमाथि हीराको हार पनि रहेको बताइएको छ । अब अनुमान गरौं गौतम कति धनी अर्थात् कस्ता करोडपति कामरेड रहेछन् । यो विवरण हेर्दा उनले तपसिलका विवरण सहिछन् । गलत भए कानुन बमोजिम सहुँला बुझउँला समेत भनेका हुँदा उनको यो बोल विवरण अकाट्य छ । यो देखाइएको सम्पत्ति हो । यसले सरकारको सम्पत्ति शुद्धीकरणसम्बन्धी दफा समेत आकर्षित गरेको हुनुपर्छ । यी कमरेडले करोडमा खेल्ने काम पचासको दशकदेखि नै सुरु गरेका थिए । उनको पार्टीले २ करोड ५० लाख नगर र गाडीभरी सुरासुन्दरीका कारोबार गरेको भनी बताइसकेको थियो र नेपालमा उनी त्यही दलले घोषणा गरे अनुसार एक नम्बरी भ्रष्टाचारी हुँदै हुन् । यति धेरै सम्पत्ति भएको व्यक्तिले २–३वटा हेलिकप्टर रिजर्भ गरे भने के आश्चर्य ।
आर्थिक दैनिक डट कमबाट