धादिङबाट ४० हजार मेट्रिकटन तरकारी निर्यात

607 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङबाट ४० हजार मेट्रिकटन तरकारी निर्यात

धादिङ, – राजधानी काठमाडौ, पोखरा, नारायणगढ लगायतका शहरमा भएको शहरी विकासका कारण दिनानु दिन जनघनत्व वृद्धि भएको छ । ती शहरहरुका खेती योग्य जमिन  घडेरीमा विक्री भइइ आधुनिक शहर तथा कंक्रिट जंगल विस्तार भएसंगै देशको मुख्य राजमार्गमा पर्ने धादिङ जिल्लाका किसानहरु तरकारी उत्पादनमा व्यस्त भएका छन् ।

तराई, पहाडी र हिमाली हावापानी, वजारको सहज पहुंच भएका कारण मुख्य राजमार्ग क्षेत्र नौविसे, छत्रेदेउराली, जीवनपुर, केवलपुर, गोगनपानी, थाक्रे, तर्सपु गाविसका किसानहरुले व्यावसायिक रुपमा ताजा तरकारी उत्पादन गर्दै आएकाछन् । त्यसैगरी धुषा, जोगीमारा, वेनिघाट, सलाङ, नलाङ, कुम्पुर, कललेरी, महादेवस्थान, गजुरी, पिडा, किराञ्चोक, वैरनी, भुमेस्थानका गरी २० गाविसका १० हजार भन्दा बढी किसान परिवाले ४० हजार मेट्रिकटन ताजा तरकारी विक्री गरी १ अर्व रुपयां भन्दा बढी वार्षिक भित्र्याउने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

किसानहरुले हिउंदे, वर्षे र वसन्ते तरकारीमा काउली, बन्दा, कांक्रो, गोलभेडा, फर्सी, लौका, घिरौला, वोडी लगायतका गांठे तथा जरे, फल र पात गरी ३६ प्रकारकार तरकारी खेती गर्दै आएकाछन् । पछिल्लो समय भित्रिएको प्रविधिको उपयोग गरी वेमौसमी तरकारी उत्पादनमा बढी जोड दिन थालेकोले तरकारी उत्पादन पकेट क्षेत्र विकास गरी र नयां क्षेत्रमा रणनीति योजना तजुर्मा गरी अघि बढेको  वरिष्ठ कृषि विकास अधिकृत होमराज विष्टले बताए ।

भौगोलिक विकटता, कम प्रविधिक जनशक्ति, कम कार्यक्रमका भएकाले किसानहरुले चाहेको आवश्यकता अनुसार प्रविधिक सेवा र कार्यक्रम सहयोग दिन सकेका छैनौ वागवानी विकास अधिकृत केशव घिमिरेले बताए ।

-कारोवार दैनिकवाट