बलात्कारमा परेकी महिलाको जागिर गयो

500 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, चैत ११ – धादिङको ढोलामा भतिज नाता पर्ने व्यक्तिवाट बलत्कारमा परेकी एक महिलाले न्यायको लागि अदालत गएका कारण विद्यालयमा खाईरहेको जागिरवाट हात धुनु परेको छ ।

ढोला गाविस वडा नम्बर २ सिम्खडागाउँको एउटा प्राथमिक विद्यालयमा पियन पदमा कार्यरत ती महिलालाई विद्यालयका प्रधानाध्यापकले मुद्दा मामिलामा  लागेको भन्दै जागिरवाट वर्खास्त गरेका हुन ।

आफ्नो पार्टीलाई भोट नदिएको भन्दै सञ्जिव सिम्खडाले काकी नाता पर्ने ती २५ बर्षकी एकल महिलालाई गएको मंसिर ८ गते बलात्कार गरेका थिए ।

नेपाली कांग्रेसका कार्यकर्ता समेत रहेका सञ्जिव विरुद्ध मंसिर १३ गते धादिङ जिल्ला अदालतमा जवरजस्ती करणीको आरोपमा मुद्दा दायर भएको महिला सेवा समिति धादिङले जनाएको छ । आरोपित सञ्जिव भने फरार रहेका छन ।

सञ्जिवकाविरुद्ध दायर गरिएको मुद्दा फिर्ता नलिएको भन्दै समुदायको दवावमा विद्यालयले आफूलाई चैत ९ गते पियन पदवाट निकालेको ती महिलाले बताईन् । निम्न आयस्तर भएका कारण बिद्यालयमा पियन पदमा काम गर्दै आएकी ती महिलाले एकल महिला भएका कारण आफूमाथि पटक पटक अन्याय हुंदै आएको वताएकी छिन ।

पियनको जागिरबाट २ छोरा छोरी र सासुको पालन पोषण र घर व्यवहार चलाउंदै आएकोमा जागिर गएपछि उनको  परिवारको बिचल्ली भएको छ । आफूलाई मुद्दा फिर्ता लिईदिन पटक पटक धम्की आउने गरेकोमा मुद्दा फिर्ता लिन नमानेकै कारण विद्यालयले जागिरवाट जवरजस्ती निकालेको भन्दै उनले न्यायका लागि महिला अधिकारकर्मी र सरोकारवाला निकायसँग आग्रह गरेकी छिन ।

घटनाका बिषयमा जिल्ला शिक्षा अधिकारीलाई सचेत गराउंदै न्यायको खोजीमा रहेकी एकल महिलालाई जुनसुकै कारणवाट जागिरवाट निकालेको भएपनि तुरुन्त सोही पदमा पुर्नवहाली गर्न निर्देशन दिईसकिएको धादिङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेलले बताउनुभयो । विद्यालयले तुरुन्त पुर्नवहाली नगरे सम्वन्धित पक्षलाई आवश्यक कानूनी कारवाही गरिने प्रजिअ पोखरेलको भनाई छ ।

जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले महिलालाई विना सर्त पुनःवहाली गर्न  प्रधानाध्यापकलाई निर्देशन दिएको जानकारी दिनुभयो । विद्यालयको आर्थिक अवस्था कमजोर भएका कारण तलव खुवाउन मुस्किल भएकाले ती महिलालाई निकाल्नु परेको विद्यालयका प्रधानाध्यापकको भनाई छ ।