गिट्टी फुटाउनेको ज्याला ४८ रुपैयाँ !

492 पटक पढिएको

सम्पादक: Dhadingnews.com

photo

काठमाडौ,  – महादेवबेंसी (धादिङ) खोलाको किनारमा दिनभर गिट्टी कुट्ने मजदुरको ४८ रुपैयाँमात्र छ । उनीहरू यही कमाइबाट जीविकोपार्जन गर्न बाध्य छन् । १५ वर्षदेखि थाक्रे ३ महादेवबेंसीमा गिट्टी कुटेर परिवार पाल्दै आएका कान्छा मगरले झिसमिसेदेखि साँझसम्म काम गर्दा बल्लतल्ल ४८ रुपैयाँ हालत पर्ने बताए । ‘पाखुरामा बल हुनेले त दिनभरमा ५/६ पाथी कुट्छन् होला,’ ८० वर्षीय मगरले भने, ‘हामीजस्ता बूढाले त २/३ पाथीभन्दा सक्दैनौं ।’ पाथीको १२ रुपैयाँमा श्रम बेच्नुपरेको छ । दिनमा सरदर चार पाथी फुटाउनेले बेलुकी ४८ रुपैयाँ पाउँछ ।

पृथ्वी राजमार्गमा पर्ने आग्राखोलामा दुई सयभन्दा बढी मजदुर गिट्टी कुटेर वर्षौंदेखि परिवार पाल्दै आएका छन् । बालुवाबाट मसिना ढुंगा छानेर गिट्टी कुटेर ज्यान पाल्ने मजदुरहरूले गुनासो गरे । मेचीदेखि महाकालीसम्मका मजदुर त्यहाँ भेटिन्छन् । क्रसर उद्योग खुलेपछि १५ रुपैयाँ पाथीबाट घटेर १२ मा झरेको उनले सुनाए । उनका अनुसार सबै कुराको बजारभाउ बढ्छ तर गिट्टीको भाउ कहिल्यै बढ्दैन, बरु घट्छ ।

‘नमरेसम्म खानु त पर्‍यो ।’ १८ वर्षदेखि बगरमा गिट्टी फोरेर हातमुख जोर्दै आएकी मैया आलेले भनिन् । भोजपुरका डिल्लीमान राई पनि सोही बगरमा छाप्रो हालेर यही काममा जुटेका छन् । आफैँले गिट्टी बेच्न पाए पाथीको १८ सम्म पाइने राईले बताए । ठेकेदारले १२ रुपैयाँमा किनेर मजदुरकै आँखाअगाडि १८ मा बेच्छन् । मजदुर आफैंले बेच्दा पनि ठेकेदारलाई पाथीको एक रुपैयाँ र लोड गर्नेलाई तीन रुपैयाँ दिनुपर्ने उनीहरूले बताए । हातका ठेला देखाउँदै माइली बैइजुले भनिन्, ‘गिट्टी नकुटे त भात खान पनि पाइँदैन ।’ पाथीको १२ रुपैयाँमा बेचेर खर्च धान्नुपरेको उनले सुनाइन् । सम्पूर्ण खर्च गिट्टी बेचेर उठाउनुपर्ने उनीहरूले बताए ।

हरेक दिन हातमा फोरा पारेर गिट्टी कुट्ने मजदुरको मासिक कमाइ एक हजार चार सय ४० हुने गरेको छ । ‘अरू काम पाउनेले त खोजेर गर्छन्,’ राईले भने, ‘नपाउँदा गिट्टीकै भर पर्नुपर्छ ।’ उचित मूल्य नपाउँदा महिनाभरि काम गर्दा पनि खानलाउन नपुग्ने उनले बताए । ‘दुःखबिरामी नभएर काम गर्दा त खान पुग्दैन,’ माइलीले भनिन्, ‘हामीजस्ताको कुरा कसले सुन्छ र ?’ क्रसर उद्योगले गिट्टी उत्पादन गर्न थालेपछि दिनदिनै ज्याला घट्दै गएको उनीहरूको बुझाइ छ । स्थानीयवासीको जग्गामा टहरो हालेर बाहिरबाट आएकाले गिट्टी कुट्ने गरेका छन् । स्थानीय मजदुर भने घरबाटै दैनिक बगरमा काम गर्न पुग्छन् । ठेकेदारलाई गिट्टी बेचेको पाथीका हिसाबले बाटो कर, बगरमा बसेको कर बुझाउनु पर्दा मजदुरहरू झन् अप्ठ्यारामा परेका छन् इ कान्तिपुरमा  खवर छ ।