तरकारी पकेट क्षेत्रमा सिमेन्ट उद्योग

455 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ-सरकारका जिम्मेवार निकायबीच समन्वय र मेल नुहँदा आमनागरिकले कतिसम्म सास्ती भोग्नुपर्छ भन्ने उदाहरणमा पछिल्लो पटक धादिङको धुनिवेंसी गाउँ थपिएको छ । कृषि विकास कार्यालयले वर्षौ लगाएर तरकारी पकेट क्षेत्र घोषणा गरेको धुनिबेंसीका खेत बारी अहिले सिमेन्टको धूलो र कंक्रिटले भरिएका छन् । कृषकहरु यसको दोष कृषि विकास र उद्योग मन्त्रालयलाई दिन्छन् ।

यसको कारण पनि छ । नौबीसे(४ धुनिबेंसी र वरपरका करिब ८ सय कृषकले वाषिर्क ५० करोड रुपैयाँबराबरको तरकारी उत्पादन गर्दै आएका थिए । उनीहरुको व्यवसायिक खेतीको उत्साहबाट प्रभावित भएर कार्यालयले तरकारी उत्पादन भण्डार तथा पकेट क्षेत्रसमेत निर्माण गरिदिएको थियो । राष्ट्रिय तरकारी बजार कालीमाटीको वाषिर्क आपूतिमा २० प्रतिशत भन्दा बढी ताजा तरकारी हिस्सा ओगट्ने धादिङको मुटु पनि यही रहेको  छ ।

तर, त्यही मुटुमै अहिले सिमेन्टको धूलो पोलिएको छ । धूवाँधूलोले तरकारी फल्न छाडेको छ । पर्याप्त पानी नहुँदा पनि कृषकले रातदिन नभनी कडा परिश्रम गरेर कम्तीमा १ लाखदेखि ७ लाख रुपैयाँको तरकारी उत्पादन गर्दै आएका थिए । यही तरकारीले उनीहरुको जीवन डोर्‍याएको थियो । उनीहरुसँग जिल्लामै पहिलो व्यावसायिक तरकारीखेती सुरु गरेको इतिहास पनि छ ।

‘वर्षौ लगाएर धुनिबेंसी क्षेत्रलाई ताजा तरकारी पकेटक्षेत्र बनाइयो,’ बागवानी विकास अधिकृत केशव घिमिरे भन्छन्, ‘तर, कृषि विकास र उद्योग मन्त्रालयबीच समन्वय नहुँदा धरापमा पर्‍यो ।’  कारोबार दैनिकमा खबर छ ।