ति बाल सखाहरु अहिले कहाँ के गर्दैछन् ?
763 पटक पढिएको
टंकलाल श्रेष्ठ
मानिस चेतनशिल छ । समय वलवान छ अनि परिवर्तनशिल पनि छ । हिजो भएको कुरा आज हुंदैन र आज भएका कुरा भोलि नहुन पनि सक्छ । प्रकृतिले मानवजातीलाई यति धेरै स्मरण शक्ति दिएको छ जस्का कारण हामीले आफ्नो आँखाले देख्न थाले पछिका धेरै दृष्यहरु लामो समय सम्म मानसपटलमा ताजा राख्न सक्दछौं । एक पटक पुगेको ठाउंको बारेमा हामी अर्को पटक नपुग्दा सम्म त्यहाँको वर्णन गर्न सक्दछौं । बैज्ञानिकहरुले अहिले रोवोट,कप्युटर जस्ता उपकरणको निर्माण गरेर मान्छेले गर्ने काम र स्मरणहरु जोगाउन थालेका छन ।
विगतलाई फर्केर हेरेपनि नहेरे पनि समय आफ्नै गतिमा अघि बढीरहेको हुन्छ । समयको महत्व बुझेको मान्छेले हरेकपलको सदुपयोग र सम्झना गर्ने गर्दछन । दुई दशक भन्दा अघिका केही सम्झनालाई मैले अहिले पनि बिर्सन सकेको छैन किनभने त्यतिवेलाको समय मेरो लागि ज्यादै प्रतिकुल थियो । पलपलमा जोखिम थियो,पढाईलाई निरन्तरता दिनुपर्ने मुख्य काम एकातिर थियो भने अर्को तिर निरंकुश तानाशाही राज्यव्यवस्थाका बिरुद्ध आम नागरिकलाई सचेत र जागरुक वनाउन आफ्नो स्थानवाट सक्रिय हुनुपर्ने जिम्मेवारी थियो । बिद्यार्थी भएकै नाताले दुवै जिम्मेवारी मैले वहन गर्नु थियो र आंफुले सकेजति त्यो जिम्मेवारी वहन गरेको थिएं जस्तो लाग्दछ । त्यो कहाली लाग्दो परिवेशवाट आजको दिनमा आईपुग्न म एक्लैले सफलता हासिल गरेको भने पक्कै होइन । पच्चिस बर्ष अघिका ति दिनहरु अहिले पनि म सम्झिरहेको छु । यतिवेला हामी २०७१ सालको संघारमा आईसकेका छौं ।
मैले गोगनपानी गा.वि.स.को श्री बागबच्छला चुलि मन्दिरको त्यतिबेलाको अस्थायी विद्यालयबाट अक्षर चिन्न सुरु गरेको थिएँ । अहिले त्यो स्थानबाट नजिकै म आफैँले स्थापना गरेर नामाकरण समेत गरेको श्री जनसेवा मा.वि.सञ्चालन भइरहेछ । म त्यस विद्यालयको संस्थापक शिक्षक हुँ । प्रसंग बिद्यालय जिवनकै हो जब मैले कक्षा – २ बाट पढ्न सुरु गर्दाको साथी रामहरी थापा अहिले त्यहि विद्यालयमा प्रधानाध्यापक हुनुहुन्छ । तीन कक्षा सम्मको पढाई गोगनपानीमा सकेपछि कक्षा–४ पढ्नको लागि बैरेनी वजारमा रहेको वागेश्वरी मा.वि.हाल उच्च मा.विका रुपमा संचालन भईरहेको छ । मैले पढन शुरुगर्दा त्यसबखत निम्न मा.वि. मात्र सञ्चालन थियो । त्यस विद्यालयमा भर्ना भएपछि दुई बर्ष सम्म अर्थात कक्षा – ५सम्म साधारण खेलकुदमा जिवन बित्यो । जब कक्षा – ६ पढ्न सुरु भयो । त्यसपछि राजनिति जिवनको सुरु भयो ।त्यति बेला हामी अनेरास्ववियु ( पांचौं) अर्थात अखिल पांचौ मा आवद्ध थियौं । यो बिद्यार्थी संगठन तत्कालिन नेकपा मालेको भात्तृसंगठन थियो । पार्टीको संजाल नपुगेको ठाउंमा समेत हामी पुगेर बिद्यार्थी संगठन निर्माण गर्दै माउ पार्टीको लक्ष्य प्राप्तिका लागि अघि बढिरहेका हुन्थ्यौं ।
अखिल पांचौंको संगठन बिस्तारका क्रममा म श्री महेशधर्म मा.वि. जिवनपुर मछिन्द्र मा.वि. खानीखोला, श्री महालाली मा.वि. सिम्ले, श्री ज्योती मा.वि. पंडितपौवा, श्री सत्यावती मा.वि.आदमघाट, श्री सरस्वती मा.वि. डुम्रीचौर कल्लेरी, श्री महेन्द्रोदय मा.वि.खाल्टे, श्री आदर्श मा.वि. गजुरी, श्री वागेश्वरी मा.वि. रिचोकटार, श्री कालिका मा.वि. किरान्चोक, श्री चन्द्रज्योती मा.वि. विशालटार, श्री भैरवी मा.वि. सुनौलाबजार, श्री शमिभञ्ज्याङ मा.वि. मैदी, श्री सालवास मा.वि. चैनपुर साथै श्री नीलकण्ठ मा.वि. धादिङबेसी, श्री अचने मा.वि. खहरेदेखि श्री तामाङखर्क मा.वि. गुम्दीसम्म संगठन निर्माणको सिलसिलामा पुगेको थिएं । संगठनले खटाएपछि ति ठाउंमा पुग्नु र सांगठनिक गतिविधि संचालन गर्नु मेरो दायित्व थियो त्यसैले त्यति बेला यि विद्यालयहरु मेरा लागि पानी पधेँरा सरी थियो भन्दा फरक पर्दैन ।
त्यति बेला अधिकांश बिद्यालयमा निम्न माविको पढाई संचालन थियो अहिले यि विद्यालयहरु सबैमा उच्च मा.वि.तह सञ्चालन भईरहेका छन् । २५ बर्ष अघिका ति यात्राका क्रममा सँगै बसेका साथीहरुलाई कहिल्यै भुल्न सक्दिन । ति साथीहरुमा रामशरण रेग्मी निवर्तमान जनप्रतिनिधि ( वडा सदस्य), रामशरण थापा र ध्रुव थापा बैदेशिक रोजगारीमा हाल दुवइ, शिव तामाङ,सुमधुर खनाल,रामप्रसाद अधिकारी, शिक्षक, केदार खतिवडा रेशम खेती प्राविधिक, सोमलाल श्रेष्ठ र वैकुण्ठ रिमाल स्थायी शिक्षक, दिपक रिजाल,केशव अधिकारी सिताराम अधिकारी पत्रकार, सुदर्शन खतिवडा बैदेशिक रोजगारीमा कोरिया, मुकुन्द अर्याल वातावरण विज्ञान विषयमा एम एड तहको अध्ययन पुरा गरी कन्सल्टेन्सी सञ्चालन, हेमराज खतिवडा अधिकृत, भवानी खतिवडा शिक्षक, रामचन्द्र सिलवाल डाक्टर (आयुर्वेदिक), एकराज छत्कुली फोकस नेपाल कार्यकारी निर्देशक, चेतनाथ इटनी फोकस नेपाल, भिमसेन सुयल अधिवक्ता, राजाराम शर्मा रेडियो धादिङ व्यवस्थापक, उमा सिंखडा शिक्षक, अच्युत नेपाल व्यापारी, प्रेम पुलामी शिक्षक, अनिल श्रेष्ठ ,पुरुषोत्तम श्रेष्ठ, भुवन श्रेष्ठ व्यवसायी, रामशरण तामाङ शिक्षक, नरोतम अर्याल क्याम्पस प्रमुख, गोकर्ण रुपाखेती सिड्स नेपाल कार्यकारी निर्देशकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँहरु संगै जिल्लाका विभिन्न बिद्यालयमा तत्कालिन बिद्यार्थी राजनितिमा सक्रिय रहनु भएका धेरै जना साथीहरु आज फरक फरक जिम्मेवारी र पहिचानमा हुनुहुन्छ । मेरो सम्झनामा रहनुभएका ति साथीहरुको वारेमा र उहांहरुको अहिलेको परिचयलाई खोज्दै आगामी दिनमा पनि प्रस्तुत गर्दै जानेछु ।
जतिसुकै कठिन अवस्थाका वाबजुद पनि साँगठनिक गतिविधिमा सक्रिय रहन त्यतिबेला मलाई उचित सल्लाह दिने मेरा राजनैतिक अभिभावकहरु त्यतिबेलाका शिक्षकहरु गंगालाल तुलाधर हाल सभासद(भु.पु.शिक्षा मन्त्री) राजेन्द्र प्रसाद पाण्डे हालसभासद (भु.पु.स्थानीय विकास मन्त्री),जगन्नाथ नेपाल नेकपा एमाले वागमती अंचल कमिटी सदस्य, उत्तम कंडेल जिविस धादिङका पुर्व उपसभापती, सोमनाथ अधिकारी (प्यासी) भु.पु.सांसद हाल सहिद मेमोरियल अस्पताल कलंकीको सञ्चालक समितीको अध्यक्ष, डा.वंसीधर मिश्र भु.पु.साँसद, ठाकुरप्रसाद शर्मा भु.पु.जलस्रोत राज्यमन्त्रीलाई पनि म कहिल्यै भुल्न सक्दिन । उहाँहरुको सही मार्गनिर्देशनले गर्दा त्यति बेला मैले साथीहरुको साथ र सफलता पाएको थिएँ । तत्कालिन राजनैतिक जिवनका यादहरुलाई समेटेर आगामी दिनमा थप रहस्यहरुका साथ आउने बाचाका साथ………..