एमाले धादिङ पोखरा मञ्चद्वारा सभासद्हरु सम्मानित

605 पटक पढिएको

सम्पादक: Dhadingnews.com

रञ्जन अधिकारी
पोखरा – कास्की र धादिङका नेकपा (एमाले) सभासद्हरु पोखरामा शनिबार एकै थलोमा सम्मानित भएका छन् । धादिङ पोखरा सम्पर्क मञ्चले शनिबार धादिङ निर्वाचित एमालेका सभासद् तथा कास्कीका सभासद्लाई सम्मान गरेको छ । मञ्चले नयाँ वर्ष २०७१ शुभकामना आदानप्रदान, क्यालेण्डर विमोचन तथा अन्र्तक्रिया कार्यक्रम आयोजना गरी सभासद्हरुलाई सम्मान गरेको हो ।

Pokhara Dhading 2प्रमुख अतिथि एमालेका केन्द्रिय सदस्य तथा कास्कीका सभासद् तुलबहादुर गुरुङले बाँकी नौ दश महिनाको अवधिमा मुलुकले संविधान पाउने विश्वास व्यक्त गर्दै जनताको निरन्तर खबरदारी आवश्यक रहेकोमा जोड दिए । उनले पोखरामा विमानस्थल बन्ने प्रक्रिया सुरु भएकोमा खुशी व्यक्त गर्दै ठूलो गाँठो फुकिसकेकाले अब प्राविधिक कुराहरुलाई टुंगाउनुपर्ने बताए । तीनै क्षेत्र जितेको धादिङ र कास्कीका एमालेका सभासद्लाई एकै ठाउँमा ल्याएर आफ्नो दायित्व नविर्सी काम गर्न सचेत गराउने कार्य गरेकोमा उनले मञ्चलाई धन्यवाद पनि दिए ।

वैकल्पिक केन्द्रिय सदस्य एवं सभासद् चुडामणि जंगलीले सरकाको कार्यशैलीले यो वर्ष संविधान बन्ने छनक नै आफूले नदेखेको बताए । ‘सर्वोच्चमा न्यायाधीश बिदा हुन लाग्दा त्यसतर्फ ध्यान नदिई प्रधानमन्त्री पोखरामा ३० घण्टा बिताउँछन् । होटल सुविधा, भत्ता नलिई सस्तो प्रचारमा भुलेका कोईरालाले राज्य संचालनतर्फ ध्यान दिएका छैनन् ।‘ उनले भने – अहिले मात्रै पाँच जना मन्त्रीहरु मन्त्रालयको काम छोडेर खादा दोसल्ला ओढ्न पोखरा आएका छन् । अनि संविधान बन्छ ?’ उनले धादिङ होस् या कास्की, सबै नेपालकै भएकाले नेपाली भएर चिनिन आग्रह गर्दै धादिङेलीका हरेक समस्यामा आफू सहयोग गर्न तयार रहेको बताए ।

विशिष्ट अतिथि धादिङ क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित सभासद् गुरुप्रसाद बुर्लाकोटीले आफूहरुको दाबी अनुसार नै तीन क्षेत्र रहेको धादिङ जिल्ला दोस्रो संविधानसभा निर्वाचनबाट एमालेको किल्ला बनेकाले अब धादिङको विकासमा योजना नै निर्माण गरी आफूहरु अघि बढ्ने प्रतिबद्धता जनाए । उनले वार्षिक चार अर्ब तरकारी बेच्ने धादिङ व्यवसायिक उत्पादनमा केहि अगाडि बढ्दै गएको उल्लेख गरे । अब काँग्रेस र एमाले सहितका लोकतान्त्रिक दलहरु मिलेर संविधान निर्माण नगरे ईतिहासले धिक्कार्ने उनको भनाई थियो ।

एमालेका युवा नेता तथा सभासद् रविन्द्र अधिकारीले अब नेताहरुले धेरै बोलेकाले जनताले नपत्याउने भन्दै आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिए । उनले २०७० साल नेपालीका लागि महत्वपूर्ण वर्ष रहेको बताउँदै संक्रमण, अव्यवस्था चिरेर जातिय विखण्डन, हिंसालाई पराजित गर्दै यस वर्ष जनताले नयाँ म्याण्डेट दिएकाले २०७१ साल जनताको संविधान निर्माण गर्ने वर्ष रहेको उल्लेख गरे ।

कास्कीकी सभासद् सीता गिरी ओलीले पहिलो संविधानसभाको स्वामित्व ग्रहण गर्दै नमिलेका २० प्रतिशत मुद्धामा सहमतिमा पुगेर एक वर्षभित्र संविधान जारी गर्नुको विकल्प नरहेको बताईन् ।

एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले धादिङका एमाले कार्यकर्ताको कास्कीमा पनि महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै आफूले सक्दो सहयोग गर्ने बचन दिए ।

मञ्चका अध्यक्ष कृष्णबहादुर लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले कास्की क्षेत्र नं. ३ सदस्य गोकर्ण अधिकारी लगायतले बोलेका थिए । उपाध्यक्ष राम बहादुर अर्यालले स्वागत गरेको कार्यक्रमको संचालन सचिव बेनी पाठकले गरेका थिए । सो अवसरमा २०७१ सालको क्यालेण्डरको विमोचन समेत गरिएको थियो । यसैबीच, पार्टी छाडेर नेकपा एमालेमा प्रवेश गरेका एकीकृत माओवादी तथा नेपाली काँग्रेसमा क्रियाशील कार्यकर्ताहरुलाई अतिथिहरुले खादा र अविर लगाएर पार्टीमा स्वागत गरेका थिए ।