महाभारतमा गाँजाखेती रोक्न बिशेष कार्यक्रम ल्याइने

563 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, ३० चैत  – महाभारत क्षेत्रका वस्तीमा गाँजा खेती विस्थापन गर्न विशेष कार्यक्रम ल्याउने तयारी भएको छ ।

दिगो आयआर्जनको उपाय नहुँदा किसानहरु अबैध मानिने गाँजा खेतीतर्फ लागेकाले बिशेष कार्यक्रम ल्याउन लागेको सरोकारवालाले बताएका छन् । सरकार र अरु सरोकारवाला निकायसंग यस विषयमा छलफल भइरहेको धादिङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सभासद तथा पूर्व स्थानीय विकास मन्त्री राजेन्द्रप्रसाद पाण्डेले वताउनुभयो ।

धादिङ र मकवानपुरमा पर्ने महाभारत श्रृङखलामा मकैखेती मात्र हुने र त्यो पनि पाक्न नौ महिनामा लाग्ने हुँदा वर्षेनी खाद्यान्न अभाव हुने गर्छ । खाद्यान्न अभावका कारण किसानहरुले पुस्तौदेखि नगदेवालीका रुपमा गाँजा खेती गर्दै आएका छन् । गाँजा खेतीका कारण थुनामा पर्ने स्थानीयको संख्या बर्षेनी बढ्दै गएपनि आम्दानीको विकल्प नपाउँदा समस्या समाधान हुन नसकेको जानकारहरु बताउँछन् ।

यो क्षेत्रका वासिन्दाको खाद्य सुरक्षाका लागि तरकारी तथा अन्य नगदेवाली विशेष कार्यक्रम सञ्चालन गर्न मकवानपुर क्षेत्र न ४ का सभासद राजाराम स्याङ्तानसंग छलफल भइरहेको पाण्डेले बताउनुभयो । नयाँ आर्थिक वर्षदेखि कार्यक्रम सञ्चालन गर्ने उहाँको भनाई छ । महाभारत क्षेत्रको विकासका लागि पृथ्वी राजमार्गको आदमघाट र त्रिभुवन राजपथको पालुङ जोड्ने सडक प्राथमिकतामा राखेको पनि पाण्डेले बताउनुभयो । सुरक्षा निकायको प्रत्यक्ष पहुँच नपुगेका बस्तीमा भारतीय नागरिकहरुले गाँजाखेतीका लागि लगानी गर्ने गरेका छन् । जग्गाको भाडा र खेतीका लागि चाहिने खर्च दिएर भारतीय तथा केही नेपाली नागरिकले महाभारत क्षेत्रका जग्गाधनीलाई गाँजाखेतीगर्न लगाउने र  निश्चित स्थानसम्म ढुवानी गर्न समेत लगाउने गर्दछन् । यसरी ओसार पसार गर्दा मुख्य व्यक्ति कहिल्यै पक्राउ नपर्ने स्थानीय बताउँछन् ।

मकवानपुरको पश्चिम भेगको १० गाविसका किसानले पाखोवारीमा लगाउँदै आएको अवैध गाँजा र अफिमखेती नियन्त्रणका लागि वैकल्पिक आयआर्जनको रुपमा लागि उनीहरुलाई सरकारीस्तरबाट कुखुराका चल्ला र बाख्रा  वितरण गरिएको छ ।

गाँजा र अफिमको उत्पादन क्षेत्रबाट प्रभावितमध्ये राक्सीराङ गाविस–५ तथा सरीखेत गाविस–७ का करिब एकसय किसानलाई जिल्ला पशुसेवा कार्यालय मकवानपुरले केही समय अघि एक हजार वटा कुखुराका चल्ला तथा जनही एक हजार रुपैयाँ अनुदान वितरण गरेको थियो ।

मकवानपुर जिल्लाबाट सुरु भएको गाँजाखेतीको विकल्पमा बिशेष कार्यक्रम धादिङ जिल्लामा पनि सञ्चालन गर्न सकिने सभासद पाण्डेको भनाई छ । मकवानपुर जिल्ला पशुसेवा कार्यालयले परीक्षणका रुपमा राक्सिराङ गाविस–५ तथा सरीखेत गाविस–७ का किसान परिवारलाई १० वटा कुखुराका चल्ला र पाँच केजी दाना उपलब्ध गराएको छ ।