धादिङमा तीनसय भन्दा बढी घट्ट

1561 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ ः विकासको गतिले निकै फडको मार्दै अघि बढेपनि नेपाली समाजका केही पुराना चलनहरु भने अझै पनि सुरक्षित र संरक्षित हुंदै आईरहेका छन ।
SAM_1152विजुलीको लाईन विस्तार भएसंगै गाउं वस्तिमा विजुली वाट चल्ने कुटानी पिसानी मिल संचालन हुन थालेका छन । नयाँ प्रविधिको विकास संगै परम्परागत पानी घट्टले अझै पनि धेरैलाई आकर्षण गर्दै आईरहेको छ । केही बर्ष अघि सम्म खोलाको किनारमा जताततै देखिने गरेका परम्पराग पानी घट्ट अहिले केही कम भएपनि यस्को प्रयोगमा भने कमी नआएको सर्वसाधरण बताउंछन ।
खोलामा खेर गईरहेको पानीलाई सदुपयोग गरी पानी घट्ट चलाउन सकिने भएकाले पानीको श्रोत भएका स्थानहरुमा अहिले पनि नयां प्रविधिका कुटानी पिसानी मिलको साटो पानीवाट चल्ने घट्ट र मिलहरु चलाउने गरेको बैरेनी ३ का अर्जुन रिमाल बताउंछन । धादिङ जिल्लामा हाल ३ सयभन्दा बढी पानी घट्ट संचालनमा रहेकोमा अधिकांश पानीघट्ट ग्रामीण भेगमा रहेको घट्ट धनी संघ धादिङका अध्यक्ष गोविन्द भण्डारीले वताए ।
गाउं गाउंमा संचालन भईरहेका घट्टलाई आधुनिक वनाउंदै त्यसवाट वहुउपयोगका कार्यहरु गर्न संघले पहल गरिरहेको अध्यक्ष भण्डारी बताउंछन । धादिङका कतिपय ग्रामीण बस्तीमा केन्द्रीय प्रशारण लाइनवाट बिद्युत्तिकरण सम्भव नभएकोले परिक्षण योजनाका रुपमा घट्टवाट विजुली निकाल्ने योजना समेत धादिङमा संचालन हुन लागेको वताईएको छ । परम्परागत पानीघट्टले कुटानी पिसानीको मात्र काम गर्दै आएकोमा अव सुधारिएको घट्टले गाउंमा विजुली बाल्न पनि सकिने भएपछि समुदायमा थप खुसीयाली छाएको घट्ट धनी संघ धादिङका अध्यक्ष भण्डारी वताउंछन ।
बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको अनुसार ग्रामीण प्रविधि केन्द्र मार्फत देशका ५३ जिल्लामा घट्ट सुधारका कार्यक्रम सुरु गरिएको र यसबाट ४ लाख ४० हजार व्यक्ति प्रत्यक्ष लाभान्वित भएका छन । सुधारिएको पानी घट्ट लागुभएका जिल्लाहरुमा समुदायको मागका आधारमा सुधारिएको पानीघट्ट मार्फत बिद्युत्तिकरण कार्यक्रम संचालन हुने भएको छ ।
धादिङ जिल्लामा संचालनहुने बिद्युत्तिकरण कार्यक्रमवाट २ सय घर परिवार लभान्वित हुने भएका छन । ग्रामीण क्षेत्रका साना तथा मझौला उद्योग सञ्चालन गर्न यो प्रविधि बढी प्रभावकारी भइरहेको ग्रामीण प्रविधि केन्द्र नेपालका कार्यकारी अधिकृत गणेशराम श्रेष्ठले बताए । नेपालमा धादिङ जिल्लावाट सन् १९९० देखि पानीघट्ट सुधार कार्यक्रम सुरु गरिएको र हालसम्म देशभरीमा ३० हजार घट्ट सुधार गरेर सञ्चालन गर्न सकिने अवस्थामा पुगेको पनि श्रेष्ठ बताउँछन । केन्द्रको अभिलेख अनुसार सुधारिएको पानी घट्टबाट हालसम्म ७ हजार युनिट विद्युत्त उत्पादन भएको छ । यसरी उत्पादित विद्युत्तले ठूला उद्योगका लागि आवश्यक बिद्युत्त उपलब्ध गराउन नसके पनि दुर्गम गाउँमा छरिएर रहेका घरमा बत्ती बाल्न सहयोग पुग्ने श्रेष्ठको भनाइ छ । केन्द्रका अनुसार यस्ता घट्टबाट विद्युत्त उत्पादन गर्न प्रतिकिलोवाट २ लाख ४० हजार रुपैयाँ लाग्ने गर्दछ । परिक्षणका रुपमा संचालन भएको परियोजनामा लागतको ८० प्रतिशत रकम अनुदान र २० प्रतिशत समुदायवाट व्यवस्थापन गरिनेछ । धादिङ जिल्लाको पचासवटै गाविसमा पानी घट्ट संचालनमा रहेको छ । घट्टधनीहरुका अनुसार जिल्लाभरीमा तीन सय भन्दा बढि पानी घट्ट संचालनमा रहेका छन ।
बिजुली र डिजेल वाट चल्ने मिलमा भन्दा पानी घट्टमा पिसेको मकैको पिठो स्वादिलो हुन वुढापाकाहरुको बिश्वास रहेको छ । पछिल्लो समयमा आएर परम्परागत घट्टलाई सुधार गरी फलामवाट चल्ने नयां प्रविधिको मदानी जोड्न बैकल्पिक उर्जा प्रवर्धन केन्द्रले सहयोग गर्दै आईरहेको छ । पुरानो घट्टमा नयां मदानी जोडेपछि घट्टपनि छिटो चल्नेभएकाले घट्ट संचालकहरुलाई समेत फाईदा हुन थालेको उनिहरुको भनाई छ ।