१० वर्ष अघिको हत्याको बदलामा अर्को हत्या

450 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, वैशाख ७ – छिमेकी सँगको झगडामा एघार बर्षअघि मारिएका आफ्नो छोरालाई तत्कालिन विद्रोही माओवादीले मारेको भन्दै क्षतिपूर्ति बुझेका एक अभिभावकले छोराको हत्यामा संलग्न भएको आरोपमा छिमेकीको हत्या गरेका छन ।

धादिङको महादेवस्थान गाविस वडा नम्बर ७ लवाङका हस्तवहादुर तामाङको परिवारले कृष्णवहादुर तामाङलाई गएको शुक्रबार कुटपिट गरेर भीरबाट लडाएर मारेका प्रहरीले जनाएको छ ।

हस्तवहादुर तामाङका साहिंला छोरा पेम्वा तामाङको २०६१ माघ २७ गते छिमेकी कृष्णवहादुरसँगको झगडामा हत्या भएको थियो । छोराको हत्या भएको नजिकवाट देखेका बाबु हस्तवहादुरले घटनालाई राजनीतिक वनाई द्वन्द्व पीडित बनेर तीन लाख रुपैयाँ क्षतिपूर्ति समेत बुझेर लगको थिए । तर उनै हस्तबहादुरले पेम्वालाई मारेको आरोपमा आफ्ना तीन भाइ छोराको साथ लिएर छिमेकी कृष्णवहादुर तामाङको हत्या गरेका प्रहरीको भनाई छ ।

दिदीको अन्त्येष्ठि कर्म ( घेवाका लागि ) जांदै गरेको वेला हस्तवहादुर र उनका तीनभाई छोराले कृष्णवहादुरलाई नियन्त्रणमा लिई हातखुट्टा बँंधेर निर्घात कुटपिट गरी भीरवाट लडाएर मारेका थिए ।

घटना भएको लगत्तै मृतक पेम्वाकी श्रीमती राधामाया तामाङमार्फत १ लाख ५० हजार रुपैयाँ २०६६ सालमा त्यसपछि १ लाख र २०६८ मा ५० हजार रुपैयाँ गरी तीनलाख रुपैया रुपैयाँ बुझेर लगेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

शाही कालमा महादेवस्थान गाविसका मनोनित गाविस अध्यक्ष समेत भएका तामाङले छिमेकीसंगको झगडामा मारिएका आफ्नो साहिँलो छोरालाई तत्कालिन विद्रोही माओवादी पक्षबाट मारिएको भन्दै आफूलाई द्वन्द्व पीडितमा सूचीकृत गराएका थिए ।

तामाङको निवेदनको आधारमा शान्ति तथा पुननिर्माण मन्त्रालय द्वन्द्वका प्रभावित व्यक्ति, परिवार तथा संरचनाको लगत संकलन कार्यदलले तयार पारेको द्वन्द्वका क्रममा मृत्यु भएका व्यक्ति परिवारको विवरणमा पेम्वा तामाङको नाम समेत समावेश गरेको थियो ।

सशस्त्र द्वन्द्वका क्रममा धादिङ जिल्लामा मारिएका २ सय ४ जना भित्र पेम्वाको नाम समेत रहेको छ । छिमेकीसँगको झगडामा गाउँमै पेम्वाको हत्या भएको भएपनि कार्यदलले तयार पारेको प्रतिवेदनमा पेम्वाको हत्या विद्रोही पक्षवाट मारेको र घटना भएको जिल्ला नखुलेको लेखिएको छ ।

द्वन्द्व पीडितमा नाम दर्ता गरेपछि राज्यवाट क्षतिपूर्ति पाउने देखेर हस्तवहादुरले आफ्ना छोराको हत्यामा संलग्न भएका व्यक्तिलाई कारवाहीका लागि कुनै प्रयास नगरि अहिलेसम्म घटनालाई अन्यत्रै मोडेर जालसाजी गरेको हुनाले उनले लिएको रकम फिर्ता हुनुपर्ने र यस्ता घटनाहरुको सुक्ष्म अध्ययन गरि दोषिमाथि कारवाही हुनुपर्ने एकीकृत नेकपा माओवादीका जिल्ला नेता एवम स्थानीय शान्ति समिति धादिङका संयोजक रामवहादुर भण्डारीले बताउनुभयो ।

कृष्णबहादुर तामाङको हत्यामा संलग्न रहेको आरोपमा हस्तवहादुरलाई शनिवार घरैवाट प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । घटनामा संलग्न अन्य तीन जना भने फरार रहेकाले उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक अशोकसिंह ठकुरीले जानकारी दिनुभयो । घटनामा सलंग्न भएको आरोपमा पक्राउ परेका हस्तबहादुरलाई जिल्ला अदालत धादिङले आईतवार सात दिन थुनामा राखी अनुसन्धान गर्न म्याद दिएकोे छ । हस्तवहादुर सँगै पक्राउ परेकाहरुसँग भने घटनाको बिषयमा सोधपुछ र अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।