अखिलको रामपुर सम्मेलनको सम्झना
592 पटक पढिएको
टंकलाल श्रेष्ठ
अतितका पलहरुको सम्झना निकै रोचक हुंदारहेछन । नेत्रावती साप्ताहिक र धादिङ न्युज मार्फत मैले अतितका केही दिनहरुको सम्झना प्रस्तुत गर्दै आईरहेको छु । यस पटक २०४३ सालमा सम्पन्न भएको अनेरास्ववियु ( पांचौं)को पाँचौ जिल्ला सम्मेलन जस्लाई संगठनभित्र रामपुर सम्मेलनको नामवाट पनि चिन्निछ । त्यस वखत म कक्षा ८ मा अध्ययन गर्दै थिएँ । ने.क.पा. मालेको जनवर्गिय संगठन अनेरास्ववियू पाँचौँको पाँचौँ जिल्ला सम्मेलन धादिङ जिल्लाको चैनपुर गा.वि.स.को रामपुर बेसिमा सम्पन्न भएको थियो । धादिङ क्षेत्र नम्बर २ का अहिलेका सभासद गुरुप्रसाद वुर्लाकोटीलाई त्यस बखत पन्चहरुले राजनितिमा लागेको शिक्षक भनेर वेजिल्ला सरुवा गरेको थिए । त्यो सरुवा रोक्नको लागि हामीले पाँचौँ जिल्ला सम्मेलनको मन्चबाट जोडदार माग गरेका थियौँ । त्यहि समयमा धादिङ क्षेत्र नम्बर ३ का अहिलेका सभासद एवम पुर्व स्थानिय विकास मन्त्री राजेन्द्रप्रसाद पाण्डे आदर्श मा.वि. गजुरीमा शिक्षक हुुनुहुन्थ्यो । अर्का सभासद तथा पुर्वमन्त्री गंगालाल तुलाधर महाकाली मा.वि.मा शिक्षक हुनुहुन्थ्यो ।
हामी भुमिगत कम्युनिष्ट पार्टीका जनवर्गिय संगठनका कार्यकर्ता भएकाले जुनसुकै बेलामा पनि पञ्चायती प्रहरी प्रशासनवाट गिरफ्तारिमा पर्ने डर हुन्थ्यो । संगठनको हरेक योजना सम्पन्न गर्नुपर्ने दायित्व एकातिर हुन्थ्यो भने अर्को तिर दृष्मनहरुवाट बचेर हिड्नुपनि पथ्र्यो । रामपुर सम्मेलनमा जाने प्रतिनिधिमा मेरो पनि नाम छनौट भएपछि मैले संगठनको निर्देशन अनुसारका जिम्मेवारीहरु पनि पाएको थिएं । हामीलाई सम्मेलनमा लैजाने जिम्मेवारी रामकृष्ण न्यौपानेले पाउनु भएको थियो । उहांले हामीलाई चैनपुर भनेको बेनिघाटबाट पारीपटी पर्छ भने भन्नुभएको थियो । त्यस सम्मेलनसम्म संगठनको अध्यक्ष रामचन्द्र सिलवाल हुनुहुन्थ्यो । सिलवाल हाल आयुर्वेदिक तर्फको डाक्टर हुनुहुन्छ ।
रामपुर सम्मलेनबाट अखिलको अध्यक्षमा कृष्णबहादुर राना अध्यक्षमा चयन हुनुभयो । अखिलका धेरैजसो पुर्वअध्यक्षहरुसंग मेरो भेटघाट हुन्छ तर कृष्ण राना संग भने भेट भएको छैन । मैले उहाँलाई नभेटेको २३ वर्ष पुरा भयो । कृष्णबहादुर राना मगरले २ कार्यकाल अध्यक्ष पद समाल्नु भएको थियो ।
अहिले सहकारी क्षेत्रमा लाग्नु भएका खेम पाठक त्यतिबेला पातलो ज्यानको हुनुहुन्थ्यो । पाठक मादल बजाउन अति सिपालु हुनुहुन्थ्यो । उहाँले बजाएको मादल आज पनि मेरो कानमा झट्का आइरहन्छ । मैले यि सबै प्रसंग किन जोडिरहेको छु भने हामी वागेश्वरी मा.वि. बैरेनीवाट चैनपुरको रामपुरबेसी कसरी पुगियो । कतिखेर हिडियो, कतिखेर पुगियो भन्ने वारेमा यस पटक जानकारी गराउन खोजेको छु ।सम्मेलनमा जाने भनेपछि पढ्न वा कक्षामा बस्न मनै लाग्दैन्थ्यो । शिक्षा मन्त्रालयमा कार्यरत नवराज खतिवडाले त्यतिवेला हामीलाई गणित पढाउनुहुन्थ्यो । पढाउन अति सिपालु, व्यवहार अति कडा थियो उहांको । अभ्यास पल्टाए पछि ऐना हेरे जस्तो छर्लङ । उहाँको कक्षा सकिएपछि हामी विस्तारै बाहिर निस्कियौँ । बैरेनी बजारको हाल गा.वि.स. भवन भएको ठाउँमा वागेश्वरी मा.वि.को छात्रवास भवन थियो । त्यस भवनमा केही साथीहरु बसेका थिए । घरबाट आउन नभ्याउने टाढा टाढाको साथीहरु त्यहिँ बसेका थिए । त्यहाँ हामीहरुले विहानै चामल र गुन्द्रुक ल्याएर राखेका थियौँ । विद्यालयबाट आएर त्यहीँ गुन्द्रुक पकायौँ । साथीहरु ३० जनाजति थियौँ । महिला साथीहरु चाही आदमघाटको दिपा अधिकारी (हाल शिक्षिका अस्थायी पदमा ) कार्यरत हुनुहुन्छ ।
नेतृत्वको अग्र पंक्तिमा रामकृष्ण न्यौपाने हुनुहुन्थ्यो । घरवाट निस्कने बेला आमालाई मैले म आज साथीको घरमा जान्छु भनेर ढाटेको थिएँ । सम्मेलनमा जाने सबैजना मिलेर हामी छात्रवासमा एकबजेबाट खाना खान सुरु ग¥यौँ । दिउँसो ३ बजे खाना खाइसकेर गाडी चढ्न सुरु गरियो । गाडीमा तीन समुहमा चढियो किनकी एकैचोटी चढ्दा पञ्चायतका दलालहरु ज्यादै चियो चर्चो गरेर बस्थे । गाडीबाट झर्ने ठाउँ चरौँदी भनेका थिए साथीहरुले । चरौँदीमा झमक्क साँझ पर्दा पुगियो । साथीहरुले गुन्द्रुक र भात त्यहाँ पनि पकाएर राख्नु भएको रहेछ । फेरी त्यहाँ पनि खाना खाइयो । बेलुका ठिक ९ बजे चरौँदीबाट बाँदरे पुल तर्नका लागि प्रस्थान गरियो । जब यात्रा सुरु भयो रातको समय टर्च बाल्न नपाइने वाले पनि रुमालले छोपेर बाल्नुपर्ने नत्र समस्या आउने हामी ९ बजे बेलुका चरौँदीबाट बाँदरेको पुलपार गर्दै गोरखा जिल्लाको घ्याल्चोक टारको बाटो हुँदै राती १ बजे दरबुङ घाटको पुल तर्न पुग्यौं । रातको समय छामेको भरमा बुढी गण्डकीको किनार किनारै हिड्नुपर्ने । एकठाउँमा कुकुर घुक्दै हामीलाई झम्टन आएको थियो म सँगैको साथीले कुकुरलाई च्याप्प घोक्रामा समाएर फालिदिए । कुकुर घारीभित्र हराउन पुग्योे । हामी बेतोडसँग दौडियौँ । जब हामी चरौँदीबाट हिड्दा एक सय जनाको हाराहारीमा थियौँ । रातीको समय,दुष्मनहरुको निगरानी,नचिनेको ठाउं भएपनि दिदी बहिनीहरु आफ्ना दाजु भाइको साथमा हिडेको महसुस गर्नुहुन्थ्यो भने दाजुभाइहरु आफ्ना दिदी बहिनीको साथमा हिडेको महसुस गरिन्थ्यो । त्यसबेला हाम्रो एउटै मात्र लक्ष्य थियो । हामी एक हुने देशमा चलिरहेको एकतान्त्रिक पञ्चायती व्यवस्था फाल्ने । हामी कसरी अगाडी बढ्ने भनेर म घण्टौँसम्म प्रशिक्षण दिन्थे साथीहरुलाई । धेरै साथीहरुले माया गर्नुहुन्थ्यो मलाई । कक्षामा म प्रथम थिएँ । सबै साथीहरुलाई सिकाउथेँ त्यसैले सबै साथीहरु पढ्नमा मिहिनेती छ प्रगतिसिल कुरा गर्छ भनेर अरुलाई भन्दा छुट्टै दृष्टिले हेर्थे साथीहरु मलाई ।
रातभरी जस्तो हिडेर भोलिपल्ट विहान ७ बजे रामपुर पुगियो सम्मेलन सुरु भयो । दिउँसो ३ बजे सम्मेलनको समापन भयो । कृष्णबहादुर रानाको अध्यक्षतामा ११ सदस्य भएको जिल्ला कमिटी चयन गरियो । त्यसपछि दिउँसो ३ बजे सम्मेलन समाप्त गरी हामी फक्र्यौँ । राती ११ बजे बेनिघाट पारीपटीको टारको पल्ला छेउको बरको फेदमा आइपुग्यो । त्यही वरको जरामा सिरानी राखी हामी सबैजना बसेका थियौँ । दिनभरीको थकाईले निदाएछौँ थकाइले गर्दा बिउँझदा उज्यालो भएछ । बेनिघाट तरी गाडी चढ्यौँ । बैरेनी आयौँ । त्यो दिन खाना खान पनि भ्याइएन । त्यत्तिकै स्कूल गयौँ । यसरी अखिलको धादिङ जिल्लाको पाँचौ सम्मेलनमा सहभागी भईएको थियो ।