सुन्तले टापुुमा मासियो सुन्तला

669 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी

सुन्तले टापुको उपमा पाएको धादिङको स्यादुलमा मासिंदै गएको सुन्तलाको बगैचा । बर्षेनी वोट सुक्ने र फल नदिने क्रम बढ्दै गएको छ ।तस्बिर : केशव अधिकारी
सुन्तले टापुको उपमा पाएको धादिङको स्यादुलमा मासिंदै गएको सुन्तलाको बगैचा । बर्षेनी वोट सुक्ने र फल नदिने क्रम बढ्दै गएको छ ।तस्बिर : केशव अधिकारी

स्यादुल (धादिङ) – कुनै बेला व्यावसायिक सुन्तला खेतीका लागि देशभरमै चर्चा कमाएको धादिङको धुषा गाविसस्थित स्यादुलमा सुन्तलाको वोट मासिएको छ । व्यावसायिक सुन्तला खेतीबाट आर्थिक तथा सामाजिक स्तर सुधारेका यहाँका किसान अहिले बैकल्पिक खेतीको खोजीमा लागेका छन ।
गाउँ घुम्न आएका लेनमार्क नामका पर्यटकले यहाँको हावापानी सुन्तला खेतीका लागि उपयुक्त भएको बताएपछि जिल्ला कृषि विकास कार्यालयको सहयोगमा स्यादुलका तीन सय परिवारले २०३२ सालमा ५० हजार बिरुवा सुन्तला रोपेका थिए। प्रतिपरिवार ५० देखि पाँच सय बिरुवा लगाएर शुरु गरिएको स्यादुलको सुन्तलाले उत्पादन दिन थालेपछि देशभरीमै चर्चा पाउन थालेको थियो ।
बिरुवा रोपेको पाँच वर्षदेखि फल टिप्न सुरु गरेका यहाँका किसानले वार्षिक एक लाखदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गरेको धुषा ९ का किसान वीरेन्द्र पाण्डेले बताउनु भयो । व्यवसायिक सुन्तला खेतीकै कारण २०४० देखि २०५० सम्म स्यादुलमा वार्षिक चार करोडका दरले ४० करोड रुपैयाँ गाउंमा भित्रिएको पाण्डे बताउनुहुन्छ । सुन्तलाबाट राम्रो आम्दानी लिन सफल भएका किसानको जीवनस्तर अन्य गाउँको तुलनामा राम्रो थियो । गाउँमा विद्युतीकरण नहुँदा वरपरका गाउँ अन्धकारमा हुन्थे। यहाँका किसानले भने सुन्तला बेचेर गाउँभरि सोलार जडान गरेर गाउंलाई उज्यालो पारेको धुषाका अगुवा किसान रणबहादुर थापामगरले बताउनु भयो ।
सुन्तलाको उत्पादन राम्रो हुंदै गई रहेकोमा २०५१ पछि भने क्रमिक रुपमा घट्न थालेको र अहिले गाउंभरीमा १० प्रतिशत सुन्तलाको बोट पनि बाँकी नरहेको स्थानीय किसानहरु बताउंछन । जिल्लामै पहिलो पटक गाउंभरीका किसानले व्यवासयिक रुपमा सुन्तला खेती सुरु गरेर सफलता पाएपछि गाउँको नामै ुसुन्तले टापुु बन्न पुगेको थियो । त्यही सुन्तले टापुु अहिले सुन्तलाको बोट सुकेर उराठ बन्न पुगेको गाउंलेहरुले वताए ।
बर्षेजी सुन्तला मासिनेक्रम बढ्दै गएपनि पांच वर्ष अघिसम्म सुन्तला पाक्ने समयमा स्यादुलमा आन्तरिक पर्यटकको घुइँचो हुने गरेकोमा अहिले स्यादुलवासीनै अरु गाउंतिर गएर सुन्तला हेर्नुपर्ने अवस्थामा पुगेका छन । सुन्तले टापु उजाड बन्दै गएपनि स्यादुल आसपासमा पर्ने धुषाको ७, ८ र ९ नम्बर वडामा गरी वार्षिक करिब एक करोड रुपैयाँ सुन्तला खेतीबाट भित्रिने गरेको छ । कुनै वेला वार्षिक पाँच लाख रुयैयाँसम्म आम्दानी लिएका किसान अहिले ५० हजारभन्दा कम आम्दानीमा खुम्चिनु परेको धुषा ७ का लक्ष्मीप्रसाद सिलवालले बताउनु भयो ।
सुन्तलाको बोटमा रोग देखापर्न थालेपछि किसानले जिल्ला कृषि विकास कार्यालय र वागवानी विकासका लागि काम गरिरहेका सरकारी तथा गैरसरकारी निकाय र निजी क्षेत्रलाई पटक पटक गुहारेको उनिहरु बताउंछन । जतिसुकै हार गुहार गरेपनि बेलैमा प्राविधिक सल्लाह र सहयोग नपाएको उनीहरूको गुनासो छ । कृषि तथा वागवानीका बिशेषज्ञहरुलाई प्राविधिकहरूलाई देखाउंदा सुन्तलामा भाइरस लागेको जानकारी पाएको किसानहरुले वताए ।
धादिङ जिल्लामा आर्थिक विकासका लागि तरकारी, फलफूल, पशुपालन,जलश्रोत र पर्यटनको राम्रो सम्भावना रहेकाले बिशेषज्ञहरुवाट स्यादुलको सुन्तलाको विकल्प खोजिनुपर्ने धादिङ क्षेत्र नम्बर ३ का सभासद एवम पुर्व स्थानीय विकास मन्त्री राजेन्द्र पाण्डे बताउनु हुन्छ । स्यादुलमा सुन्तला खेती मासिनुमा वोटमा देखिएको रोग मुख्य कारणका रुपमा रहेको विभिन्न अध्ययनले देखाएको किसानहरुले वताए ।
रोग देखिएका बोटका जरा उखेलेर समयमै नष्ट गर्न सकेको भए अरु वोट जोगाउन सकिनेमा अव त्यो सम्भावना पनि नरहेको बताउनुहुन्छ । बोटमा फैलिएको भाइरस नष्ट गर्न बिरुवा उखेलेर डढाउनुपर्ने कृषि प्राविधिकहरुको परामर्श किसानले समयमै नमान्दा अहिलेको समस्या आएको उहांले वताउनु भयो । सुरुमा किसानले फलिरहेको सुन्तलाको बोट मास्न नमान्दा अहिलेको समस्या आएको स्यादुलका किसान अहिले व्यवसायिक रुपमा तरकारी खेतीका साथै कफिखेती तर्फ लाग्न थालेका छन ।
स्यादुलमा सुन्तला मासिंदै गएपछि स्थानीयवासीले गत बर्ष संविधान सभाको निर्वाचन लगत्तै धादिङ जिल्लावाट निर्वाचित राजेन्द्र पाण्डे,गुरुप्रसाद वुर्लाकोटी र धनवहादुर घलेका साथै धादिङ जिल्लामा जन्मिएर चितवन जिल्लावाट संविधान सभामा निर्वाचित हुनुभएका पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई गाउंमा वोलाएर सुन्तलाको माला लगाईदिएर समस्याको अवगत गराएका थिए ।