दुर्घटना न्यूनीकरणका लागि प्रहरीको “चालक संग एक मिनेट अभियान”

663 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङको गजुरी गाविसमा पर्ने पृथ्वीराजमार्गको चाम्वास विहानी पम्प नजिकै प्रहरी संग एक मिनेट कार्यक्रम संचालन गर्दै जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोली तस्विर : कुशल अधिकारी /धादिङ न्यूज
धादिङको गजुरी गाविसमा पर्ने पृथ्वीराजमार्गको चाम्वास विहानी पम्प नजिकै प्रहरी संग एक मिनेट कार्यक्रम संचालन गर्दै जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोली तस्विर : कुशल अधिकारी /धादिङ न्यूज

धादिङ,२१ मंसिर -राजमार्ग क्षेत्रमा बढ्दै गएको सवारी दुर्घटनालाई मध्यनजर गर्दै धादिङ प्रहरीले दुर्घटना न्युनीकरणका लागि बिशेष अभियान शुरु गरेको छ । राजधानीवाट देशका ६७ जिल्ला जोड्ने पृथ्वीराजमार्गमा वढ्दै गएको सवारी दुर्घटनालाई न्यूनिकरण गर्न जिल्ला प्रहरी कार्यालय धादिङले चालक संग एक मिनेट अभियानलाई तेश्रो चरणमा संचालन गरेको हो ।
यात्रुकोे सुरक्षाका लागि धादिङ जिल्ला भित्रपर्ने पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा यस अघि दुई चरणमा संचालन गरिएको ‘प्रहरी संग एक मिनेट’ कार्यक्रम प्रभावकारी भएपछि तेश्रो चरणको अभियान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
दुर्घटना न्यूनिकरणका विषयमा सवारी चालकलाई चेतनामुलक जानकारी दिंदै आएको प्रहरीले आगामी दिनमा पनि अभियानलाई संचालन गर्ने जनाएको छ । ‘दुर्घटनाको जोखिम कमि गर्न चालकहरुलाई आधारभुत सवारी ऐन, ट्राफिक नियमहरुका वारेमा अभियानका क्रममा जानकारी दिने गरिएको धादिङका प्रहरी नायव उपरिक्षक प्रकाश मल्लले वताउनु भयो ।
प्रहरी संग एक मिनेट अभियान संगै गजुरीमा सवारी चालकलाई मापसे परिक्षण र गजुरी नजिकै चालिसेमा सवारी साधनको गति मापनका लागि राडार गन राखेर परिक्षण शुरु गरिएको छ । राधानी तर्फवाट जाने सवारी साधनको गति प्रति घण्टा ६० किमि भन्दा बढी देखिए राडार गनले संकेत गर्ने भएकाले त्यस्ता सवारी साधनलाई रोकेर दुई सयका दरले जरिवाना गर्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक नविनराजा बुढाथोकीले वताउनु भयो । राजमार्गमा एकै साथ तीनवटा कार्यक्रमलाई अभियानका रुपमा संचालन गरेपछि दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने प्रहरी नायव उपरिक्षक मल्लको भनाई छ ।
अभियानका क्रममा सवारीको प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी, घुम्तीहरु कसरी पार गर्ने, यात्रुलाई चढाउंदा र ओराल्दा ध्यान दिनुपर्ने बिषयहरुका साथै गति सिमित गराउन सचेत गराउने गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले थालेको अभियानका लागि दुर्घटना न्यूनिकरणका लागि प्रहरीको प्रयास मात्र सम्भव नहुने भएकाले अभियानलाई यातायात व्यवसायी, मजदुर,सर्वसाधरण र सरोकारवाला सवैको सहकार्य हुनुपर्ने प्रहरी प्रमुख मल्लको भनाई छ । प्रहरी संग एक मिनेट अभियान एक साता सम्म धादिङ जिल्ला भित्र पर्ने पृथ्वीराजमार्ग र त्रिभुवन राजपथमा संचालन गरिने वताईएको छ ।