बगरको चिसोमा बस्दै आएका मजदुरले घर पाए

894 पटक पढिएको

सम्पादक: धादिङ न्यूज



DSC_0004तसर्पु-करिव २० वर्षदेखि धादिङको महादेवबेसी नजिकै आगरा खोलामा गिट्टी मजदुरको रुपमा काम गर्दै आएकी ५७ वर्षिय लालमाया मिजारलाई बाँचुञ्जेल बगरमै छाप्रो मुनी बस्ने र यहीँ काम गर्दागर्दै बगरमै मरेर खरानी हुने हो भन्ने लाग्थ्यो । बगरको चिसोमा पालटाँगरेर बस्दै आएकी भुमी हिन सुकुम्बासी लालमायाले जीवनमा कहिल्यै सोचेकी पनि थिइनन् आफ्नै एउटा घर हुन्छ भन्ने । उनी जहिले पनि भन्ने गर्थिन् बाँचुन्जेल पनि बगरमा, मरेपछि पनि बगरमा बगरको जीन्दगी न हो । 
DSC_0040तर बुधबार प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको हातबाट घरको चावी बुझ्दा उनी दंग परिन । साथै खुसीले गद्गद पनि । उनलाई सानो किचेन सहितको एक कोठाको घर युक्याप नेपाल र इटालियन संस्था आपेरोनले बनाइदिएका हुन् । उनी जस्तै ३० परिवारलाई तसर्पु–१ धैरेनीस्थित मजदुर आवास क्षेत्रमा हाम्रो घर परियोजना मार्फत सिमेन्ट र ब्लक तथा जस्ताको छानो लगाएको ३० वटा घर हस्तान्तरण गरिएको हो । प्रजिअ घिमिरेले रिवन काटेर मजदुर आवास क्षेत्रको उद्घाटन गर्दै मजदुरलाई खादा लगाएर आवास क्षेत्रमा स्वागत गरेका थिए । घर पाएपछि खुसीले गद्गद् भएका मजदुरले प्रजिअ लगायत दाता र अतिथिलाई दुवोको माला लगाएर सम्मान गरे । 
उनीहरुलाई दिइएको घरमा १५ वर्षसम्म उनीहरुले निर्वाध बस्न पाउने छन् । त्यस वापत उनीहरुले कुनै तिरो तिर्नु पर्दैन । तर उनीहरु घरले चर्चेको जमिन भने उनीहरुले पाउँदैनन् । १० रोपनी क्षेत्रफलको व्यक्तिगत जमिन १५ वर्षसम्मको लागी संस्थाले भाडा तिरिदिनेछ । उनीहरुले सो अवधिमा अर्को विकल्प नभए सो स्थान छाड्नु पर्ने हुन्छ । 
आफुहरु बगरमा निकै कस्ट गरेर बस्दै आएका थियौं घर पायौं खुसी छौं । लालमायाले भनिन् घर भनेको ठुलो कुरा हो । आफुले केही लगानी नगरी पाएको घरलाई संभार गरेर बस्ने बताइन् । अव बगरमा चिसो भुइमा बस्नु नपर्ने भो । वर्षामा बाढी आउँदा रातभरी जाग्राम बस्न नपर्ने भो यति भए पछि जीवन गुजारा गर्न ढुक्कसंग काममा लाग्न सक्ने भयौं उनी बताउँछिन् । 
खोलामा जोखिमयुक्त श्रम गर्दै आएका विपन्न मजदुर परिवारलाई सुरक्षित आवासको सुविधा दिन घर निर्माण गरिएको युक्याप नेपालका कोषाध्यक्ष सानु गिरीले बताए । खोलाको बगरमा पाल टाँगेर बस्दा हिउँदमा चिसो र वर्षामा बाढीले दुःख दिँदै आएको थियो । आफ्नै कमाइले विहान बेलुका छाक टार्न समेत नसक्ने अवस्थाका विपन्न परिवारलाई स्थाइ बसोबासका निम्ति घर बनाइदिँदा कम्तिमा पनि उनीहरुलाई वर्षै पिच्छे प्लाष्टिक किन्नुपर्ने झण्झट नहुने र चिसो, हुरी बतास र पानी तथा बाढीको त्रास नहुने गिरी बताउँछन् । 
मानिसको आधारभुत आवश्यकता भनेको खाने, लाउने र बस्ने स्थान हो युक्यापका परियोजना संयोजक शेरबहादुर गुरुङले भने हामीले घर निर्माण गरिदिएको छौं अब बाँकी उहाँहरु आफै गर्न सक्नुहुनेछ । काम गर्न सक्नेलाई घर मात्र दिएको बताउँदै गुरुङले भने काम गर्न नसक्ने बृद्धबृद्धालाई खाने बस्ने सुविधा सहितको बृद्धाश्रम भवन पनि छिट्टै निर्माण गरिने छ । बृद्धाश्रम भवनको पनि प्रजिअ घिमिरेले विहिकारै शिलान्यास गरेका छन् । 
मजदुरहरुले काम गर्ने स्थान भन्दा आधा घण्टा टाढा रहेको सो स्थान नयाँ गाउँको रुपमा रहेको छ । ३० परिवारको नयाँ गाउँमा खानेपानी, विजुली, शौचालय लगायतको पुर्वाधार पनि खडा गरिएको छ । विद्यालय नजिकै रहेकाले बालबालिकालाई पनि सुविधा भएको छ । प्रति घर एक लाख खर्च गर्ने योजना बनाएर सुरु भएको परियोजना निर्माण गरिसक्दा करिव ४५ लाख खर्च भएको आपेरोनका गणेश भट्टराईले बताए । 
हाम्रो घर हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले घर नभएकालाई घर दिने अभियानको थालनी गरेकामा संस्थालाई धन्यवाद दिए । १५ वर्ष सम्म संस्थाले भाडा तिरिदिने हुँदा त्यस पछि के हुने भन्ने कुरालाई ध्यान दिन आवश्यक रहेको घिमिरेले बताए । आगामी दिनमा दिगो र स्थायित्व हुनेगरी पनि योजना निर्माणमा ध्यान दिन अनुरोध गरे ।