चितवनको ४० पर्यटकीय गन्तव्यस्थलमा धुषाको न्होक गुफा पनि

657 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

nhok gufaa धादिङ– आर्थिक विकासको मेरुदण्ड मानिने पर्यटन व्यवसायको विकासका लागि चितवनमा ४० पर्यटकीय गन्तव्यस्थलको पहिचान भएको छ ।

चितवन पर्यटन विकास समिति र जिल्ला विकास समितिले भरतपुरको चौविसकोठीलाई केन्द्र विन्दु मानेर ४० पर्यटकीय गन्तव्यस्थलको पहिचान गरेको हो ।यसरी पहिचान गरिएका पर्यटकीय क्षेत्रमा धादिङको धुषा गाविसको धाङबाङमा रहेको न्होक गुफा समेत परेको छ । न्होक गुफाको प्रचार प्रसार र संरक्षणमा धादिङ जिल्ला विकास समिति र अन्य सरोकारवाला निकायले खासै चासो देखाउन नसकिरहेको बेला चितवन जिल्ला विकास समिति र चितवन पर्यटन विकास समितिले संयुक्त रुपमा पर्यटन क्षेत्रकोपहिचान गरेको हो । न्होक गुफा पुग्नका लागि पृथ्वीराजमार्गको चरौंदीवाट ग्रामीण सडक हुंदै चारघण्टाको यात्रा गरेर थप दुई घण्टा पैदल यात्रा गर्नुपर्दछ । चेपाङबस्तिको नजिकै रहेका कारण न्होक गुफा जाने मार्गलाई चेपाङ संस्कृति अध्ययन  पैदलमार्ग वनाएर पर्यटकीय क्षेत्र वनाउन सकिने भएपनि यस तर्फ जिल्लाका कुनै पनि निकायले सामान्य चासो समेत देखाएका छैनन । न्होक गुफा एक दिनभरी घुम्दा पनि सबै भाग घुम्न नसकिने स्थानीयको भनाई छ ।

कुन पर्यटकीय क्षेत्र जान कति समय लाग्छ र कति किलोमिटर दूरीमा छ भनेरसमेत पहिचान गरिएको चितवन पर्यटन विकास समितिका महासचिव विश्वराज सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चितवनमा अहिलेसम्मको तथ्याङ्कअनुसार पर्यटकको बसाइँ औसतमा २ दशमलव ४ दिन रहेको छ । यो बसाइँलाई तीनदेखि चार दिन लम्ब्याउन सके पर्यटनका हिसाबले चितवनले फड्को मार्ने विश्वास लिइएको छ ।

त्यसैले पनि नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरिएको जिल्ला विकास समिति चितवनका पर्यटन शाखा अधिकृत प्रकाश पौडेलले जानकारी दिनुभयो ।

उहाँले चितवनमा मुख्य पर्यटकीयस्थलको पर्यटन प्रवद्र्धनका लागि जिविसले पहल थालेको समेत बताउनुभयो । चितवनको मुख्य पर्यटकीय क्षेत्र सौराहा हो । यहाँ संरक्षित क्षेत्र चितवन निकुञ्ज जोडिएकाले जङ्गली जनावर हेर्न पर्यटक आउने गर्दछन् । त्यसपछि मेघौली पर्यटन क्षेत्रको रूपमा अगाडि छ । चितवन नेपालकै तेस्रो पर्यटकीय गन्तव्य मानिन्छ ।

तर जिल्लामा अन्य पर्यटकीय क्षेत्र प्रशस्तै भए पनि उचित प्रचारप्रसार र पर्यटन पूर्वाधारको अभावमा ती क्षेत्रमा पर्यटक लैजान सकिएको छैन । पर्यटन क्षेत्रको पहिचान र विकासका लागि भन्दै यस वर्ष जिविसले रु १२ लाख रकमसमेत छुट्याएको छ ।

जिल्लाको सौराहा मेघौलीसँगै लामो झरना, नारायणी, नगरवन, ज्ञानेश्वर ब्लक, नोक गुफा, सिँराइचुली, उपरदाङगढी, चित्राम झरना, वाल्मीकि आश्रम, सोमेश्वर गढी, देवघाट, गोलाघाट, महत्वपूर्ण पर्यटकीय क्षेत्र हो । यी क्षेत्रमा समेत पर्यटक लैजान सकिए पर्यटन प्रवद्र्धनमा उपलब्धि हुने पर्यटन व्यवसायी तथा चितवन होटल ट्रेनिङका सञ्चालक सुदिप भट्ट बताउनुहुन्छ ।

यस्तै अहिले पहिचान भएको क्षेत्र सीतामाई पटिहानी, गणेशस्थान परेवाकोट, गणेशस्थान, राइनो ताल, चौकीडाँडा, टिकौली सङ्ग्रहालय, प्यारी ढापलगायत रहेका छन् ।

पूर्वाधार विकासविना पर्यटक भित्र्याउन नसकिने भन्दै यसतर्फ ध्यान जानुपर्ने जिविस चितवनका योजना शाखा प्रमुख पुरुषोत्तम शर्माले बताउनुभयो ।

हाल चितवनमा वार्षिक दुई लाख २५ हजार पर्यटक भित्रिने गरेको तथ्याङ्क छ । नेपालमा आठ लाख पर्यटक भित्रिएको तथ्याङ्क छ । चितवन निकुञ्जमा मात्रै सवा लाख बढी पर्यटक आउँछन् ।