खिरखिरेमा जिन्दगी खियाउँदै

791 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Kharkhareघ्याल्चोक ६ छेर्दीखोलाका सुनील चेपाङ यो फागुनमा १८ वर्ष लागे । पारिवारिक समस्याले तीन कक्षाभन्दा पढ्न सकेनन् । स्थानीय प्रजाज्योति प्राविमा कक्षा तीनमा पढ्दापढ्दै छोडेर उनी चितवनतिर हिँडे, कामको खोजीमा ।
‘म नौ वर्षको छँदा आमा पोइल गइन् । बा सधैं रक्सी खाएर हिँड्छन्’, सुनीलले आफ्नो कथा सुनाए, ‘अनि मैले पढ्न पाइनँ । काम खोज्दै चितवन गएँ । त्यहाँ पनि राम्रो भएन । अहिले ढुंगाखानीमा आएको हुँ ।’ यहाँ दुःख धेरै भए पनि कमाइ राम्रो भएको उनले बताए ।
उनी सबेरै उठ्छन्, बिहान साढे ६ बजे खाना खाइसक्छन् । आठ बजे कौदीफाँटको ढुंगाखानीमा पुग्छन् । त्यहाँ उनी आफूभन्दा ठूलाले भनेअनुसार बडेमानका ढुंगा उचाल्छन्, कोर्केमा भर्छन् । ओरालो लट्ठामा कोर्के सरर्र कुदेर त्रिशूली पार गर्छ । अनि कम्मरमा बाँधेको खिरखिरे झिकेर लमतन्न तन्किएको लट्ठामा जोड्छन् । खिरखिरेमा बस्छन् । खिरखिरे सरर्र ओरालो लट्ठामा गुड्छ । अनि अघिको कोर्केसँगसँगै गहिरो सुसाएको त्रिशूली तर्छन् ।
त्रिशूली तरेर कोर्केको ढुंगा भुइँमा थुपार्छन् । फेरि भुइँको ढुंगा ट्रकमा लोड गर्छन् । सबेरै खाना खाए पनि दिउँसो खाजा खाँदैनन् ।
उनले भने, ‘खाजा खाने बानी नभएर होला, बिहान र बेलुका खाना खाने हो । दिउँसो भोक नै लाग्दैन ।’ उनी दिनभर लखतरान भएर साँझ छ बजेतिर घर फर्किन्छन् । यसरी नै उनको दिन, साता, महिना हुँदै वर्ष बितेको छ ।
सुनील मात्रै होइन, भुम्लिचोक ८ कौदीफाँटको ढुंगाखानीमा एक सयभन्दा धेरै चेपाङको जिन्दगी यसरी नै खिरखिरेमा झुन्डिएर बितिरहेको छ । खिरखिरेमा झुन्डिने काम पाउनु उनीहरूका लागि अवसर भएको छ ।

त्रिशूलीमा खिरखिरे खेल्ने, ढुंगामुढा उचाल्ने, पछार्ने अवसर उनीहरूलाई हेटौंडा सिमेन्ट उद्योगले दिएको हो । ढुंगा निकाल्न उद्योगले ‘ब्लास्ट’ गर्दा पहरोमाथि रहेको आफ्नो गाउँ नै थर्किएर पहिरो जाने खतरा रहे पनि काम गर्ने अवसर दिएकोमा यस भेगका चेपाङ समुदाय उद्योगसँग खुसी नै छन् ।
उद्योगका पेटी ठेकेदार वीरबहादुर चेपाङले उनीहरूको व्यवस्थापन गरेका छन् । उनले एउटा लट्ठामा आठदेखि दसजनासम्मलाई काम दिन्छन् । यस्ता लट्ठा आठवटा छन् । ‘वीरबहादुरले सबैलाई मासिक पैसा त दिँदैनन्’, १८ बर्से सुनील भन्छन्, ‘हामीलाई दुईतीन महिनामा एकपटक भए पनि पैसाचाहिँ दिन्छन् । अब फाउपुर्नेमा दिन्छु भनेको छ ।’ कमाइले उनले परिवार धानेका छन् । ‘रासन किन्छु । लुगा किन्छु’, उनी भन्छन्, ‘सानैदेखि दुःख पाइयो । दुःख गरेर भए पनि आफू पालिनुपर्‌यो । परिवार पाल्नुपर्‌यो ।’
उनको परिवारमा बुबा, कान्छीआमा, एउटा भाइ र एउटी बहिनी छन् ।
यहाँ ढुंगाखानी चलाउन थालेको २०४६ सालदेखि हो । खानी चलेपछि आसपासका चेपाङ समुदायले राम्रैसँग रोजीरोटी पाएका छन् । जोखिमको पर्वाह नगरी खिरखिरेमा झुन्डिएर काम गर्नुलाई उनीहरू अवसर ठान्छन् । कामले खिचेको उनीहरूको ध्यान दुईजनालाई त्रिशूलीले निलिसकेको घटनाले भड्काएको छैन ।
२०६५ सालमा गौतम चेपाङ र २०६९ सालमा मकवानपुरका अर्का एकजना खिरखिरेबाट त्रिशूलीमा खसेर बेपत्ता भएको थुम्का प्राविका शिक्षक चन्द्र चेपाङ बताउँछन् । पानीमा खसे पनि उत्रिएर ज्यान जोगाएको घटना झन् प्रसस्त रहेको उनले बताए । लट्ठाले हात खाएका र औंला गुमाएका घटना पनि कयौं रहेको उनको भनाइ छ ।
यहाँ भुम्लिचोकका हिक्लुङ, थुम्का, घ्याल्चोकका बेलटार, छेर्दीखोला, कौदी, धादिङको रोबाङ, चितवनको शक्तिखोर, मकवानपुरको लोथरदेखि काम गर्न आउँछन् । काँधकाँधमा खिरखिरे बोकेर साँझबिहान उकालोओरालो गर्ने, दिनभरि त्रिशूलीमाथि खिरखिरेमा ओहोरदोहोर गर्ने पुरानै परम्परा हो । यसरी नै यहाँका चेपाङ समुदायले बर्सौं बिताएका छन् अन्नपूर्ण पोष्ट डट कममा  खबर छ ।