गरिबी र चेतना अभावको पीडा-बर्षेनी सन्तान,कुपोषणको शिकार

786 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

17264656_1279029798842788_2660271273361661311_nकेशव अधिकारी
धादिङ । पर्याप्त पोषणयुक्त खानेकुरा खान नपाएकै कारण धादिङको सदरमुकाम धादिङबेसी नजिकैको दलित बस्तीकी छ वर्षीय ओममाया मिजार कुपोषणबाट ग्रस्त हुन पुगेकी छिन् ।
नीलकण्ठ नगरपालिका–२ तीनघरेका ओममाया जुठी मिजारकी पाँच सन्तानमध्ये तेस्रो सन्तान हुन् । ६ वर्षीय ओममायाको शरीरमा हाड, छाला र टाउको मात्रै देखिन्छ । पाँच सन्तानलाई जन्म दिइसकेकी जुठी मायाको उमेर अहिले २६ वर्ष पुगेको छ । घरमा खानाको अभावसँगै बालबालिकाको स्वास्थ्य अवस्था नाजुक बन्दै गए पनि जुठी फेरि गर्भवती छिन् ।
सदरमुकाम धादिङबेसीबाट आधा घण्टाको दूरीमा रहेको तीनघरेका अधिकांश दलित अति विपन्न अवस्थाका छन् । ओममायाको अभिभावकको पनि आर्थिक अवस्था अत्यन्त कमजोर रहेको छ । सोही कारण परिवारले अस्पताल लगेर उपचार गर्ने खर्र्च जुटाउन नसकेपछि बालिका घरमै थलिन पुगेकी हुन् ।
मिजार परिवारको घरमा अहिले खाने कुराको समेत अभाव परेको कारण बिहानबेलुकीको खाना दिउँसो मध्यान्नमा एक पटकमात्रै खाने गरिएको जुठी मिजारले बताइन् । सदरमुकाममा हरेक दिन जस्तो स्वास्थ्य शिक्षाका विषयमा तालिम, गोष्ठी र प्रगति विवरण सार्वजनिक हुने गर्दछन् तर तीनघरेका दलितहरुलाई भने नत परिवार नियोजनका बारेमा कसैले ज्ञान दिने गरेको छ । नत कुपोषित बालबालिकाको उपचारका लागि कुनै निकायले सहयोग गर्छ भन्ने जानकारी नै उनीहरुले नपाएको स्थानीय सामाजिक कार्यकता मायानाथ नेपाल बताउँछन् ।
साँखु तीनघरेका सबै दलित परिवारमा खाद्यान्न संकट छ । ओम मायाको अहिले उमेर अनुसारको न त तौल छ, न त उचाइ नै । उनी मात्र होइन, धादिङ जिल्लाभर करिब एकसयको हाराहारीमा यस्ता प्रकृतिका कुपोषित बालबालिकाहरु विशेषगरी दलित तथा अती सीमान्तकृत चेपाङ समुदायमा रहेका छन् ।
पर्याप्त पोषिलो खाने कुराका अभावका कारण कुपोषणको शिकार बनेका बालबालिकाहरुको अवस्था धादिङ जिल्लामा झनै दयनीय रहेको छ । विषेशगरी चेपाङ, दलित र समाजबाट पछाडि पारिएका न्यून आय भएका पारिवारका बालबालिकाहरु कुपोषणको शिकार बनेका छन् । जसले गर्दा जिल्लामा सरकारी र गैरसरकारी संस्थाहरुले सञ्चालन गरेका पोषण सम्बन्धी कार्यक्रमहरु कागजमा मात्र प्रभावकारी देखिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङका अनुसार २८ हजार ६८२ जना बालबालिकाहरुमा गरिएको पोषणसम्बन्धी सर्वेक्षणमा प्रशस्त मात्रामा यस्ता बालबालिकाहरु भेटिएको बताउँदै उपचार गर्ने सुविधाहरु भने गम्भीर प्रकृतिका कुपोषित बालबालिकालाई उपचार गर्न ११ र मध्य खालका उपचार गर्न लाई ३२ स्थानमा सेल्टर खोलिएको कार्यालयले जनाएको छ ।
17191462_1279029698842798_2329502678663636531_nकार्यालयका अनुसार कडा र मध्यम खाले गरी करिब सात सयको हाराहारीमा बालवालिकाहरु कुषोषित रहेका छन् । सरकारले दिएको कुनै पनि सहयोग नपाएको गुनासो गर्दै साँखुका मिजार समुदायका मानिसहरु आफूहरुलाई दलित भएका कारण उपेक्षा गरिएको उनीहरुको आरोप छ ।
भूकम्प पश्चात त धादिङ जिल्लामा दर्जनौ गैरसरकारी संस्थाहरुले पोषण कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् । तीनघरेका दलित समुदायका बालबालिकाहरुले सरकारले पाँच वर्ष भन्दा मुनिका बालबालिकाहरुलाई दिने कुनै पनि सेवा सुविधाहरु नपाएको स्थानीय दलित अभिभावकहरुले बताए । जिल्लाभर करिब ३६ हजारको हाराहारीमा पाँच वर्ष मुनिका बालबालिकाहरु रहेका छन् ।

फोटो क्याम्पस : धादिङको नीलकण्ठ नगरपालिका–२ तीनघरेकी ६ वर्षीय बालिका ओममाया मिजार आमाको साथमा ।