धादिङमा एमाले कार्यकर्ताको हत्या, तीन गम्भीर घाइते

536 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ जोगिमारास्थित पिपलभञ्ज्याङमा आइतबार राति एमाले कार्यकर्ताको हत्या भएको छ। बन्दै गरेको झ्यालढोका नहालिएको घरमा आइतबार राति ३० वर्षीय लक्ष्मण चेपाङको हत्या भएको प्रहरीले जनाएको छ। हत्या गरी त्रिपाल र जस्तापाताले छोपेर छाडिएको अवस्थामा शव भेटिएको प्रहरीले बताएको छ। स्थानीय तह निर्वाचनको मतदान गरेपछि घरको काम गरेर बसेका चेपाङलाई हानिएको लठ्ठी सोही स्थानमा रगत लत्पतिएको अवस्थामा भेटिएको छ। सोही घरसँगै रहेको रेशम चेपाङको पसल फोरेर सामान लुटिएको स्थानीय दीप श्रेष्ठले जानकारी दिए। केही दिनदेखि लक्ष्मण चेपाङ र उनका भाइलाई भोट नहालेमा मार्ने धम्की आइरहेकाले सोही आधारमा हत्या भएको मृतकका भाइ लालबहादुर चेपाङले जानकारी दिए।
यसै गरी धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ मा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ । गएराति भएको झडपमा एमालेका तीन कार्यकर्ता गम्भीर घाइते भएका छन् ।

निर्वाचन परिणाम आफ्नो पक्षमा आइसकेको भन्दै कांग्रेसका कार्यकर्ताले गएराति आक्रमण गरेको एमाले कार्यकर्ता भिमबहादुर थापाले जनाएका छन् ।

कांग्रेसको वडा अध्यक्षको उम्मेदवार हस्तबहादुर थापा मगरको नेतृत्वको टोलीले गरेको आक्रमणमा परि एमाले कार्यकर्ताहरु ललित थापा मगर, गणेश थापा मगर र राजेन्द्र थापा मगरलाई गम्भीर घाइते भएका छन् । झडपका क्रममा कांग्रेस कार्यकर्ता मिलन भन्ने धनबहादुर मगर पनि घाइते छन् ।

घाइतेहरुलाई हिजैराति धादिङ बेसीबाट गएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि काठमाडौं लगिएको छ ।

कांग्रेस कार्यकर्ताले खुकुरी, रड, तरबार जस्ता घरेलु हतियार प्रयोग गरी आक्रमण गरेको पीडितले बताएका छन् ।