देशभर मनसुन अझै सक्रिय हुन सकेन

1008 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पूर्वी नेपालबाट २५ जेठमा प्रवेश गरेको मनसुन देशैभर अझै सक्रिय हुन सकेको छैन । कमजोर रूपमा मनसुन नेपाल प्रवेश गरेका कारण सक्रिय हुन ढिलाइ भएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् वरुण पौडेलका अनुसार बंगालको खाडीबाट कमजोर रूपमा जलवाष्पयुक्त हावा प्रवेश गरेकाले मनसुनमा ढिलाइ भएको हो । ११ दिन बितिसक्दा पनि मनसुन पूर्वी नेपालमै केन्द्रित छ । ‘नेपालमा मनसुन प्रवेश गर्दा पश्चिमी वायुको प्रभाव कमजोर थियो,’ पौडेलले भने, ‘पूर्वी वायुले पश्चिमी वायुलाई विस्थापित गर्न नसक्दा ढिलो भएको हुन सक्छ ।’ अझै पश्चिम नेपालमा पश्चिमी वायुको प्रभाव रहेको पौडेलले बताए । केही दिनअघि पश्चिमी वायुको प्रभाव हुँदा काठमाडौंसहित पश्चिम नेपालका केही ठाउँमा वर्षासमेत भएको थियो । बुधबार उपत्यकासहित पूर्वी नेपालका धेरैजसो क्षेत्रमा वर्षा हुने पौडेलले बताए नयाँ पत्रिका दैनिकमा खबर छ ।

तर, नियमित प्रक्रिया
मौसमविद् पौडेलले मनसुन ढिलो गरी देशैभर सक्रिय हुने नियमित प्रक्रिया भएको बताए । मनसुन प्रवेश हुँदा र देशैभर सक्रिय हुँदा ढिलो–चाँडो हुने पौडेलले बताए । यस्तो हुनुमा जलवाष्पयुक्त हावाको प्रभाव कति बलियो छ भन्ने विषयले प्रभाव पार्ने पौडेलले बताए । भारतमा पनि अझै देशभर मनसुन सक्रिय हुन सकेको छैन ।

धुलोयुक्त वर्षा रोकियो
गत शनिबार, आइतबार र सोमबार भएको धुलोसहितको पहेँलो वर्षा मंगलबारदेखि बन्द भएको मौसमविद् वरुण पौडेलले बताए । ‘राजस्थानको थार मरुभूमिबाट आएको धुलोको वर्षा बन्द भइसकेको छ,’ उनले भने, ‘सोही स्थानबाट सामान्य धुलो आएपछि बाहिर देखिने गरी धुलोयुक्त पहेँलो वर्षा हुँदैन ।’ मरुभूमिनजिकका देशमा धुलो मिसिएको वर्षा हुने गरे पनि नेपालमा भने पहिलोपटक भएको हो । यसरी आकाशबाट धुलो मिसिएको पहेँलो वर्षा भएपछि सर्वसाधारणसमेत अचम्मित भएका थिए । नेपालमा सबैभन्दा धेरै धुलो मिसिएको पहेँलो वर्षा तराईपछि हिमाली भूभागमा भएको थियो । तर, हिमाली क्षेत्रमा भने यस्तो वर्षा नभएको महाशाखाले जनाएको छ ।

मंगलबार कहाँ कति वर्षा भयो
जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाको तथ्यांकअनुसार मंगलबार साँझसम्ममा सबैभन्दा धेरै वर्षा पोखरामा भएको छ । पोखरामा १३ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । यस्तै, डडेल्धुरामा १ दशमलव ५ मिलिमिटर, लुम्लेमा १ दशमलव ५ मिलिमिटर र धरानमा शून्य दशमलव २ मिलिमिटर वर्षा भएको छ ।