कोरोना संक्रमित ९९ मध्ये २२ जना निको भएर घर फर्किए

1076 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं – नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ९९ जना पुगेको छ । बुधवार पर्साका १७ जनामा भाइरस पोजेटिभ देखिएसँगै संक्रमित संख्या ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। एकातिर संक्रमण बढिरहेको छ भने अर्कोतिर उपचारपछि स्वस्थ भएर घर फर्किनेको संख्या पनि बढिरहेको छ।

बुधवारसम्म २२ जना संक्रमित भाइरसलाई परास्त गर्दै घर फर्किएका छन्। बुधवारमात्रै कोशी अस्पतालमा उपचाररत ६ जना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका छन्। उनीहरु १९ औ दिनमा घर फर्किएका हुन्। यससँगै डिस्चार्जको संख्या २२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए।

प्रदेश १, २ र ५ खतरामा

स्वास्थ्य मन्त्रालयका अनुसार तीन वटा प्रदेशमा संक्रमण तीव्र रुपमा बढेको छ। प्रदेश नम्बर १, २ र ५ मा तीव्र रुपमा संक्रमण बढिरहेको तथ्यांकले देखाएको छ।

तथ्यांकअनुसार प्रदेश १ मा संक्रमितको संख्या ३१ जना पुगेको छ। त्यसैगरी दुई नम्बर प्रदेशमा ३० जना संक्रमित देखिएका छन्। प्रदेश ५ पनि पछिल्लो समयमा कोरोना संक्रमणको हटस्पट बनेको छ। यहाँ २४ जनामा संक्रमण देखिएको छ।

यी तीन वटै प्रदेश भारतसँग जोडिएका र वारपार बढी आवतजावत हुने प्रदेश हुन्। प्रदेश २ अझ बढी भारतसँग घनिष्ठता भएको प्रदेश हो। यी प्रदेशमा संक्रमण तीव्र रुपमा बढ्दा खतराको घण्टी बजेको छ। मानिसहरु थप सतर्क हुनुपर्ने अवस्था आएको छ।

बाँकी प्रदेशहरु बागमतीमा ७, गण्डकीमा २, कर्णालीमा ० र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य स्थिति सामान्य छ।

६७ हजारको परीक्षण

सरकारले ६७ हजारभन्दा बढी मानिसमा कोरोना भाइरस परीक्षण गरेको छ। परीक्षणमा ९९ जना संक्रमित देखिएका छन् भने २२ जना निको भएर घर फर्किएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४ हजार ९६ जनाको परीक्षण गरेको छ। आरडीटीबाट ५२ हजार ९ सय ७० वटा परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा ९ सय ९१ वटा परीक्षण गरिएको छ।

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार क्वारेन्टाइनमा १९ हजार ७ सय ३४ छ। आइसोलेसनमा संक्रमित र विरामीको संख्या १ सय ३६ जना छन्।

रेड जोनमा ३ सय ३३ जना छन्। सम्भावित संक्रमित हुनसक्ने भएकाले ट्रेसिङ भइरहेको छ।

उनका अनुसार डिस्चार्ज भएका तीन जनामा फेरि संक्रमण देखिएको छ। सनसिटी अपार्टमेन्ट एक र वीरगंजका दुई जनामा पुनस् संक्रमण देखिएको छ। उनीहरु यसअघि रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज भएका थिए। उनीहरुलाई अस्पताल ल्याएर पुनस् उपचार सुरु गरिएको छ।

प्रवक्ता देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा पर्साका थप १७ जनामा संक्रमण देखिएको बताए। २ महिने शिशुदेखि ६६ वर्ष उमेर समूहका उनीहरुमध्ये १० जना पुरुष र ७ जना महिला छन्।

यससँगै कुल संक्रमितको संख्या ९९ पुगेको छ। ७१ जना पुरुष छन्। २८ जना महिला छन्।

  • पहिलोपोष्टबाट