धादिङमा एग्रोभेट पसलको अनुगमन-किराना पसलमा बिषादी बिक्री

1830 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
download (2)धादिङ,१२ साउन : विषादी बिक्रीमा धादिङ जिल्लाका एग्रोभेट सञ्चालकहरु संवेदनशील नभएको पाइएको छ ।
प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको अगुवाईमा आईतवार जिल्लाको नौविसे देखि जोगिमारा गाविस सम्मको सडक छेउका एग्रोभेट पसलहरुको अनुगमनका क्रममा यस्तो भेटिएको हो । अनुगमनका क्रममा नौविसेवजारमा रहेको एआर इन्टरप्राईजेजले किराना पसलमा बिषादी पनि बिक्री गरिरहेको भेटिएपछि पसलमा रहेको बिषादी अनुगमन टोलीले नियन्त्रणमा लिएर छानविन शुरु गरेको छ ।
जिल्लाबाट उत्पादित तरकारी जन्य कृषि उपजमा अत्याधिक विषादीको मात्रा भेटिएपछि प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको अगुवाईमा बरिष्ठ कृषि विकास अधिकृत होमराज विष्ट,वाली संरक्षण अधिकृत श्रीकृष्ण न्यौपाने, सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्मा लगायतको टोलीले आईतवार राजमार्ग क्षेत्रका एग्रोभेटहरुको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा प्रतिबन्धित नभएपनि “रेड लेभल” उच्च जोखिमका र म्याद नाघेका विषादी बिक्री गर्दै गरेको भेटाएको वताईएको छ । अनुगमन टोलीले आईतबार राजमार्ग क्षेत्रका १२ वटा एग्रोभेट पसलको अनुगमन गरेको छ ।
जिल्ला कृषि विकास कार्यालय धादिङको पहलमा धादिङको दक्षिणी क्षेत्र पृथ्वी राजमार्गका बजारमा सञ्चालन भएका एग्रोभेट पसलको अनुगमन गरिएको हो । अनुगमनको क्रममा एग्रोभेट पसलहरुमा राखिएका विषादीहरु व्यवस्थित तरिकाले राख्न, सरसफाइमा ध्यान दिन, किसानलाई विषादी प्रयोग गर्ने विधि राम्रोसंग सिकाउन र बाली टिप्ने समयको बारेमा जानकारी गराउन निर्देशन गरिएको थियो । अनुगमनको क्रममा धादिङको नौविसे गाविसको खानीखोलामा किराना पसलबाट रासायनिक विषादी समेत विक्रि गरेको पाइएको जिल्ला कृषि विकास कार्यालय धादिङका वरिष्ठ कृषि विकास अधिकृत होमराज विष्टले बताउनु भयो । खानीखोलामा रहेको एआर इन्टरप्राइजेज नामक किराना पसलमा अनुमती विनै रासायनिक विषादी विक्रि हुने गरेकाले सबै विषादीहरु जफत गरिएको पनि विष्टले बताउनु भयो । रासायनिक विषादी विक्रेताले तालिम प्राप्त गरी विक्रिी अनुमति लिनु पर्ने र छुट्टै पसल सञ्चालन गर्नु पर्नेमा यो नगरेकाले विषादी जफत गरिएको विषादी निरीक्षक श्रीकृष्ण न्यौपालेले बताउनु भयो । नियमानुसार विषादी विक्रि अनुमती लिएपछि जफत गरिएको विषादी फिर्ता गर्ने पनि निरीक्षक न्यौपानेले बताउनु भयो ।
अनुगमनका क्रममा केहि रासायनिक विषादी तथा विउविजन विक्रेताले साइनबोर्ड नराखेको, अनुमतीपत्र देखिने स्थानमा नराखेको र म्याद सकिएका विषादीहरु फिर्ता नगरेको पाइएकाले सात दिनभित्र सबै प्रक्रिया पूरा गर्न पनि निर्देशन दिइएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको नेतृत्वमा अनुगमनमा रहेको टोलीले नौविसे, थाक्रे, भुमेस्थान, बैरेनी पीडा लगायतका गाविसमा सञ्चालन भएका एग्रोभेटहरुको अनुगमन गरेको हो । किसानहरुले उत्पादन गरेका तरकारीमा ठूलो परिमाणमा रासायनिक विषादी प्रयोग गरेको समाचार आइरहेका बेला मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने विषादीहरु विक्रिी नगर्न र रातो लेबलका विषादीहरु विक्री नगर्न निर्देशन गर्न अनुगमन गरिएको पनि वरिष्ठ कृषि विकास अधिकृत विष्टले बताउनु भयो ।