एघार करोडको लगानीमा अल्पाईन लाईभस्टक -उत्पादन नियमित

781 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
alpine meatखयरघारी –स्वास्थ्यवद्र्धक मासुको आपूर्तिको लागि ११ करोडको लगानीमा निजी क्षेत्रले धादिङमा संचालनमा ल्याएको अल्पाइन मिटले अब आफ्नो सेवालाई निरन्तरता दिने भएको छ । धादिङको भुमेस्थान गाविस वडा नम्बर ८ खयरघारीमा डेढ बर्ष अघि १७ रोपनी जमिनमा स्थापना गरिएको अल्पाईन लाईभस्टक एण्ड बायो ट्रेड प्रालिले उत्पादनका लागि आवश्यक पर्ने मापदण्ड अनुसारका खसी नपाउंदा केही समय उत्पादन रोकेपनि अब नियमित भएको जनाएको छ ।
alpine -1कम्पनीका संचालक गोविन्द भट्टराईका अनुसार अल्पाईनले नेपालमै पहिलो पटक व्यवसायिक रुपमा फ्रोजन मटन बजारमा ल्याएको थियो । पशु बधशाला र मासु जाँच ऐन २०५५ ले तयार पारेको मापदण्ड अनुसार उद्योग स्थापना गरिएपनि उद्योगको मापदण्ड अनुसारको खसी नपाउने समस्याले केही समय उत्पादन रोकिन पुगेको भट्टराईले बताउनु भयो । पृथ्वीराजमार्गको नजिकै रहेको उद्योग १७ रोपनी जग्गामा फैलिएको कम्पनीले जनाएको छ ।
काठमाडौँको बजारलाई लक्षित गरी सुरु गरिएको उद्योगमा ८ घण्टामा तीन सय खसी काट्ने क्षमता छ । दिनमा दुई सिफ्ट गरी दैनिक सात सय खसी काट्न सकिने क्षमता भएपनि अहिले साताको दुई मात्र उद्योगले उत्पादन दिने गरेको संञ्चालक भटराईले जानकारी दिनुभयो । अधिकांश काम मेसिनबाटै हुने भएकोले उद्योगमा थोरै जनशक्तिले पनि काम सम्पन्न हुने उहांले वताउनु भयो । नियमित उत्पादनका लागि ठुलो परिमाणमा खसी आवश्यक हुने भएकाले खसीपालन ,ढुंवानी ब्यापारी देखि मासु उत्पादन, वितरण सम्म अप्रत्यक्ष रुपमा रोजगारी सिर्जना हुदै आईरहेको छ , बजारको ग्यारेन्टी भएपनी उन्नत जातको खसी बाख्रा पालनमा जिल्ला र स्वदेशमै हुन सके ठुला भारतबाट ल्याउनु नपर्ने र ठुलो परिणामको रकम देशभित्रै रहिररहने भट्टराईको सुझाव छ ।
कम्पनीका अध्यक्ष माधव अर्यालका अनुसार अहिले काठमाडाको बजारमा दैनिक १५ देखि १८सय वटा खसी खपत हुने गर्दछ । विकल्प नहुंदा उपभोक्ता अव्यबस्थित मासु खान बाध्य हुंदै आईरहेका छन । उद्योगले चिकित्सकबाट पशु परिक्षण गराई छाला र बोसो रहित शुद्ध मासु बजार उत्पादन गरिरहेको उहांले वताउनु भयो । उद्योगमा स्वस्थ कामदार राखेर शुद्ध र सफा औजार प्रयोग गर्ने गरिएको संचालकहरु बताउंछन । एक बर्ष अघि परिक्षण उत्पादन सुरु गरेपछि उद्योगले काठमाडांैमा तीनवटा बिक्रि काउन्टर खोल्नुका साथै बसुन्धारा, सामाखुसी र बानेश्वरको थापा गाउँमा कम्पनीकै बिक्रि काउन्टर खोलेर बेचविखन शुरु गरेको थियो । राजधानीका डिपार्टमेन्ट स्टोर र ग्रोसरी सपमा समेत अल्पाईन मिट पाईने गरिएकोमा माग भएजति उप्तादन दिन नसकेपछि अहिले आफ्नै बिक्री केन्द्रवाट मात्रै काठमाण्डौमा उत्पादन बिक्री गर्ने गरेको भट्टराईले वताउनु भयो ।
बजार पहुँचमा प्राविधिक कठिनाइ तथा सरकारी असहयोग कारण लगानी डुब्ने अवस्थामा पुगेपनि आंफुहरुले उत्पादन दिन नछाडेको संचालकहरु बताउंछन । चरम लोडसेडिङका कारण राजधानीसहितका देशका प्रमुख शहरहरुमा बिक्री वितरणको लागि सहज व्यवस्था नहुनु, स्वस्थ र मापदण्ड पुगेका खसीको अभाव हुनु जस्ता कारणले केही समय खसीको वध गर्ने कार्य रोकिए पनि अव नियमित भईसकेको कम्पनीले जनाएको छ । करिब ११ करोड लगानी रहेको अल्पाइन लाइभस्टक एण्ड बायो ट्रेड प्रालिमा साँढे पाँच करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन भने सोही हाराहारीमा प्रवद्र्धकहरुले सेयर लगानी गरेको बताएका छन ।
नेपाल सरकारलाई काठमाडौं महानगरपालिकाभित्र एकीकृत मासु स्टोर खोल्न आग्रह गरे पनि बेवास्ता गरेको कम्पनीले जनाएको छ । भाषणमा ‘कृषि क्रान्ति र परिवर्तनको कुरा गरिन्छ, तर यत्रो लगानीमा स्थापना भएको उद्योगको सामान्य मागलाई राज्यले सुनुवाई नगरेको संचालक भट्टराईले वताउनु भयो । २०५५ सालमा बनेको पशु वधशाला तथा मासु जाँच ऐन २०५५, नियमावली २०५७ र निर्देशिका २०६४ कार्यान्वयनमा ल्याएको खण्डमा नेपालमा पहिल्ऽो पटक स्वास्थ्य मासुको लागि स्थापना गरिएको मासु उद्योगले गति लिने संचालकहरुको भनाई छ ।
अल्पाइन मिटद्वारा उत्पादित मासु गुणस्तरीय मानिन्छ । खसी काट्नु १२ घण्टा अघि पशु चिकित्सकले परीक्षण गरेपछि छुट्टै खोरमा राखेर वध गरेर रगत र छाला झिकिएको मासुलाई माइनस २५ देखि माइनस ३० डिग्री सेन्टिग्रेटमा २४ घण्टा राखेपछि मात्रै बाहिर निकालेर टुक्रा पारेर प्याक गरेर मासु बजारमा पुर्याइन्छ । चिसोमा राखिएको मासु भएकोले पकाएर खाँदा चिसो तातो दुवैका कारण सबै प्रकारको किटाणु नष्ट हुने संचालकहरु बताउंछन ।