जहाँ मान्छेले हलो तानेर मकै रोपिन्छ

1421 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 haloगोरखा,फागुन २५ –जब मकै रोप्ने समय आउँछ, त्यतिबेला गोरखाको बारपाकमा एउटा अनौठो दृश्य देखिन थाल्छ । मानिस हलो बोकेर बारीतिर लाग्छन् । परिवारका बलियाबांगा गोरुजस्तै नारिन्छन् । अर्काले हलो जोत्छन् र मकैको बिउ रोप्ने पछाडि पछाडि हुन्छन् ।   बाहिरी संसारलाई अनौठो लागे पनि बारपाकबासीका लागि यी दृश्य बाबुबाजेको पालादेखि सामान्यजस्तै भइसकेका छन् । स्थानीय बासिन्दा भन्छन्-‘एकातिर गाउँमा गोरु थाेरै हुने र अर्कोतिर गोरुले जोतेर मकै रोप्दा ढिलो हुने भएपछि मान्छेले हलो तानेर छिटो मकै रोप्न थालियो र पछि यही अभ्यास परम्परामा बदलियो ।’ ‘कुनै अन्धविश्वास या अरु कारणले होइन,’ स्थानीय सुकबहादुर विकले भने, ‘गोरु प्रयोग गर्दा एक दिनमा पाँच मानासम्म विउ लगाउन सकिन्छ तर मान्छेले हलो तान्यो भने चार पाथीसम्म सकिन्छ, पछि यही कुरा परम्परा भयो ।’ यो परम्परा आफ्नो बाबुबाजेदेखि नै चल्दै आएको उनले बताए । मान्छेले हलो तान्ने बाँझो बारीमा भने होइन् । पहिले गोरु लगाएरै बाँझो जोतिन्छ । त्यसपछि फेरि मान्छेले खनेर माटो अझ मसिनो बनाइन्छ । अनि, बल्ल मान्छेले हलो तानेर मकै रोपिन्छ । मान्छेले तान्ने हलो भनेको गोरुका लागि प्रयोग गरिनेभन्दा अलि हल्का र सानै हुने गरेको छ ।   मकैको बिउ रोप्नेवालाबाहेक मान्छेले हलो तान्ने प्रचलन अरु बेलामा नभएको स्थानीय विकले बताए । उत्तरी गोरखाका बारपाकबाहेक लाप्राक,मान्बु र गुम्दालगतयका गाविसमा मान्छेले हलो तानेर मकै रोप्ने प्रचलन छ । –