दलित बिहे गर्ने परिवारलाई सामाजिक बहिष्कार,

461 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गोरखा : ‘चोखिएर आए कारबाही फुकुवा गर्ने, कुलमा मिसाउने भने। अनि गएको माघको १ गते घरमा रुद्री गरेँ। नारायण पूजा लगाएँ, होमहोमादी गरेँ’, छोराले दलित जातकीसँग बिहे गरेको भन्दै सामाजिक बहिष्कारको कारबाही खेपिरहेका अश्राङ-२ झिँगटेका टंकबहादुर खड्काले भने, ‘यो फागुनको २९ र ३० गते कुलदेवता पूजा गर्न पाइने भयो भनेर सबैसँग मिलेर सरसफाइ गर्न गएँ। तर दिएनन्।’

कुलदेवताको पूजामा आए काट्ने मार्ने धम्की दिएको उनले बताए। ‘आइस् भने बलीको बोका मार हान्ने ठाउँमा तँलाई मार हान्छु भनेर कुलको धामीले भनेको छ’, शान्तिसुरक्षा माग्दै मंगलबार जिल्ला प्रहरी कार्यालय आइपुगेका टंकबहादुरले भने, ‘ल म त नआउँला, मेरो छोरी, ज्वाइँभान्जा आउँछन्। पाहुनालाई मानसम्मान गर्नुपर्छ, खुवाउनुपर्छ। बोका त छोइन्न होला। मन्दिरमा लगेर बोका त चढाइदेऊ भनेँ, तर बढी नबोल्। तँ आउँदै नआ, छिर्दै नछिर भन्दै ताउरमाउर गर्छन्।’ केही सीप नचलेपछि प्रहरीमा उजुरी दिन आएको उनले बताए।

दलित जातकी केटीसँग बिहे गरेकाले गाउँमा बस्न नसकेकाले न्यायको ढोका ढक्ढक्याउन ६२ बर्षे टंकबहादुर, उनकी श्रीमती सीता, छोरीहरू मीना र बिना मंगलबार सदरमुकाम आएका छन्।

उनीहरूले शान्तिसुरक्षा र कुलदेवताको पूजामा सहभागी हुन माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन्। गत आइतबार मन्दिर सरसफाइमा जाँदा आफूमाथि ज्यान मार्ने धम्की दिएका पाँचजनालाई कारबाही गर्न पनि निवेदनमा माग गरेका छन्।

टंकबहादुरका छोरा कृष्णबहादुरले २०५९ सालमा स्थानीय मुना अछामीसँग बिहे गरेका थिए। दलितसँग बिहे गरेको भन्दै कृष्णबहादुर र मुनालाई त्यतिबेलै गाउँमा बस्न नदिएपछि उनीहरू अहिले पनि पोखरामा बस्दै आएका छन्।

अछुत जातकी केटी बिहे गरेको भन्दै गाउँलेले धनसम्पत्ति कमाएर पाल्ने छोरालाई घर आउन नदिएको र बुढेसकालमा दु:ख गरेर खान पनि नदिएको कृष्णकी जेठी दिदी मीनाले दु:खेसो गरिन्। ‘बुबाआमा ६४/६५ बर्ष भइसक्नुभयो। जेठो छोरो बित्यो। अब बाँकी बुढेसकालका बुबाआमालाई पाल्ने भाइलाई पनि गाउँमै आउन दिँदैनन्; मीनाले भनिन्।

दलित जातको छोरी बिहे गरेको भन्दै दाजुभाइ खलकले बुबाको श्राद्ध गर्न पनि नदिएको टंकबहादुरको गुनासो छ। ‘हामी ६ भाइ दाजुभाइ हौं। अरू पाँच भाइले श्राद्ध गर्छन् तर मलाई गर्न दिँदैनन्। सिदा चढाउन पनि दिँदैनन्’ उनले भने ‘हामीले माघ १ गते उनीहरूले भनेअनुसार पूजा गर्‍यौं। घरैपिच्छे सबैलाई बोलायौं तर एकजना पनि आएनन्। खेताला डाक्यो, आउँदैनन्। उनीहरूको मेला पूजाआजा, बिहेबटुलमा पनि बोलाउँदैनन्। मेलापर्ममा पनि मिसाउँदैनन्।’ ३५ घरधुरी रहेको सो गाउँमा घरजग्गा किनबेचमा समेत प्रतिबन्ध लगाएको उनी गुनासो गर्छन्।

उनको पाँच बहिनी छोरी छन्। दु:ख बिरामी पर्दा छोरीहरूले मात्र हेरचार गर्ने गरेका छन्।

गाउँमा सुखशान्तिपूर्वक बस्न पाउनुपर्ने उनको परिवारको माग छ। आफ्नो रीतिथितिअनुसार दलित बिहे गरेकाले सबै काममा रोक लगाएको टंकबहादुरका भतिज नाता पर्ने रामकुमार खड्का बताउँछन्। ‘हामीले गाउँघरमा चलेको चलनअनुसारै गरेका हौं’ रामकुमार भन्छन् ‘यो हाम्रो खलकको आन्तरिक कुरा हो। अरूलाई सरोकार छैन।’

प्रहरीले निवेदन परेको भन्दै यसबारे छानबिन हुने जिल्ला प्रहरी कार्यालय गोरखाका निमित्त प्रमुख प्रहरी निरीक्षक दीपक श्रेष्ठले बताए। ‘पीडितहरूको निवेदन आएको छ’ श्रेष्ठले भने, ‘बोर्लाङ प्रहरी चौकीलाई भनेर भोलि नै दुई पक्ष राखेर वास्तविकता बुझ्ने प्रयास गर्नेछु।’ अन्नपुर्ण पोष्टबाट