सास र सम्पत्ति सकिनै लागेपछि अर्को अस्पताल रिफर

684 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नौमहिने बच्चा बिरामी परेपछि पोखरा खहरेका दिनेशबहादुर पौडेलले बिहीबार मणिपाल शिक्षण अस्पताल लगे। यसअघि पोखराकै एक पोलिक्लिनिकमा जँचाइएका बच्चालाई झन् बिरामले च्यापेर मणिपाल पुर्‍याउँदा काठमाडौं लैजान भनियो।
annapurna hospital_birami
पोखरामा पौडेलजस्तै बिरामीको सास जोगाउन क्लिनिक र अस्पतालमा भौंतारिँदै हिँड्ने प्रशस्त भेटिन्छन्। दक्ष जनशक्ति र भौतिक पूर्वाधार नभए पनि अस्पतालहरूले भर्ना लिएर बिरामीको खर्च गराइदिने अनि सास र सम्पत्ति पनि सकिन लागेपछि मात्रै अर्को अस्पतालमा पठाउने प्रवृत्ति बढ्दो छ। सुरुमा औषधि पसल र क्लिनिकबाट सुरु हुने उपचारयात्रा निजी अस्पताल, क्षेत्रीय अस्पताल, शिक्षण अस्पताल र यहाँ पनि निको नभएपछि काठमाडौं र विदेशसम्म पुग्नेगरेको अन्नपूर्ण पोस्टमा खबर छ ।

रोगले थलिएपछि स्थानीय क्लिनिकदेखि राजधानीका अस्पतालसम्म भौंतारिँदा ऋणमा चुर्लुम्म डुबेको र बिरामीको ज्यान पनि बचाउन नसकिएको पोखरा उपल्लोकुलाकोढिलका सुजिन नेपालीले बताए। ‘बिरामी बुबालाई सुरुमा पोखराकै डाक्टरलाई देखाएर उपचार गराएँ’, उनले भने, ‘उच्च रक्तचाप र सुगर भएकाले जहाँ लगेर देखाउँदा पनि एउटै जाँच धेरैपटक गर भनेपछि लाखौं रुपयाँ पनि सकियो, अन्त्यमा ज्यान पनि रहेन।’

म्याग्दीकी सपना मगरको पनि पाठेघरको समस्या भएपछि गाउँका क्लिनिकदेखि पोखराका नाम चलेका अस्पताल र मणिपालमा समेत उपचार गराउँदा लाखौं रुपैयाँ सकियो। ‘ढाड दुख्ने र सेतोपानी बग्ने समस्या भएकी पत्नीको उपचार गर्दा भएको जग्गा पनि सकियो, बूढी पनि नरहने भई’, उनका पति पोमबहादुरले भने, ‘तीन वर्षसम्म अस्पतालमा धाएँ, पछि भरतपुर क्यान्सर अस्पतालमा देखाउँदा क्यान्सर पो भएको रहेछ। डाक्टरले अब बाँच्दिन भनेका छन्।’

गम्भीर बिरामीलाई अन्तिम अवस्थामा मात्र अर्को अस्पतालमा पठाउने र अर्कोतिर उपचारका क्रममा बिरामीको मृत्यु भइहालेमा आक्रमण हुनसक्ने आशंकाले भर्ना नलिने प्रवृत्तिका कारण बिरामीले सास्ती खेप्दै आएका छन्।

अस्पतालमा छोराको सीटी स्क्यान र अन्य परीक्षण गर्दा खराबी नदेखिए पनि डाक्टरले काठमाडौं रिफर गरेपछि लैजान लागेको पौडेलले बताए। ‘रिपोर्टमा त खासै केही खराबी देखिएको छैन’, उनले भने, ‘कान्तिबाल अस्पतालमा राम्रो हुन्छ भनेकाले लान लागेको हुँ।’

पोखराबाट मात्रै दिनहुँ कम्तीमा पाँचजना बिरामी काठमाडौंका विभिन्न अस्पतालमा लैजाने सिद्धार्थ क्लबका एम्बुलेन्स चालक ईश्वर श्रेष्ठले बताए। मुटु, मिर्गौला, मस्तिष्क, कलेजो, नसा, फोक्सोका बिरामीलाई यहाँबाट बाहिर पठाइन्छ। विभिन्न अस्पतालबाट रिफर भएका बिरामी आउने पश्चिमाञ्चल क्षेत्रीय र मणिपाल अस्पतालले दैनिक करिब १० जना बिरामीलाई अर्को अस्पतालमा रिफर गर्छन् ।