पहिरोको जोखिममा परेकालाई सुरक्षित स्थानमा सारिदै

492 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

20150524_084611केशव अधिकारी
धादिङ,१० जेठ- महाभुकम्प पछि पहिरोको जोखिममा परेका बस्तिका वासिन्दालाई तत्काल सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन उर्जा मन्त्री राधा ज्ञवालीले जिल्ला दैवि प्रकोप उद्धार समिति धादिङलाई निर्देशन गर्नु भएको छ ।
भुकम्प प्रभावित क्षेत्रहरुको स्थलगत अनुगमन तथा त्यहांको पछिल्लो अवस्थाको अध्ययनका लागि धादिङ खटिनु भएका मन्त्री ज्ञवालीले आईतबार धादिङका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा अधिकारीहरुसंग भेट्दै प्रभावितहरुको सुरक्षित स्थानान्तरणका लागि समितिले कार्ययोजना वनाएर अघि बढ्नु पर्ने वताएको हो । संकटमा परेकाहरुको पुर्नवासको व्यवस्था संगै वजार तथा अन्य स्थानमा रहेका जोखिमपूर्ण घर तथा संरचना तत्काल हटाउन आवश्यक समन्वय गरी व्यवस्था मिलाउन पनि मन्त्री ज्ञवालीले प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई आग्रह गर्नु भएको छ ।
DSC_0252बैशाख १२ र त्यस पछिको निरन्तर पराकम्पनका कारण धादिङ जिल्लाको उत्तरी क्षेत्रका पांच गाविसको विभिन्न स्थानका वस्तिहरु पहिरोको जोखिममा पर्न थालेपछि त्यहांका वासिन्दा सुरक्षित वासस्थल खोज्दै गाउं छाडेर सदरमुकाम आउने क्रम बढ्न थालेको छ ।
उत्तरी धादिङको लापा गाविस–२ तेनचेत, तेङचेत र चपाङचेत बासिन्दा भूकम्पले घर भत्काउनुका साथै गाउं माथि धांजा फाट्न थालेपछि सुरक्षित स्थलको खोजी गर्दै सदरमुकाम आइपुगेका छन । त्यहांका ५१ घरपरिवार सुरक्षित बासस्थानको खोजि गर्दै नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा पर्ने साङकोषको व्यक्तिको जग्गामा खुल्लाठाउंमा वसिरहेका छन ।
???????????????????????????????गाउंनै पहिरोको जोखिममा परेपछि तिप्लिङ गाविसको लिङजो,सेर्तुङ गाविसको हिन्दुङ, वोराङ,चालिसा लगायतका गाउं वस्ति,लापा गाविसको कपुरगाँउ,नेवेर,तिर, तिङचेत,तेनचेत,कचेत,चपाङचेत, रि गाविसको करङ, चेपराङ, अन्दर,चोके,गमराङ,रिचेत,झार्लाङ गाविसको किऊँ थली,मेहेन लगायतका वस्तिबाट वासिन्दाहरु गाउं छाड्दै हिड्नेक्रम शुरु भएको छ । लापा गाविसको विभिन्न स्थानवाट सुरक्षित ठाउंको खोजी गर्दै आएका ७१ परिवार अहिले सदरमुकाम धादिङबेसी नजिकै साङकोषमा आएर व्यक्तिको जग्गामा त्रिपाल गाडेर बस्दै आईरहेका छन । अन्य स्थानमा पनि अस्थायी वास स्थल वनाउनेहरुको संख्या बढ्दै गएको लापा गाविसका जिवन तामाङले वताउनु भयो । गाविस भरीका ४सय ५९ परिवार संकटमा परेको तामाङ बताउनुहुन्छ ।
बस्तिनै पहिरोको संकटमा पनै थालेपछि महभुकम्पबाट जोगिएकाहरुको ज्यान जोगाउनु सरकारको पहिलो कर्तव्य भएकाले संकटमा परेका गाउंवस्तिका वासिन्दालाई सुरक्षित स्थानको खोजी गरी वसोवासको व्यवस्था मिलाउन जिल्ला दैवि प्रकोप उद्धार समितिलाई मन्त्री ज्ञवालीले निर्देशन दिनु भएको हो ।
समितिले पनि बिशेषज्ञ तथा स्थानीयवासीको सहयोग लिएर संकटमा परेका वस्तिहरुको पहिचान गरी त्यस्ता ठाउंमा रहेकाहरुलाई तत्काल सुरक्षित स्थानमा सारेर वसोवासको व्यवस्था मिलाउन आवश्यक देखिएको भन्दै सरकारसंग सहयोगका लागि लिखित आग्रह गरेको छ । अहिले सम्म जिल्लाको तिप्लिङ,सेर्तुङ,लापा,रिगाउं र झार्लाङ गाविसको अधिकांश बस्ति,मार्पाक गाविसको सानो पोखरा,कटुञ्जे गाविसको वाहुनगाउं,महोदेवस्थान गाविसको ब्रुसबाङ,जागिमारा गाविसको जवाङ,बेनिघाट गाविसको लामिडांडा,नीलकण्ठ नगरपालिकाको खुर्पेखोला, रिजालथोक लगायतका स्थानलाई संकटग्रस्त क्षेत्रको रुपमा पहिचान गरिएको जिल्ला दैवि प्रकोप उद्धार समितिका अध्यक्ष एवम धादिङका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनु भयो ।
पहिरोको जोखिममा रहेका वस्तिका वासिन्दालाई तत्कालको अन्य सुरक्षित स्थानमा सारेर अस्थायी वसोवासको व्यवस्था मिलाउन जिल्ला स्थित सरोकारवाला सरकारी कार्यालय,राजनैतिक दल, सभासदहरुका साथै गृहमन्त्रालयमा आवश्यक समन्वय भईरहेको घिमिरेले वताउनु भएको छ ।
अस्थायी वसोवासका लागि उचित देखिएको स्थानको पहिचान गरी ति स्थानमा वासवस्न मिल्ने व्यवस्था गर्दै खानेपानी,शौचालय,बिद्युत्तको प्रवन्ध गरिदिन मन्त्री ज्ञवालीले प्रमुख जिल्ला अधिकारी घिमिरेलाई निर्देशन दिनु भएको छ ।