हजार–हजारको नक्कली नोट बनाउने पक्राउ, ‘१६ हजार बजारमा छ’ –

303 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं, भदौ १६ । नक्कली नोट बनाउने तथा कारोबार गर्ने गरेको आरोपमा नुवाकोटका २० वर्षीय दीपक न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर टेकुले बुधबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो । गोंगबु बसपार्क क्षेत्रबाट १ हजार दरका ८० थान र नेपालटारस्थित न्यौपानेको कोठाबाट १ हजार दरका ५५ थान नक्कली नोट र १३ ओटा नक्कली नोट छाप्न ठिक्क पारिएका कागजसहित न्यौपानेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अभियुक्त न्यौपानेले १६ हजार बराबरको नक्कली नोट बजारमा पठाइसकेको पनि प्रहरीले जनाएको छ ।

नेपालटारस्थित ग्रामीण आर्दश कलेजमा स्नातक पहिलो वर्षमा अध्यनरत न्यौपाने बाफलस्थित प्राइम लाइफको वैदेशिक रोजगारी म्यादी जीवन बिमामा काम गर्ने र सोही स्थानमा नोटहरु फोटोकपी गरी नक्कली नोट बनाउने गरेको प्रहरीले जनाएको छ ।

अभियुक्तको अफिसबाट नक्कली नोट बनाउने फोटोकपी मसिन र त्यसमा प्रयोग हुने अन्य सामाग्रीहरुसमेत प्रहरीले बरामद गरेको छ ।