वीरगन्ज र बिराटनगर बाहेक सबै नाकाबाट इन्धन नेपाल भित्रिदैं –

626 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

kailai-vansar-gas21काठमाडौं, असोज २६ । भारतले लगाउँदै आएको अघोषित नाकाबन्दी केही खुकुलो पार्दै लगेको छ । वीरगन्ज र विराटनगरको रानी भन्सार नाकाबाहेक आज(मंगलबार) सबै नाका भएर मालसामानका कन्टेनर र पेट्रोलियम पदार्थका गाडी नेपाल प्रवेश गरिरहेका छन् ।

रुपन्देहीको बेलहिया नाका भएर सोमबार रातीसम्म १ सय ५४ वटा मालबाहक कन्टेनर नेपाल भित्रिएका छन् । यो नाकाबाट दुई वटा पेट्रोल, २ वटा डिजल, पाँच वटा ग्यास बुलेट र चार वटा अक्सिजन बोकेका गाडी नेपाल प्रवेश गरेको भंसार कार्यालयले जनाएको छ ।

यस्तै पूर्वी नाका काँकडभिट्टाबाट पनि मालबाहक कन्टेनर नेपाल भित्रने क्रम जारी छ । सोमबार रातीसम्म यो नाका भएर १ सय ८० वटा मालबाहक गाडी नेपाल भित्रिएका छन् । जसमा २३ वटा डिजल, एउटा हवाई इन्धन, एउटा मट्टितेलको ट्यांकर र ६ बुलेट ग्यास रहेका छन् ।

पेट्रोलका गाडी भने यो नाका भएर आएका छैनन् । यता, विहार विधान चुनावका कारण सोमबारदेखि बिराटनगरको रानी भन्सार भएर कुनै पनि मालबाहक गाडीहरु नेपाल आउन सकेका छैनन् । भारतले हिड्डुल गर्न नाका बन्द नगरे पनि मालबाहक गाडी भने प्रवेशमा रोक लगाएको हो ।

यस्तै, बाँकेको रुपैडिया–जमुनाहा नाका भएर गएरातिसम्ममा ६४ वटा मालबाहक कन्टेनर नेपाल भित्रिएका छन् । यो नाका भएर सोमबार हवाई इन्धन, ग्यास र पेट्रोल बोकेका गाडी भने आएका छैनन् । भारतको गोन्डा डिपोमै पेट्रोल नभएपछि नेपालबाट गएका ट्यांकर उतै थन्किएका हुन् ।

यो नाका भएर सोमबार २७ वटा डिजेलका ट्याङकर भने नेपाल प्रवेश गरेको आयल निगम क्षेत्रिय कार्यालय नेपालगञ्जले जनाएको छ ।

सोमबार धनगढी डिपोबाट नेपाल भित्रिएकोमा २० वटा डिजलका ट्यांकरमा र २ वटा पेट्रोलको ट्यांकर आएकोमा आज ४ लाख लिटर डिजेल र ४० हजार लिटर पेट्रोल आउँदै छ ।

नाकाबन्दीपछि पहिलो पटक यो नाका भएर ईन्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई मागे जति पेट्रोलियम पदार्थ उपलब्ध गराएको हो ।