कटुन्जेमा मरेका जीव सर्प हैनन् : वन्यजन्तु विज्ञ

850 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

05052016123330IMG_1480-1000x0कटुन्जे- स्थानीयवासीहरुले प्रयोग गर्ने खानेपानी मुहान वरपर गत हप्ता मरेको जीव सर्प नभएर खुट्टा नभएको उभयचर सिक्किमे सिसिलियन (दुर्लभ भ्यागुता) प्रजाति रहेको उभयचर तथा सरीसृप विशेषज्ञले बताएका छन् ।

विज्ञको टोली बुधवार स्थानीयवासीहरुले भकाभक सर्पहरु मरेका भनिएको कटुन्जेकै काउलेवास खानेपानी मुहानमा पुगेर अनुसन्धान गरेका थिए ।

त्रिभुवन विश्वविद्यलयका प्राध्यापक समेत रहेका वन्यजन्तु विज्ञ करनबहादुर शाह र उभयचर तथा सरीसृप विज्ञ केवि थापाको टोलीले घटनास्थल वरपर अध्ययन तथा स्थानीयवासीसँग वार्तालाप गरेका थियो ।

स्थानीयवासीहरुका अनुसार सर्पजस्ता देदिने ति उभयचर दशकौं देखि वडानं ५ को उक्त मुहान र वडानं ६ को बाहुनगाउँ मुहानमा फेला पर्थे । ‘स्थानीयवासीहरुले पानी लिन जाँदा सधैंजसो देखा पर्ने ति उभयचरले कसैलाई नटोक्ने र मुहानमै बास बस्ने भएपछि नाग देवताका रुपमा पुज्दै आएका थियौं,’ मुहान वरपरबाट सयौंका संख्यामा मरेका जीव संकलन गर्ने नेपाली सेनाका पूर्व सुवेदार समेत रहेका स्थानीय रामबहादुर बज्राचार्यले बताए ।

पुस्तौंदेखि प्रयोग गर्दै आएको मुहानको ढुङ्गेधारामा स्थानीयले नाग मानेर पुजा गर्ने दुर्लभ खुट्टा नभएको उभयचर मुहान मुन्तिर पनि मरेका थिए । ‘मुहानमा पानी सुकेपछि र अत्याधिक गर्मीले बाहिर निस्केपछि चर्को घामका कारण छाला सुख्खा भइ मरेको हुन सक्ने’ अनुसन्धानमा गएका हिमालयन नेचरका अनुसन्धान अधिकृत एवं उभयचर तथा सरीसृप विज्ञ कुलबहादुर थापाले बताए ।

खुट्टा नभएको कारण देख्दा सानो सर्प जस्तो लाग्ने, आंखा कमै देख्ने, स्पर्शले मात्रै विचरण गर्ने, शरिरमा कत्ला नभएको यो प्रजातिको भ्यागुता पहिहोपटक सन् १९६० मा भारतको सिक्किममा जीववैज्ञानिक एडवार्ड ह्यारिसन टेलरले फेला पारेका थिए ।

सिक्किममै फेला परेको हुनाले विज्ञहरुले यसको नाम पनि ‘सिकिम्म सिसिलियन’नै राखेका थिए । यो प्रजातिको भ्यागुता नेपालको पूर्वी भाग इलाममा सन १९६५ मा फेला परेको र त्यसपछि २०७० मा पाल्पा र २०७२ मा चितवनमा फेला परेको थियो ।

‘नेपालमा यो प्रजाति फेला पर्ने धादिङ चौथो जिल्ला भएको छ,’ विज्ञ प्राध्यापक शाहले भने । भ्यागुताका फुल, चेपागाँडा, साना किरा फट्याग्रालाई आफ्नो आहार बनाउने  यो प्रजातिको मुख्य आहार गड्यौला नै हो ।

गड्यौला नै खाएर बाँच्ने भएकोले यसको नाम ‘गन्यौले साप’ पनि भन्ने गरिन्छ ।

स्थानीय रामबहादुर बज्राचार्यले उक्त जीवका मृत ३० वटा उभयचर सुरक्षित राख्न जिल्ला बन कार्यालय मार्फत प्राकृतिक विज्ञान संग्राहलय, स्वयम्भुमा हस्तातरण गरेका छन् । ‘ थप अध्ययनका लागि सुरक्षित राख्न प्राकृतिक संग्राहलयमा पठाएका हौं,’ जिल्ला वन कार्यालयका सहायक वन अधिकृत सुदिप छत्कुलीले बताए इकान्तिपुरले खबर लेखेको छ ।