भूकम्पको २२ महिना : अनुदानमा बनेन एउटा पनि घर

564 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

ghar-nirman-625x405

काठमाडौं/विनाशकारी भूकम्प गएको २२ महिना बितिसक्दा पनि सरकारी अनुदानबाट अहिलेसम्म पूर्ण रूपमा एउटै घर बन्न सकेको छैन । निजी आवास निर्माणका लागि सरकारले दिने तीन लाख अनुदानमा अन्तिम किस्ता एक लाख रुपैयाँ एकजना पीडितले पनि लगेका छैनन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा प्रस्तुत गरेको विवरणअनुसार गैरसरकारी संस्थाले अनुमानका रूपमा बनाइदिएका घरबाहेक अहिलेसम्म पीडित आफैँले एउटा पनि घर बनाएका छैनन् । विभिन्न गैरसरकारी संस्थाले नमुनाका रूपमा दोलखामा ३२ वटा घर बनाएका छन् । उनीहरूले सरकारको अनुदान परिचालन गरेको भए पनि पीडित आफैँले भने अहिलेसम्म स्वतस्फूर्त रूपमा तेस्रो किस्ता रकम लगेका छैनन् ।

‘व्यक्तिगत रूपमा भन्दा पनि गैरसरकारी संस्थाले नमुना आवास निर्माण गरेकाले ३२ वटा घर निर्माण सकिएको हो,’ स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाइका निर्देशक गणेशराज वस्तीले भने, ‘व्यक्तिगत रूपमा घर बनाउन तेस्रो किस्ताको माग भएको छैन ।’ इकाइका अनुसार दोलखाका ३२ घर निर्माणका लागि सरकारी खाताबाट पैसा गए पनि त्यसको उपयोग गैरसरकारी संस्थामार्फत भएको हो ।

थुप्रियो स्रोत
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले केही समयअघि दोस्रो किस्ताका लागि १२ अर्ब रुपैयाँ निकासा गरेको थियो । त्यो रकम अहिलेसम्म वितरण हुन सकेको छैन । भूकम्पपीडितले मापदण्डअनुसार घर निर्माण गरे तेस्रो किस्ता भुक्तानीका लागि समस्या नहुने प्राधिकरणले जनाएको छ । तर, दोस्रो किस्ता वितरण नै प्रभावकारी हुन सकेको छैन ।

‘हामीले १२ अर्ब रुपैयाँ पठाएका छौँ, १४ जिल्लामा साढे ८ अर्ब पैसा पुगेको छ,’ पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेलले भने । मापदण्डअनुसार पूर्ण रूपमा घर निर्माण गरेर आउनेलाई एकमुष्ट रूपमा तीन लाख रुपैयाँ उपलब्ध गराउन पनि समस्या नरहेको उनले बताए ।

७९८ पीडितले लिए दोस्रो किस्ता
भूकम्पबाट अति प्रभावित १४ जिल्लामा आइतबारसम्ममा सात सय ९८ पीडित परिवारले दोस्रो किस्तास्वरूप एक लाख ५० हजार रुपैयाँ अनुदान प्राप्त गरेका छन् । केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अनुसार सिन्धुपाल्चोकमा एक सय, ओखलढुंगामा ९९, नुवाकोटमा ९९ र रामेछापमा ९७ भूकम्पपीडितले डेढ लाख रुपैयाँ लिएका छन् ।

दोलखामा ९८, गोरखामा ९९, धादिङमा सय, काभ्रेपलाञ्चोकमा ९८, रसुवामा ९४, सिन्धुलीमा ९३ र मकवानपुरमा ९४ परिवारले दोस्रो किस्ता प्राप्त गरेका छन् । काठमाडौं उपत्यकाका तीनवटा जिल्लामा अहिलेसम्म दोस्रो किस्ता रकम वितरण भएको छैन ।

भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका पाँच लाख ३२ हजार लाभग्राहीको बैंक खातामा पहिलो किस्ताको ५० हजार रुपैयाँ पुगेको छ । तर, त्योमध्ये असाध्यै न्यूनले मात्र दोस्रो किस्ता लगेको इकाइको तथ्यांकमा उल्लेख छ । अहिलेसम्म पाँच लाख ५३ हजार लाभग्राहीसँग पहिलो किस्ताको सम्झौता भएको छ ।

निजी आवास निर्माणमा जग हालिसकेका पीडितले दोस्रो किस्ताका लागि आवेदन दिन पाउँछन् । प्राविधिकले परीक्षण गरेर सिफारिस गरेपछि मात्रै पीडितले दोस्रो किस्ता पाउँछन् । अन्तिम किस्तास्वरूप छाना छाउन पीडितलाई सरकारले एक लाख रुपैयाँ दिन्छ नयाँ पत्रिका दैनिकमा खबर छ ।