हतियारधारीलाई पक्रंदा धादिङका एसपि गृहमन्त्रीको कारवाहीमा

701 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

?????????????????????????????????????????????????????????

धादिङ, ३ जेठ । धादिङका प्रहरी प्रमुख शरदकुमार खत्रीलाई प्रहरी प्रधान कार्यालय तानिएको छ । एसपी खत्रीमाथि गृहमन्त्री विमलेन्द्र निधिले डण्डा चलाएका हुन ।  ।

धादिङको खनियाँबास गाउँपालिकामा अध्यक्ष पदमा निर्वाचित  रणबहादुर तामाङका छोरा युल तामाङलाई चुनावको दुई दिन अघि  हतियारसहित पक्राउ गरी थुनामा राख्ने एसपी आफै कारबाहीमा परेका हुन् । चाइनिज पेस्तोलसहित पक्राउ परेका युललाई छाड्न नमानेपछि एसपी खत्रीलाई गृहमन्त्रीको ठाडो आदेशमा प्रहरी प्रधान कार्यालयमा तानिएको छ ।

वैशाख २९ गते युलको साथमा पेस्तोल फेला परेको थियो । खनियाँबास–५ स्थित बच्छलादेवि मतदान केन्द्र बाहिर चेकजाँचको क्रममा तामाङ्गको साथमा पेस्तोल र तिन राउण्ड गोली फेला परेपछि एसपी खत्रीले हातहतियार तथा खरखजना ऐन अनुसार मुद्दा अगाडि बढाएका थिए ।तामाङलाई पक्राउ गरेर मुद्धा अघि बढाएको  बिषयमा धादिङका कामु प्रजिअ समेत एसपि खत्री संग रुष्ट भएका थिए । खत्रीको कारण तामाङ माथि मुद्धा अघि बढेको भन्दै गृहमन्त्री निधिले एसपि खत्रीलाई धादिङबाट सरुवा गराएका हुन ।

करिब एक वर्षदेखि धादिङ प्रहरीको कमाण्ड सम्हालेयता धादिङमा अपराध नियन्त्रणमा उल्लेख्य भूमिका खेलेका धादिङ प्रहरी प्रमुख एसपी शरद खत्रीलाई राजनीतिक दबाब र प्रभाव इन्कार गरेको आरोपमा आज (बुधबार) प्रहरी मुख्यालय तानिएको छ ।

गत वैशाख २९ गते धादिङको खनियाबास–५ बाट प्रहरी  चेकजाँचको क्रममा एक थान पिस्तोल, त्यसमा लाग्ने ३ राउण्ड गोली र एक थान खुकुरीसहित पक्राउ परेका युल तामाङ र जयकुमार तामाङलाई छोड्न नमान्दा एसपी खत्रीलाइ कारबाहीका लागि प्रहरी मुख्यालय तानिएको हो । प्रहरी मुख्यालय स्रोतका अनुसार नेपाल प्रहरीका आईजीपी प्रकाश अर्यालले बुधबार दिउसो ४ बजेभित्र प्रहरी मुख्यालयमा हाजिर हुन उर्दी जारी गरेपछि डीएसपी दीपेन्द्र पञ्जियारलाई चार्ज बुझाएर एसपी खत्री काठमाडौंस्थित प्रहरी मुख्यालयमा हाजिर भएका छन् । धादिङ प्रहरी स्रोतका अनुसार हतियारसहित पक्राउ परेका युल तामाङलाई मुद्दा नचलाई छोड्न राजनीतिक नेतृत्वले दिएको अनावश्यक दबाब नमान्दा उनी प्रहरी मुख्यालय तानिएका हुन् ।

हतियारसहित पक्राउ पर्नेमध्येका युल तामाङ स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट धादिङको खानियाबास गाउँपालिकाको अध्यक्षका उम्मेदवार रणबहादुर तामाङका छोरा हुन् । उनलाई मुद्दा नचलाई छोड्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहसचिव लोकदर्शन रेग्मीमार्फत आईजीपी प्रकाश अर्याललाई दबाब दिएको स्रोतको दाबी छ । प्रहरी मुख्यालय स्रोतका अनुसार देउवाको सोही निर्देशनअनुसार आईजीपी अर्यालले एसपी खत्रीलाई टेलिफोनमार्फत मुद्दा केही नरम बनाएर छिटो पेश गरिदिन निर्देशन दिएका थिए । तर, एसपी खत्रीले अनुसन्धानका लागि समय लाग्ने भन्दै अनुसन्धान सकेर मात्रै मुद्दा पेश गर्न सक्ने अडान लिएका कारण उनलाई अकस्मात् हेडक्वार्टर तानिएको बताइएको छ ।

एसपी खत्रीलाई हेडक्वार्टर तानेलगत्तै आईजीपी अर्यालको निर्देशनमा धादिङको निमित्त प्रहरी प्रमुख डीएसपी दीपेन्द्र पञ्जियारले हतारहतार अनुसन्धानको राय प्रतिवेदन तयार गरेर बुधबार अपराह्न जिल्ला सरकारी वकिलको कार्यालय धादिङमा बुझाइसकेका छन् । तर, डीएसपी पञ्जियारले प्रारम्भिक राय बुझाएको विषयमा आफूलाई कुनै जानकारी नभएको भन्दै उम्किन खोजेका छन् । ‘म बाहिर छु, त्यो विषयमा के भएको छ भन्ने कुरामा मलाइ कुनै जानकारी छैन, अनुसन्धान चलिरहेको छ, यो विषय हाम्रो आन्तरिक विषय भएकोले यस विषयमा थप केही बोल्न मिल्दैन,’ पञ्जियारले भने ।  उता जिल्ला सरकारी वकिलको कार्यालय धादिङले प्रहरीबाट आएको प्रारम्भिक रायको आधारमा आधा घन्टाभित्रै अभियोग पत्र तयार गरेर जिल्ला प्रशासन कार्यालय धादिङमा पेश गरेको र धादिङका कामु प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले हातहतियारसहित पक्राउ परेका अभियुक्तहरु युल तामाङ र जयकुमार तामाङलाई धरौटीमा छोडेका छन् । हतियारसहित पक्राउ परेका आरोपीहरुलाई फास्ट ट्रयाकमा सुनुवाइ गरेर थुनामा पठाउनुपर्ने आरोपीहरुलाई धरौटीमा छोडिएको विषयमा प्रतिक्रिया लिँदा कामु प्रमुख जिल्ला अधिकारी ढकालले आफूले गरेको आदेश सही भएको दाबी गर्दै कोहीकसैलाई चित्ता नबुझेमा अदालत जाने बाटो खुल्ला रहेको भन्दै गैरजिम्मेवारपूर्ण जवाफ दिएका छन् । विश्वस्त स्रोतका अनुसार कामु सिडियो ढकालले गृहसचिव लोकदर्शन रेग्मीको निर्देशनबमोजिम उनीहरुलाई धरौटीमा छाड्ने निर्णय गरेको खुल्न आएको छ ।