धादिङको मत गणना जारी -एमाले चार ,कांग्रेस,माओवादी र राप्रपाका एक/एक स्थानमा प्रमुखमा विजयी-७३ वटा वडा मध्ये एमाले ४०, कांग्रेस १७, माओवादी केन्द्र १४ र राप्रपा २ स्थानमा विजयी

1037 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Election-Update-feature-image-1_img-1-1

 

धादिङको २ नगरपालिका र ११ गाउँ पालिकाको लागि जनप्रतिनिधि चयन गर्न बैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मत गणना कार्य अहिले पनि जारी छ । जेठ ३ गते बेलुकी ७.३० वजे सम्मको मत परिणाम अनुसार धादिङको धुनीबेसी नगरपालिका, सिद्धलेक, थाक्रे, नेत्रावती, खनियाबास र रुवीभ्याली गाउँपालिकाको अन्तिम मत परिणाम वाहिर आएको छ ।
धुनिबेसी नगरपालिका, सिद्धलेक, थाक्रे र नेत्रावती गाउँ पालिकामा नेकपा एमालेका उम्मेदवारहरु भारी बहुमत सहित विजयी भएका छन् । खनियाबास गाउँपालिकामा नेपाली कांग्रेस र रुवीभ्याली गाउँपालिकामा राप्रपाका उम्मेदवार विजयी भएका छन् ।
धुनिबेसी नगरपालिकामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण आचार्यले ६ हजार ८ सय ४८ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धि माओवादी केन्द्रका दीपक लामिछानले २ हजार ३ सय ३९ मत ल्याई पराजित भएका छन् । उपाध्यक्षमा नेकपा एमालेका निरु खरेलले ६ हजार ७ सय ७८ मत ल्याई विजयी भइन् भने उनका प्रतिद्धन्द्धि माओवादी केन्द्रका सावित्री आचार्यले २ हजार ३ सय ४० मत प्राप्त गरेकी छन् । धुनीबेसी नगरपालिकामा रहेको ९ वडा मध्ये एमाले ६, माओवादी केन्द्र २ र नेपाली काँग्रेस १ वडामा विजयी भएका छन् । धुनिवेसी नगरपालिकामा साविकको छत्रेदेउराली,जिवनपुर र नौविसे गाविस समेटिएका छन ।
सदरमुकाम धादिङबेसी संगै रहेकोे सिद्धलेक गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका प्रेमनाथ सिलवाल विजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका बद्री अर्याललाई पछि पार्दै सिलवाल प्रमुखमा निर्वाचित भएका हुन् । सिलवालले ५ हजार ६ सय ७ मत ल्याएका छन् भने ३ हजार ६ सय ८२ मत ल्याई अर्याल पराजित भएका छन् । उपाध्यक्षमा नेकपा एमालेका कमला शर्माले ५ हजार ५ सय ४४ मत ल्याई विजयी भएकी छन् । उनका प्रतिद्धन्द्धि नेपाली काँग्रेसका लक्ष्मी सिलवालले ३ हजार ८ सय ६५ मत प्राप्त गरेकी छन् । सिद्धलेकको ७ वडा मध्ये ५ नं. वडा बाहेक सबै वडामा एमालेको प्यानल नै विजयी भएका छन् । सिद्धलेक गाउँपालिकाको वडा नं ५ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार भएका छन् ।
यसै गरी थाक्रे गाउँपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा नेकपा एमाले विजयी भएको छ । प्रमुखमा ८ हजार २ सय ३४ मत सहित एमालेका उम्मेदवार रामकुमार आचार्य विजयी भएका छन् । आचार्यका प्रतिद्धन्दी माओवादी केन्द्रका यन्त्र बहादुर थापाले ६ हजार ६ सय ९० मत प्राप्त गरे । थाक्रे गाउँपालिकाको उपप्रमुखमा एमालेकी अम्बिका रुपाखेती ८ हजार ३ सय २२ मत सहित विजयी भएकी छन् । प्रतिद्धन्दी कांग्रेसका रामकुमार लामाले ५ हजार ४ सय ८८ मत पाएका छन् । थाक्रेमा कांग्रेस र माओवादीबीच तालमेल भएको थियो । यस गाउँपालिकामा एमालेले ७ वटा, माओवादी केन्द्रले २ वटा र कांग्रेसले १ वटा वडामा विजयी हात पारेको छ ।
त्यस्तै खनियाबास गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका रणबहादुर तामाङ १ हजार ६ सय ४६ मत सहित विजयी भएका छन् । निकटतम प्रतिद्धन्दी नेकपा एमालेका प्रदिप फ्युवाले ९ सय ७१ मत प्राप्त गरे ।
खनियाबासको उपाध्यक्षमा नेपाली काँग्रेसकै योमाया तामाङ विजयी भएकी छन् । १ हजार ६ सय ६५ मत ल्याएर योमाया विजयी भएकी हुन् । प्रतिद्धन्दी एमालेकी सुस्मा तामाङले ९ सय १७ मत प्राप्त गरिन् । ६ वटा बडा रहेको खनियाबासमा ४ नं. वडा एमालेले जितेको छ भने अरुमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने नेत्रावती गाउँपालिका प्रमुखमा नेकपा एमालेका दुर्गा कुमार शाक्य(नारायण) विजयी भएका छन् । नेपाली कांग्रेसका टेकजंग लामालाई ७४ मतले पछि पार्दै शाक्य विजयी भएका हुन् । शाक्यले १ हजार ६ सय ४७ मत प्राप्त गरेका छन् भने लामाले १ हजार ५ सय ७३ मत पाए । त्यस्तै गाउँपालिका उपाध्यक्षमा १ हजार ५ सय ४२ मत ल्याई नेकपा माओवादी केन्द्रकी उर्मिला तामाङ विजयी भएका छन् । उनकी प्रतिद्धन्दी नेकपा एमालेका मिना तामाङले १ हजार ४ सय ९५ मत पाएकी छन् । नेत्रावती गाउँपालिकाको वडा नं. १, २ र ३ मा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् भने वडा नं. ४ र ५ मा एमालेका उम्मेदवार विजयी भएका छन् ।
उत्तरी धादिङको दुर्गममा पर्ने रुवीभ्याली गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा राप्रपाका उम्मेदवार विजयी भएका छन् । राप्रपाका उम्मेदवार चेरुङ तामाङले १ हजार ४ सय ८४ मत र उपाध्यक्ष मिना लामा १ हजार ४ सय ९ मत ल्याउदै गाउँ प्रमुख र उपप्रमुखमा विजयी भएका हुन् । अध्यक्षका प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका रामसिं तामाङले ९ सय ५३ मत र उपाध्यक्षका प्रतिद्धन्दी माओवादी केन्द्रकी अमृता तामाङले ९ सय ७२ मत प्राप्त गरेकी छन् ।
रुवीभ्याली गाउँपालिका बडा नं १ र २ मा एमाले, ३, ४ र ६ मा राप्रपाका उम्मेदवार अध्यक्षमा विजयी भएका छन् । वडा नं ५ मा भने प्रमुखका निकटमत प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । सडक सन्जालले नछाएको यो गाउँपालिका भौगोलिक रुपमा पनि विकट मानिन्छ ।
वडा तर्फ साँझ ८ वजे सम्ममा ७३ वटा वडाको नतिजा सार्वजनिक भएको छ । मत परिणाम सार्वजनिक भएका वडाहरुमा नेकपा एमाले ४०, नेपाली काँग्रेस १७, माओवादी केन्द्र १४ र राप्रपा २ वटा वडामा विजयी भएका छन । अधिकांश वडामा पार्टीका उम्मेदवारहरु प्यानलनै विजयी भएका छन ।