मतदाता नामावली संकलन भदौ ३ सम्म

745 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

88_13काठमाडौं । निर्वाचन आयोगले मंसिर पहिलो साता प्रतिनिधिसभा निर्वाचन गर्नेगरी मिति तोक्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएको छ।
प्रमुख निर्वाचन आयुक्तसहित पदाधिकारीको टोलीले मंगलबार दिउँसो प्रधानमन्त्री देउवालाई भेटी भदौ १ गते निर्वाचन मिति घोषणा गर्न आग्रह गरेका हुन् । भेटमा आयोग पदाधिकारीले निर्वाचनका लागि आवश्यक कानुन र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन छिट्टै आयोगलाई प्राप्त हुनुपर्नेमा जोड दिएका थिए ।
प्रधानमन्त्रीले बुधबार मुख्य तीन दलका शीर्ष नेतासँग छलफल र सहमति गरेर अघि बढ्ने आश्वासन आयोग पदाधिकारीलाई दिएका छन् ।
यसैबीच आयोगले फोटोसहित मतदाता नामावली संकलनका लागि तीन दिन म्याद थपेको छ । आयोगको बैठकले नामावली दर्ताका लागि भदौ ३ गतेसम्म म्याद बढाउने निर्णय गरेको हो । यसअघि साउन मसान्तसम्म नामावली दर्ता गराउने समय तोकिएको थियो ।
‘मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या कतिपय जिल्लामा बाँकी रहेको जानकारी प्राप्त भएकाले २०७४ साल भदौ ३ गतेसम्म सबै क्षेत्रीय/जिल्ला निर्वाचन कार्यालय एवं ६६९ स्थानीय तहमा मतदाता नामावली दर्ता/संकलन कार्यक्रम सञ्चालन हुनेगरी तीन दिन समय बढाउने निर्णय भएको छ,’ आयोगको विज्ञप्तिमा उल्लेख  छ ।