आज संसारभर विशेष महत्वसाथ क्रिसमस मनाइँदै

762 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ, – क्रिश्चियन धर्मका संस्थापक येसु ख्रिस्टको जन्मजयन्तीका अवसरमा सोमबार आज नेपाल लगायत संसारभर   क्रिसमस मनाइँदैछ । धादिङ जिल्लामा पनि सदरमुकाम धादिङबेसीका साथै जिल्लाकै १३ वटै स्थानीय तहका विभिन्न गाउँवस्तिमा रहेको चर्च, (मण्डली)हरुमा बिशेष कार्यक्रम गरि क्रिसमस मनाईदैछ ।
christmasयस अवसरमा येसुको शिक्षा एवम् उपदेशको मनन तथा चर्चा गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना आदानप्रदान गर्ने, उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ । येशू ख्रीष्टको शुभ जन्मदिनको खुसियालीमा हरेक वर्ष डिसेम्बर २५ का दिन संसारभर विशेष महत्वसाथ यो पर्व मनाइन्छ । नेपालमा हाल करिब २० देखि ३० लाख नेपाली इसाई धर्मावलम्बी रहेको र करिब २ हजार ५ सय चर्च रहेको अनुमान गरिएको छ ।सूर्यका भक्त रहेका रोमका तत्कालीन बादशाह कन्स्टेन्टाइनले सन् ३५० देखि यो महोत्सव मनाउन सुरु गरेका हुन।
विसं २०६२/६३ को ऐतिहासिक परिवर्तनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता घोषणा गर्नुका साथै राज्यले क्रिसमस पर्वलाई येसु ख्रिष्टको शुभ जन्मदिवसका रूपमा मान्यता दिएको छ । सरकारले पुस १० लाई राष्ट्रिय पर्वको मान्यता  प्रदान गर्दै सार्वजनिक बिदा घोषणा गरेको छ ।
नेपालको क्रिस्चियन इतिहास चार सय वर्षभन्दा पुरानो छ । राज्य धर्मनिरपेक्ष हुनुअघि देशभर छरिएर रहेका क्रिस्चियन समुदायले क्रिसमस पर्वलाई विशेषगरी विभिन्न मण्डली (चर्च) र क्रिस्चियन सङ्घसंस्थाभित्र नै मनाउँदै आएका थिए । हाल देशभर १२ हजारभन्दा बढी चर्च र ३० लाखभन्दा बढी क्रिस्चियन समुदाय रहेको क्रिस्चियन महासङ्घले जनाएको छ ।
क्रिसमसका अवसरमा देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येसु ख्रिस्टको सम्झना गरिँदैछ । यसैबीच मुलुकको आर्थिक समृद्धिका लागि धार्मिक विविधताको सम्मान र सद्भाव आवश्यक रहेकामा जोड दिइएको छ ।  क्रिसमस–२०७४ का अवसरमा आइतबार आयोजित शुभकामना कार्यक्रममा वक्ताले तीनै तहका निर्वाचन सम्पन्न भएसँगै मुलुकको समृद्धिका लागि विविध जातजाति, धर्म, संस्कृति, भाषाभाषी र वर्णको योगदान अपरिहार्य रहेको बताए । राष्ट्रिय क्रिस्चियन महासङ्घ, नेपालका अध्यक्ष सीबी गहतराजले सरकारले क्रिसमस पर्वका अवसरमा घोषणा गरेको सार्वजनिक बिदाको स्वागत गर्दै संविधानले सबै धर्मप्रति समान व्यवहार गरेको बताउनुभयो ।