नीलकण्ठ नगरपालिकाको मोवाइल एप्स सार्वजनिक

1298 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ नगरपालिकाले मोवाइल एप्स सार्वजनिक गरेको छ ।
नीलकण्ठ नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाह, सेवा लिनको लागि पुरा गर्नुपर्ने प्रक्रिया, जिम्मेवार ब्यक्ति लगायतका बिषयमा सेवाग्राहीहरुले आवश्यक जानकारीहरु घरबाटै लिन सक्ने गरि नगरपालिकाले मोवाइल एप्स तयार पारेर सार्वजनिक गरेको हो । नीलकण्ठ नगरपालिकाले आफूले प्रदान गर्ने सम्पूर्ण सेवा समेटिएको मेरो नीलकण्ठ मेरो मोबाइल नामक एप्लिकेशन सार्वजनिक गरेको हो ।
मोबाइल एप्लिकेशन सार्वजनिक सँगै सबै वडाका जनताले नगरपालिकाले प्रदान गर्ने सेवा, नगरपालिकाबाट विनियोजित रकम र तर्जुमा गरिएका कार्यक्रमको कार्यान्वयन अवस्थालाई जुनसुकै स्थानबाट पनि सजिलै संग जानकारी हासिल गर्न सक्ने नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुँगानाले बताए । ‘कुनैपनि योजनाको कार्यन्वयनको अवस्था के कस्तो छ भनेर मोवाइलबाटै बुझ्न सकिन्छ भने उक्त योजनाहरु संग सम्वन्धीत गुनासा पनि एप्लिकेशन मार्फत नै गर्न सकिन्छ ।’ नगर प्रमुख ढुंगाना बताउँछन ।
एप्समा नगरपालिकाको सबै वडाको विभाजित नक्सा, त्यहाँको प्राकृतिक, भौगोलिक, साँस्कृतिक तथा सामाजिक अवस्थाका बारे जानकारी समेत दिइएको छ । एप्समा उपलब्ध गराइएको नक्साबाटै नगरपालिकाले कुन स्थानमा कस्तो काम गरिरहेको छ, कति बजेट छुट्याइएको छ भन्ने विषयमा जानकारी लिन सकिन्छ । नगरपालिकाको आम्दानी र खर्च विवरण, नगरप्रोफाइल, सबै मोबाइल एप्समा सजिलै हेर्न सकिने छ । एप्समा दैनिक अपडेट गरिने व्यवस्था समेत मिलाइएको प्रमुख ढुङगानाले जानकारी दिए।
मोवाइल एप्स मार्फत नै सेवा प्रदान गर्नको लागि प्राप्त निवेदनहरुको विषयमा कामकारवाही अघि बढाउन वडा अध्यक्ष र सचिवहरुको लागि तालिम दिएपश्चात मोवाइलबाटै सेवा लिन सकिने पनि नगरपालिकाले जनाएको छ ।
जन्म दर्ता, मृत्यु दर्ता, घटना विवरण, नगरपालिकाका योजनागत कार्यक्रम, नगरपालिकाका प्रगति विवरण, नगरक्षेत्रका सबै वडा कार्यालय, सरकारी गैरसरकारी निकायका गतिविधि समेटर एप्स बनाइएकाले जनता र नगरपालिका दुबैका लागि यो अत्यन्त प्रभावकारी हुनेमा विश्वस्त रहेको प्रमुख ढुङगानाले बताए ।