नौबिसे-मुग्लिन सडक खण्ड चार लेनको बनाईने , २८ किलोमिटर त्रिशूलीपारिबाटै

5559 पटक पढिएको

सम्पादक: धादिङ न्यूज


काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डको विस्तार सकिएपछि सरकारले अब नौबिसे-मुग्लिन खण्ड चार लेनको बनाउन गृहकार्य थालेको छ । यसका लागि विस्तृत डिजाइन तयार भइसकेको छ ।

पृथ्वी राजमार्गमा सवारीको चाप बढ्दै गएपछि व्यवस्थापनका लागि नौबिसेसम्मको खण्ड पनि विस्तारको योजना बनेको हो । अब सम्भव भएका ठाउँमा अहिलेका रुटहरुमै सडकलाई चार लेनको बनाइनेछ । भित्ता काट्न नमिल्ने ठाउँहरुमा भने त्रिशुलीपारि दुई लेनका सडक बन्नेछन् अनलाइन खबर डट कमले समाचार लेखेको छ ।

यो खण्ड विस्तारका लागि विश्व बैंकसँग आर्थिक सहयोगको लागि प्रस्ताव गरिएको सडक विभागका वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । सुरुमा यो सडक चीन सरकारको सहयोगमा बनेको थियो ।

अब विश्व बैंकसँग ऋण सम्झौता भएपछि यो खण्ण्डको विस्तार पनि सुरु हुनेछ । श्रेष्ठकाअनुसार अहिलेको सडक आवागमन नबिथोलिने गरी पहिला त्रिशुरीपारि २८ किलोमिटर खण्डमा ट्रयाक खोलिनेछ । यो २८ किलोमिटर खण्डमा सवारी आवागमनलाई सुचारु राखेर वारिपटि्टी निर्माणको काम गरिनेछ । अप्ठेरा खण्डमा नदी वारि र पारि डेडिकेटेड २/२ लेन युक्त सडकहरु बन्नेछन् ।

‘चार लेनमा सडक विस्तार गर्न नसकिने खण्डहरुमा पारिपटि्टी दुई लेनको सडक बनाउँछौं । वारि विस्तार थाल्नुअघि नै यो पारिपटि्टीका खण्डमा गाडी चल्न सक्ने बनाउँछौं,’ श्रेष्ठले भने,’यसअनुसार उकालो-क्षेत्रमा ९ मिटर र समथर क्षत्रेमा ११ मिटरको सडक बन्छ ।’

राजधानी आउन यो सडकमार्ग मुख्य मानिन्छ । नौबिसेबाट नागढंगासम्म सुरुङमार्ग बनाउने काम पनि अघि बढ्न लागेको छ । त्यसकारण नौबिसे-मुग्लिन खण्ड विस्तार भएपछि काठमाडौंसम्मको यात्रा निकै सरल हुने विश्वास सडक विभागको छ ।

झण्डै एक सय किलोमिटरको यो खण्ड विस्तार गर्दा पहिरो जाने गरी भित्ता काट्नेभन्दा नदीतर्फको भागबाट बलियो पर्खाल लगाउनेमा जोड दिने योजना छ । विस्तार गर्न नमिल्ने स्थानहरुमा भने नदीपारि दुई लेनको सडक बनाइनेछ ।

विशालटारदेखि फिस्लिङसम्मको दुई लेन सडक त्रिशूलीपारिबाट बनाउने लगभग तय भएको छ । कृष्णभीरको पहिलो पनि त्रिशुलीपारीबाटै सडक बनाएर छलिनेछ । यो सडक विस्तारका लागि करिब ३० अर्ब बढी लाग्ने अनुमान छ ।

यसरी सडक निर्माण गरिएमा विस्तारका क्रममा सवारी आवागमनलाई खासै प्रभाव नपर्ने अधिकारीहरुको दावी छ । करिब ३ स्थानमा त्रिशुली नदी पार गरेर नयाँ ट्रयाकबाट गाडी चल्नेछन् ।

चितवन र पोखराबाट आउने गाडीले नदीपारिको सडकमार्ग प्रयोग गर्ने छन् भने काठमाडौंबाट छुटेकाले अहिलेकै सडकको प्रयोग गर्ने व्यवस्था गरिनेछ ।

यसले लोड बोकेका सवारीलाई काठमाडौंसम्म आउन लाग्ने समयावधि पनि घटाउने छ । सँगै त्रिशुली नदीका कारण राजमार्ग छेउमै विकट बनेका धादिङ र गोरखाका क्षेत्रहरुको पनि विकासमा महत्वपूर्ण सहयोग पुग्ने छ ।